
स्वराज, स्वतन्त्र र सार्वभौम राष्ट्र कसरी कमजोर बन्दै जानेरहेछ, मैनबत्ती पग्लेजसरी सिद्धिदै जानेरहेछ । यसको ताजा उदाहरण नेपाल हो ।
विश्वकै पुरानो र जेठो मध्येको राष्ट्र, कहिले कसैको अधीनमा नपरेको राष्ट्र, वीरताको गौरवगाथा भएको राष्ट्र, आज चरित्रहीनहरूका कारण गएगुज्रेको हालतमा पुगेको छ ।
चारा हाल्नेहरू, हालिरहेछन् । लालच फाल्नेहरू फालिरहेका छन् । लोभी स्वार्थी नेताहरू लालचको जालमा फसिरहेका छन् । देशको सुरक्षा र नागरिकको अस्तित्वको कसलाई चिन्ता छ र ? यसकारण त राष्ट्र सकसमा छ, जनतामा सकस बढ्दै गइरहेछ ।
राष्ट्र सङ्कटमा छ, राष्ट्रिय सङ्कटमा राष्ट्रिय पार्टीहरू बहसमा जुट्नुपर्ने हो, निकास कसरी निकाल्ने र राष्ट्रिय अस्तित्व कसरी बचाउने भनेर एकतावद्ध भएर लाग्नुपर्ने हो । त्यस्तो सम्भावना देखिदैन । हरेक पार्टी सत्ता र शक्तिको खोजमा छन् । हरेक नेता मन्त्री र सांसद भएर आ–आफ्नो शक्ति बचाउ चिन्तामा मात्र छन् ।
सहकार्य र सहमतिको गुहारको कसैमा चिन्ता र चासो छैन ।
रूस र युक्रेनको युद्ध जारी छ । अमेरिकाले युद्ध रोक्न युक्रेनको विरूद्ध र रूसको पक्षमा राष्ट्रसंघमा मतदान गर्दा विश्व आश्चर्यमा परेको छ । यतिमात्र होइन, अमेरिकाले युक्रेनका राष्ट्रपतिलाई अमेरिका नै निम्त्याएर जुन प्रकारले डिल गर्न खोज्यो, त्यो दृश्य विश्वका लागि नवौं आश्चर्य हो । यस घटनामा फेरि एकपल्ट प्रष्ट भयो– कूटनीति र राजनीतिमा गरेको सहयोग सित्तैमा, निस्वार्थ हुन्न । ढिलाचाँडो प्राप्त सहयोगको मूल्य चुकाउनै पर्छ ।
यसअघि रूसले क्रिमियामा हमला गरेपछि र राष्ट्रसंघमा भिटो लगाएपछि नेपालजस्ता साना मुलुक आतङ्कित हुनु स्वभाविक हो । रूसको शैलीमा भारतले नेपालमा आक्रमण ग¥यो भने नेपालको हबिगत के होला ? यसको सङ्केत नाकाबन्दीको समयमा र नेपालका लिपुलेक, कालापानी क्षेत्रलाई भारतले जबरजस्ती भारतीय नक्सामा हालेकोमा विश्वजगतले न्यायको पक्षमा, बिस्तारवादको बिपक्षमा नबोलेर नेपाललाई तर्साइसकेका छन् । चीनले कैलाश मानसरोवर धार्मिक यात्राका लागि भारतसँग नेपालकै लिपुलेकबाट राजमार्ग खोल्न र व्यापारसमेत गर्न गरेको सम्झौता नेपालका लागि कहालीलाग्दो परिदृश्य हो । तथापि सहज देखिन्छ ।
अर्को आश्चर्य, नेपालका नीतिकार, सत्ताधारी, राजनीतिकर्मी सबैले अस्तित्वहीन बनेर जिब्रो तालुमा टाँसेर बसेका छन् । अचम्म लाग्छ ।
