शाही युवाशक्ति नेपालले गणतन्त्रप्रति असहमति जनाउँदै महिनौंदेखि साना ठूला विरोधका कार्यक्रम गरिरहेको छ। राजधानीमा मोटर साइकल र्याली, जुलुस पनि निकालियो भने वीरगञ्जबाट टाटा सुमो गाडी जुलस पनि गरियो। राजतन्त्र पुनर्वहाली हुनैपर्छ भन्दै यो युवाशक्तिले ३० गते नेपाल बन्दको आह्वान गरेको छ।
५ महिना लामो तराई बन्द र नाकावन्दीले मधेसीको माग संवोधन हुनसकेन। जाति र मधेस संबैधानिक विवाद नै होइन भनिरहेछन् देशका प्रधानमन्त्री केपी ओली। गैंडाको छालाजस्तो बनिसकेको राजनीतिक ठूला पार्टीले यो युवाशक्तिले माग गर्दैमा अथवा नेपाल बन्द गर्दैमा राजतन्त्र पुनर्स्थापना भइहाल्छ भन्नु सपना हो। जेठ १५ गते गणतन्त्र दिवस असफल पार्दै खुलामञ्चमा बृहद राजतन्त्र माग गर्ने सभा आयोजना गर्ने भनिएको छ।
विदेशीको डलर खाएर धर्मनिरपेक्षता घोषणा गरिएको आरोप लगाइएको छ। यस्तो आरोप सशांक र शेखर कोइरालाले पनि लगाएका छन्। आरोपल व्यवस्था परिवर्तन हुनसक्दैन, जनबल र जनप्रदर्शन प्रभावकारी हुन्छ। जवसम्म जनता आफै सडकमा निस्किएर हस्तक्षेप गर्दैनन्, तवसम्म व्यवस्था त के व्यक्तिसमेत फेरिन सक्ने वातावरण बन्दैन। अहिलेसम्म यी निम्छरा राजावादी प्रदर्शनलाई गणतन्त्रवादीहरुले कुनै महत्व नै दिएका छैनन्। यद्यपि यो शाही युवाशक्तिले परिआए हतियार उठाउनेसम्मको चुनौति दिएका छन्। सरकारविरुद्ध कडा खालको सडक आन्दोलन गर्न नसक्नेहरुले फलामे हतियार कसरी उठाउन सक्लान र?
सबैलाई थाहा छ, राजनीतिक सिण्डिकेटले राजतन्त्रलाई किनारा लगाएको हो। हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो र संघीयताका नाममा देशलाई चिरा चिरा पार्ने षडयन्त्र गरिएको हो। ९५ प्रतिशत ऊँकार परिवार बसोबास गर्ने मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दासमेत सडकमा ननिस्कने हिन्दूहरु छन् यहाँ। मन्दिरमा जानोस्, हिन्दूहरुको भीड लाग्छ। अस्ति भर्खर बिस्केट जात्रा भयो, भक्तपुरै हिन्दूमय बनेको देखियो। तर राजनीतिक बर्गले धर्मनिरपेक्ष घोषणा गर्दा कुनै हिन्दू सडकमा निस्किएनन्। खुमबहादुर खड्काजस्ता हिन्दूअभियन्ता त थाकेर चुपचाप बसेका छन्। राप्रपा नेपाल जसले गााईका नाममा चौथो ठूलो दल बन्ने अवसर पायो, उसले त हिन्दूराष्ट्र दुई तिहाई मत ल्याएरमात्र फेर्न सकिने तर्क अगाडि सारिरहेको छ। यी ठेट्नाहरको धमाका भनेको हवाई फायरमात्र हो। हवाई फायर भनेको चरा तर्साउने तरिकामात्र हो, व्यवस्था परिवर्तन गर्ने शक्ति र सामर्थ राख्दैन।
हो, स्वयं पूर्वराजा सडकमा निस्किए भने यो व्यवस्था र राष्ट्रिय संकटहरु दूर हुनसक्छन्। सुधार हुनसक्छ, जनताप्रति जिम्मेवार राजनीतिको प्रादुर्भाव पनि हुनेछ। पूर्वराजा पनि सन्देशमात्र दिएर बस्ने हो भने केही युवाको भावनात्मक लहर न आँधी बन्छ, न हुरी बतास। एउटा विश्वासिलो नेता अघि सर्नुपर्छ, जनता उर्लिन्छन्। त्यस्तो नेता राजनीतिमा छैन, निर्मल निवासबाट निस्कन्छ कि?


