विप्लव भूमिगत भएका छैनन, तर उनका सबै सांगठनिक क्रियाकलाप भूमिगत खालका छन्। उनी यो सरकार मान्दैनन्, जनसरकार गठन गर्दै हिडेका छन् र भन्छन्– हामीले चाह्यौं भने हप्तादिनमा सत्ता कव्जा गर्नसक्छौं। नेत्रविक्रम चन्द विप्लवको दावी के पनि छ भने हाम्रो जनक्रान्ति लुकिछिपी हुनेवाला छैन। जे गर्छौं हाकाहाकी गर्छौं।
हप्तादिनमा सत्ता कब्जा गर्ने विप्लवसँग के त्यस्तो चमत्कारिक शक्ति छ? हुन त उत्तर कोरियाजस्तो सानो मुलुकका नेता किम जोङ उनले विश्वशक्तिलाई थरहरि पारिरहेका बेलामा विप्लवले भ्रष्टाचारमा चुर्लुम्मै डुबेका संसदीय राजनीति गरिरहेकाहरुको सातो खानु ठूलो कुरा होइन। शायद, त्यसैले विप्लव भनिरहेका छन्– संसदमा कुकुरको मासु बिकिरहेको छ। हो, कम्युनिष्टहरु संसदीय प्रणालीलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भन्ने गर्छन्। तर, एमाओवादी, एमाले, माले, राष्ट्रिय जनमोर्चाहरुले संसदीय प्रणालीलाई राजनीतिक राजमार्ग बनाइसकेका छन्। जनवाद काखी च्यापेर लोकतान्त्रिक भनिरहेका छन् आफूलाई। के चाहिं लोकतन्त्रजस्तो हो, त्यो चाहिं भन्न सकिरहेका छैनन्। र, १८ कम्युनिष्टमध्ये दर्जनभन्दा बढी कम्युनिष्टहरु भ्रष्टाचारको पोखरीमा डुबेर आएकाजस्ता कालाम्मे देखिन्छन्।
विश्वले भनिरहेको छ– नेपाली जनता गरिब, साह्रै गरिब भइरहेका छन् तर नेपालका राजनीतिक पार्टीहरुमध्ये कम्युनिष्ट पार्टी र नेताहरु साह्रै धनी हुँदै गएका छन्। हालैको एक अध्ययन र रिपोर्टले पनि सबैभन्दा धनी पार्टी एमाओवादी देखाएको छ।
विप्लव माओवादी एकीकृत जनक्रान्तिको कार्यदिशामा छ। उसको घोषित नीति यही हो र भ्रष्टाचारीहरुलाई खोजी खोजी भण्डाफोर गर्नतिर पनि लागेको छ। तर, विप्लव माओवादीले भोगटेको चस्मा लगाएछ कि कुन्नी, देशका नामी भ्रष्टाचारी नदेखेर काठमाडौं जिल्ला शिक्षाअधिकारीलाई कालोमोसो दलेर पहाडै फोरेको प्रचार गरिरहेको छ। बिप्लवले ठोस रुपमा भ्रष्टाचारविरुद्ध बोल्नै सकेका छैनन्। विप्लवसँग सहकार्य गरेका वर्षमान पुन मन्त्री भए, प्रचण्डलाई समेत गाइड गर्ने स्थितिमा छन्। विप्लवको नेतृत्वमा जनयुद्ध लडेका नेता नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति बनेका छन्। अरु धेरै नेताहरु मन्त्री अथवा कमाउ पदमा पुगिसके। विप्लव अहिले पनि जनक्रान्तिको आगो सल्काएर डढेलो बनाउने प्रयास गरिरहेका छन्। माओवादी इतिहास धानिरहेका छन् विप्लवले। माओवादी नेताहरु गणतन्त्र र संसदवादी भइसके। विप्लव जनक्रान्ति भनिरहेका छन्। उनको लाइन, सत्तासुख होइन, जनसुख कसरी हुन्छ भन्नेतिर देखिन्छ। तर, यो बाटो कठिन छ, यो बाटोबाट परिवर्तन खोज्ने हो भने लामो समय कुर्नुपर्ने सबैले बुझेका छन्। असम्भव पनि हुनसक्छ। किनकि यो राजनीतिको उल्टोधार जस्तो लाग्छ।