आफूलाई लोकतन्त्रवादी, स्वाधीनतावादी बताउने नेपालका पार्टी, नेता, बुद्धिजीवी, नागरिक समाज केही अत्तोपत्तो नभएजसरी बसेका छन् । मानौं यिनको विवेक मरेको छ, भारतको हेपाह प्रवृत्तिबाट नेपाली संचेतना मरेको छ । चीन र भारतले नेपालका विषयमा भाग शान्ति जय नेपाल गर्ने खतरा बढेर गएको छ । भूराजनीति, अमेरिकी नीति र अन्य कारणले नेपाल रणनीतिक मैदान बनेको छ । सन्तुलनमा राख्नसक्ने ल्याकत र अक्किल नहुँदा नेपाल डरलाग्दो भूमरीमा फस्दैफस्दै जाँदो छ ।
विवेकहीनहरू चूपचाप छन् । विज्ञ विशेषज्ञहरू बोल्दैनन् । राजनीति अपराधिकरण र स्वार्थी बनेको छ । यो देख्दा लाग्छ, यी पञ्चमाङ्गीलाई भुटान वा सिक्किम नै बने पनि खासै फरक पर्दैन । मात्र तिनलाई मीठो लाग्छ, दिल्लीको बासमती चामलको बासी भात । अन्य मुलुकले दिने दानदातव्य र अवसर ।
हो, सिरिया, यमनको युद्ध नेपालीले देखेका छन् । इजरायल प्यालेस्टाइनको बर्बादी पनि देखेका छन् । युक्रेनको हालत के हुने हो ? त्यो पनि अनुभव गरेका छन् । अफगानिस्तानमा निर्वाचित राष्ट्रपति भागेको र जनताको हरिबिजोग पनि देखेका छन् । यी सबै घटनाक्रम देखेकाहरू भन्छन्– नेपालमा केही नहुन्जेल केही पनि हुँदैन । भइहाल्यो भने केही पनि बाँकी रहन्न । उनीहरू बिदेशी धाप र काखमा न्यानो अनुभूति गर्नेहरू लेण्डुप दोर्जी हुन् । जसको राजनीतिक र सामाजिक भविष्य घृणाको पोखरीमा डुबेर मर्नु हो ।
युक्रेनका राष्ट्रपति भोलोदभीर जेलेन्स्की चिच्याइरहेका छन्, मलाई भाग्नलाई सवारी साधन चाहिएन, रूससँग लड्नका लागि हतियार चाहियो । नाटोका ३२ राष्ट्रसँग उनी मद्दत माँगिरहेका छन्, कसैले सहयोग दिएनन् । जसले साथ दिन्छु भनेको थियो, कसैले साथ दिएन, युक्रेन एक्लै युद्धमैदानमा लडिरहेको छ । अब अमेरिकाले सहयोग दिने तर हतियार नदिने कुरा गरिसक्यो । युद्धबिराम पहिलो शर्त भनिसक्यो । युक्रेन अप्ठेरोमा पर्दै गएको छ । नाटोमा संलग्न हुनपनि नसक्ने अवस्थामा छ । यस्तै गम्भीर माखेसाङ्लोमा परेको छ नेपाल ।
नेपाल पटक पटक सङ्कटमा फस्यो, अहिले पनि राष्ट्रिय सङ्कटमै छ, तर लड्ने एकता छैन, स्वाधीनता बचाउने नेतृत्व छैन । नेपाली नेताहरूमा अस्तित्वको चेत र स्वतन्त्रतासँग बाँच्ने साहस छैन । कायरले लड्न सक्दैनन्, हेर्ने हो । हेरिरहेका छन् । त्यसैले त नेपाली भूमिसमेत नेपालसँग रहेन । नेपाललाई किन असंलग्नता चाहिन्छ, युक्रेन र रूस, इजरायल र प्यालेस्टाइनको युद्धले सिकाएको हुनुपर्ने हो । हिमालयसम्म भारतीय सीमा हो भन्ने पटेल प्लान र तिब्बत नछुट्याएसम्म निन्द्रा नआउने पश्चिमाको रणनीति नेपाली लोकतन्त्रले कहिले बुझ्ने ? शक्तिराष्ट्र छिमेकी भएपछि र शक्तिराष्ट्रले भूराजनीतिमा रणनीति स्थापित गरेपछि साना राष्ट्रको सार्वभौमिकता भनेको तिनका लागि गोलभेडाको अचार हो ।
अणुवमले खरानी भएको जापान आज सम्पन्न भयो । यो सम्पन्नता जापानी जनताको स्वाभिमानले निर्माण भएको हो । रछ्यानमा फालिएको भातका सिता टिपेर ज्यान पाल्ने कोरिया भलै बिभाजित भयो तर दुबै कोरिया स्वाभिमानका कारण विकसित भएका छन् । कुनै दिनको मगन्ते दक्षिण कोरिया नेपालका एकलाख युवालाई रोजगार दिनसक्ने अवस्थामा पुगिसक्यो भने उत्तर कोरिया प्राकृतिक प्रकोपमा बर्षेनी पीडावोध गरेर खाद्यान्न संकटमा परे पनि विश्वशक्तिसँग पौठेजोरी खोजेर सार्वभौमिकता बचाइरहेको छ । स्वाभिमानले उठ्छ देश । राष्ट्रियताले जोगिन्छ राष्ट्र । नेपालमा त्यो प्रकारको जागरूकता खोई ?
वीरको देश नेपालको दयनीय हविगत देख्दा हामी नेपालीलाई नै पश्चाताप हुन्छ । हामी फुर्सदिलो बनेर पश्चाताप गर्न सक्ने तर हस्तक्षेप गरेर चुकेका अवस्थाहरूलाई सुधार्न नसक्ने छौं । नेपालीलाई थाहा छ, नीति, नैतिकता र सिद्धान्त बगार्ने र अवसरवादमा चुर्लुम्मै डुब्ने नेतृत्वका कारण नेपाल पछाडि परेको हो । विश्वले आज नेपाललाई भ्रष्ट मुलुक भनेर चिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले त आफूले दिएको सहयोग ठगी भनिसके, सहयोग रोकिसकेका छन् । नेता बिक्री हुने र पैसा फाले पछि नेतृत्वबाट, प्रशासकबाट जस्तोसुकै निर्णय गराउन सकिन्छ भन्ने तरिकाले विश्वले चिन्छ, बदनाम हुँदैछ नेपाल ।
नेपालको स्वराज, स्वाधीनता, सार्वभौमिकता यसकारण कमजोर देखिन्छ । आमनागरिकमा राष्ट्रवाद भरिपूर्ण छ, नेपाली जाति वीर जाति हो तर न राष्ट्रवाद फुल्न सक्यो, न वीरताले देश बन्नसक्यो । देशलाई यसरी बदनाम गराएका राजनीतिक नेतृत्वले हो । चेतनशीलहरूको मौनताले हो ।
नेताहरूले भूराजनीतिक महत्वलाई राजनीतिले बुझ्न सकेनन् । राजनीतिले बाटो बिराएपछि कूटनीति बिग्रने रहेछ । नेपाल यतिबेला पथभ्रष्ट भएको युवाको नियति भोगिरहेको छ । के छैन नेपालमा । प्राकृतिक साधनस्रोतमात्र होइन, सम्पदाले पनि भरिपूर्ण छ । संस्कृति र संस्कारले पनि सम्पन्न छ । तर आफ्नै नाभीमा अमरत्व बोकेर मगन्ते बनिरहेछ देश । यसको जिम्मेवार नेतृत्व हो, जसले नेपाली समाजलाई आ–आफ्ना गुटमा विभाजित गरेर राष्ट्रियतालाई अस्तित्वको सङ्कटमा धकेलिरहेका छन् । राष्ट्रिय एकता भताभुङ्ग पारिरहेका छन् ।