विप्लवको आज पनि एउटै मान्यता छ, माओवादीको गिदीमा विद्रोह भरिनुपर्छ भन्ने हो। विप्लव भन्छन्– जनताको म्याण्डेट यही हो। नबुझ्नेले बुझेनन्, स्वार्थ र सुख रोज्नेले रोजे तर जनक्रान्तिको आधार जनविद्रोह नै हो भन्ने मान्यता छ विप्लवको। यो मान्यता व्यवहारमा कहिले देखिएला? हुन पनि विप्लवले युवाहरुलाई लामवद्ध पारेका छन्। फौजी तालिम पनि दिएका छन्। बिप्लव भन्छन्– हामीसँग के छैन, लाखौं जनता छन्, क्याडर छन्, पूर्व लाडका छन्, हतियार पनि छन्। हामीले आँट्यौं भने सात दिनमा सत्ता कब्जा गर्नसक्छौं। हामी गरिब, मजदुर, किसान, दलित, जनजाति, महिलाहरू जोसुकै हुन्, सामाजका यी सीमान्तकृत वर्गको हित र भलाइका लागि हतियार उठाउन सक्छौं। भूकम्पपीडितको बिजोग छ, दिनहुँ हजारौं युवाजमात वैदेशिक रोजगारीका लागि दगुरिरहेका छन्। यसबारे कसैले चिन्ता र चासो लिएको छ? हिजोका दिनमा जनता जति पीडित थिए, आज पनि जनताको पीडा कम हुनसकेन। यसकारण हामीले संसद र संविधानको विरोध गरेका हौं। राज्यप्रणाली बेठिक भनेका हौं। यी संसदवादी दलहरूले जनताका महान सपनालाई किनवेच गरेको र आफूहरु साहुमहाजन जस्तो जगरधम्म परेर बसेका छन्। जाली फटाहाहरुको संसदमा उभिएर प्रचण्डले जे बोले पनि जे गरे पनि जनताको प्रतिनिधित्व गरेको ठहरिदैन। संसदीय राजनीति यति लज्जास्पद विषय हुँदा पनि प्रचण्डजीहरू लत्रिदै हिंडिरहनुभएको छ, उठेर डौडिन चाहनुभएन।
विप्लवको रणनीति गजबको छ। पार्टीहरु जनता र देशका पक्षमा काम गर्न असक्षम सावित भइरहेका बेलामा बिप्लव नीति अगाडि आएको छ– कसरी जनतालाई गोलबन्द गर्ने? यही विषयमा मतान्तर भएपछि पार्टी फुट्यो र यही विषयलाई चुरो मानेर विप्लव अगाडि बढिरहेका छन्। विप्लव माओवादी केन्द्रिकृत हुनुपर्छ भन्ने पक्षमा छन् भनेर बुझ्न सकिन्छ। विप्लव पार्टी फुटेको होइन, विचार अलग भएको मान्यता राख्छन् र प्रचण्डसँग एकीकरणका लागि वार्ता प्रक्रिया अगाडि बढाइरहेको धेरैले अनुमान गरेका पनि छन्। कार्यनीति र रणनीति मिल्ने हो भने भतभेद सकिन्छ, मनभेद पनि सकिन्छ, एकीकरण हुनसक्छ भन्छन्। तर, सत्ताधारी बनेका प्रचण्डसँग विप्लव किन निकटता राखिरहेका छन् भन्ने बुझ्न कठिन छ। कतै विप्लव जनक्रान्ति असम्भव देखेर प्रचण्डतिर आकर्षित भएका त होइनन्? यस्तो जिज्ञासा पनि उठ्ने गरेको छ। विप्लवको एउटै प्रश्न छ– कम्युनिष्ट ध्रुविकरण हुनसकिन्छ तर कम्युनिष्टभित्रका दलाली दिमागलाई त्याग गर्नसक्नुपर्छ। म जनताको साथ नछाडौं, जनतासँगै सहकार्य गरौं र लडौं भन्ने सवालमा धेरै महत्वाकांक्षी विचार राख्छु। विप्लवको मुख्य आरोप प्रचण्डलगायतका नेताहरुसँग छ। विप्लवले भनेका छन्– पुस्तौंदेखि शासकहरुले होनहार युवाजमातलाई स्वदेशमै बस्ने, गरिखाने वातावरण बनाउन चाहेनन्। त्यसैले नेपाल आज विदेशीका लागि कामदार उत्पादन गर्ने कारखानाजस्तो बनेको छ।
नेपोलियनले भनेका थिए– तिमी असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु। हाम्रा नेताहरु आमा त बने तर असल आमा बन्न सकेनन्।