माओवादी जनयुद्धकालमा सल्लाहकार रहेछन्, भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी । यतिबेला यो खुलासा सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन दिन अतिवाद र प्रजातन्त्रलाई भरिया बनाएर दिल्लीले १२ बुँदे दिल्ली सम्झौता बोकाएर पठायो, त्यो दिनदेखि नेपालको उँधोयात्रा तय भएको हो । यसरी विश्लेषण गर्दा हाम्रो लोकतन्त्रलाई लाहुरे लोकतन्त्र भन्दा फरक पर्दैन । लोकतन्त्रमाथि तोरीलाहुरेहरू छपक्कै छाएपछि त लोकतन्त्र अन्धाका लागि हात्तीछापेजस्तो हुनु स्वभाविक हो । लाहुरेको शासन लाहुरेतन्त्र हुन्छ, लाहुरेतन्त्रमा लाहुरको हैकम, हस्तक्षेप, जबरजस्ती देखिनु अस्वभाविक होइन । नेतृत्व त विदेशी हैकमको गुलाम रहेछन्, गुलामहरू स्वतन्त्र हुँदैनन् । गुलामको अस्तित्व हुँदैन ।
वर्तमान नेपाली राजनीति र कूटनीति विदेशीको जालोमा परेर छटपटाएको अवस्थामा छ । यो दुःखद पक्ष हो ।
नागाबाबा र शासक प्रशासक उस्तै लाग्छन् । लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? आम नागरिक सडकमा ज्यान फाल्न तैयार छन्, सत्तामा बस्नेहरू आफ्नै कार्यकर्तामाथि सत्ताको दमनचक्र चलाइरहेका छन् । अनेक जिब्रा र अनुहार भएका नेता देखिनु इन्द्रजाल खेल्ने खेलाउने चटकेजस्ता लाग्छन् । चटकेका लागि चटकको भ्रममा पारेर दर्शकलाई मोहित पार्नु र लाभ लिनुको उद्देश्य रहन्छ । नेपाली नेतृत्व जनता जनता भिडाएर, उफारेर लाभ लिइरहेका छन् । कठै वीरका देशको कन्तबिजोग छ ।
सम्पत्तिमा रमाउने, सत्ता र शक्तिमा खेल्ने र जङ्गली आवरणलाई सुकिलो लुगा र हँसिलो अनुहारमा रूपान्तरण गरेपछि यिनीहरू सिंहदरवारको बेलायती बैठकमा रङ्मङ्गिरहेका छन् । त्यो चमकदमकबाट बाहिर निस्केर गरिखाने बर्गलाई हेर्ने फुर्सद यिनमा कहिले देखिएन । सिंगापुर र सम्पन्नता, समानताको नारा लगाएर नथाक्ने यिनलाई थाहा छ ः स्वीट्जरलैण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिंगापुरको २५ हजार । नेपालीको आय ३ सय पनि छैन । ८० प्रतिशत जनता एकछाक भोकै बस्छन् भन्दा नेताहरूलाई हीनताबोध हुँदैन । १८ वर्षमा सयौं पार्टी खोल्नेहरू छन्, यिनले यही अवधिमा ३० हजार उद्योगधन्दा किन बन्द गराए ? नयाँ रोजगारीको सिर्जना गर्नै सकेनन् । युवा निकासी उद्योग खोलेर रेमिटान्सबाट सरकार चलाइरहेका छन् । हिजो कृषि प्रधान देश थियो, त्यसपछि हरियो बन नेपालको धन भनियो । राजनीति र कूशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ । २००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५२ सालमा महाकाली र २०६३ सालपछि बुढी गण्डकी, कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश त हो तर नेपाल यही सपनामै रोकिएको छ ।
यतिमात्र होइन विश्व सम्बन्ध अविश्वसनीय हुने खतरा बढेर गएको छ । नेपालको कूटनीति दुर्घटनामा परिसकेको छ । समस्या नेपालको, पश्चिमा राजदूतहरू बैठक गरी गरी दबाब दिइरहेका छन् । नेपाली नेताहरू सही निकासका लागि सँगै बसेर छलफलसमेत गर्न सक्दैनन् । विवाद बढाएर घर, सडक, समाजदेखि देशैभरि आँधीहुरी सिर्जना गराइरहेका छन् । सडक र संसद आमने सामने पारिएको छ । लाग्छ, नेपालमा विश्वशक्ति ध्रुविकृत हुँदैछ । नेपाली साधनमा सिमित हुँदैछन् ।
अमेरिका १७७६ मा स्वाधीन भएको हो, आजको नेपालीका लागि स्वर्ग हो । १८६० मा दासप्रथाबाट उन्मुक्ति पाएको अमेरिका कहाँबाट कहाँ पुग्यो ? कहिल्यै उपनिबेश बन्नु नपरेको नेपाल ‘बहादुर’ ‘कान्छा’, ‘आतंककारी’, ‘गार्ड’, ‘कमारो’, ‘श्रमिक’ बाट ‘भरौटे’को स्तरमा झरिसकेको छ । अन्य मुलुक स्वाभिमान जगाएर उठ्छन्, हामी धुरी बालेर खरानी बेचिरहेका छौं । अरू सभ्यता अँगालेर माथि उठ्छन्, नेपाल लोकतन्त्रको आवरणमा असफल हुँदैछ, हाइटी वा सोमालिया हुँदैछ । हाइटी त्यो देश हो, जहाँका जनताले दुभालियरजस्ता भ्रष्ट नेता र उनका आज्ञाकारी प्रशासकहरूलाई शोषण गर्न र निरङ्कूशतन्त्र चलाउने छुट दिएर रसातल पुगे । त्यो हाइटी र यो नेपाल बीच फरक नै कति बाँकी छ र ?
१ सय ४३ करोड जनसंख्या भएको भारतमा ४४५ जना सांसद छन्, ३ करोड जनता भएको नेपालमा २७५ । संघीयता भनेर ६७१ सरकार बनाइयो । कुनै सरकार पनि सफल भएनन् । यी सरकारहरू पार्टीका कार्यकर्ताहरूलाई जागीर दिने र भ्रष्टाचार गर्ने अखडा बनाइयो । गरीबी हटाउनु पर्नेमा गरीब बढाइयो, सामन्ती संस्कार हटाउनु पर्नेमा सामन्त उत्पादन गरियो, समानता र सर्वहाराका लागि न्यायपूर्ण समाज भनियो, तिनै बर्गलाई कागती निचोरेझैं निचोरियो । देशमा भ्रष्टाचारका ठूला ठूला काण्डहरू घटे, बलात्कार र हत्याका वारदातहरू भए, संवैधानिक निकायहरूमाथि पार्टीकरण गरियो । नेपालमा लोकतन्त्र टिनको पातामा लखेर झुण्ड्याएको साइनबोर्डमात्र छ । दण्डहीनता र बिधिहीनताको तथ्याङ्कले यसै भन्छ । लोकतन्त्रमा बेइमानहरूको रजगजले यस्तै परिदृश्य देखाउँछ ।
नीति र नैतिकतामा चल्ने पद्धति हो लोकतन्त्र भनेको । हाम्रा नेताहरू आफू अनुकूल लोकतन्त्रमा विश्वास राख्छन् । यिनको लोकतन्त्रको परिभाषा ताक परे तिवारी हो । लोकतन्त्रको सामान्य र राष्ट्रियताको सर्वमान्य सिध्दान्तमा यी नेताहरू एकमत छैनन् । राष्ट्र र जनहित जेसुकै होस्, बिमति राख्छन्, आरोप प्रत्यारोपको महाभारत खडा गर्छन् अनि सत्ताको भागबण्डा लगाउने र भाग शान्ति जय नेपालमा सहमति खोज्ने, यिनको लोकतन्त्र यही हो ।
नेतृत्वमा दोष छ । त्यो दोष देखेर देखाउन नसक्ने समाज, प्रेस, बुद्धिजीवीको विवेक मर्दा राष्ट्र मर्दै गएको छ । राष्ट्र बचाउने विवेकले हो । सवाल यत्ति हो कि हामी यो मुर्दातुल्य राजनीति बोकेर कति मलामी गइरहने ?