Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

युवा निकासी हुने कि हस्तक्षेप गर्ने ?

२३ शुक्रबार , फाल्गुण २०८१८ महिना अगाडि

युवा निकासी हुने कि हस्तक्षेप गर्ने ?

जापानले केयरगिभर, कृषि, उद्यम, निर्माण क्षेत्रका लागि एकलाख नेपाली युवालाई दक्षताको तालिम दिएर काम दिनेभएछ । यसकालागि राजधानीमै तालिमकेन्द्रको उद्घाटन भएको छ । नेपाल र जापान सरकारवीच सहमति भइसकेको छ । युवाहरू कोरियापछि जापान जानका लागि तैयारीमा जुटेका छन् । युवालाई निकासी गरेर देशको अर्थतन्त्र चलायमान बनाउँदै सत्तामा रजगज गरिरहने नेताको लक्ष्य देखिन्छ ।
अर्थात् जो सत्तामा छन्, बुढो पुस्ता यो असफल भयो । देशलाई जिवन्त राख्न, लोकतन्त्रलाई जीवनपद्धति बनाउन यो पुस्ता असक्षम सावित भइसकेको छ । देश यसरी मर्न सक्दैन, निर्जिव बनिरहन पनि सक्दैन भन्दै बुद्धिजीवीहरू भन्छन्– युवापुस्तालाई असफल हुने छुट छैन । युवापुस्ताले निकासी भएर विदेशको निर्माण गर्ने, आफ्नो जन्मभूमिलाई असरल्ल छाड्ने छुट पनि छैन ।
युवापुस्ता जुनसुकै पार्टीका हुन्, तिनले हस्तक्षेप गर्नैपर्छ । जुनसुकै क्षेत्रमा युवाको हस्तक्षेप अनिवार्य भइसक्यो । युवापुस्ता योग्य छ, तिनको योग्यतामा प्रश्न उठाउन सकिदैन । स्थापित बुढा नेताहरूले स्वार्थलाई शक्ति बनाएका छन्, युवापुस्ताले राष्ट्र अर्थात जनतालाई शक्ति बनाएर उठ्नुपर्छ ।
बहुदलको ३५ वर्ष र लोकतन्त्रको १८ वर्षमा युवा निकासी गर्ने, भएका रोजगारी खोसिने, बन्दव्यापार उद्योगधन्दा समाप्त पार्नेमात्र काम भएको छ । नेपालराष्ट्र विदेशीको बजारमा सिमित हुनपुगेको छ । नेपाल भनेको राजनीतिक र विदेशी सैनिक उत्पान गर्ने थलोको रूपमा बदनाम हुन थालेको छ । यो सबैको कारण स्थापित नेतृत्व र जनहितमा काम गर्न नसकेको यो पद्धति नै हो । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक इतिहास भूगोलको संरक्षण गर्ने युवा पुस्ताको दायित्व हो । यसकारण पनि युवापुस्ता सत्तामा जानैपर्छ । पुग्नैपर्छ । युवापुस्ताले अखण्ड नेपाल जोगाउनुपर्छ र अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ । जो सत्तामा गजधम्म बसेर देश बर्बाद पारिरहेका छन्, तिनलाई बिस्थापन गर्न युवा अग्रसर भएनन् भने देशको अस्तित्व समाप्त हुन बेरछैन । युवापुस्ता अहिले नताते कहिले तात्ने ? युवाहरूले आफ्नो कर्तव्यबाट भाग्ने र विदेशीएर सुखपाउनेवाला छैनन् ।
अमेरिकाको जनवरी २० मा सत्ता परिवर्तनसँग जुन हतारोका साथ ‘मेक अमेरिका ग्रेट अगेन’ लक्ष्य लिएर अघि बढेको छ, जुनप्रकारका नीति देखिएका छन्, त्यसबाट नेपालको समेत आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा तहल्का मच्चिएको छ । नेपालको असफल विदेश नीतिका कारणले विविध क्षेत्रमा पहिरो नै गएको छ । विश्वमा सामरिक साझेदारीले यूटर्न लिन लागेका संकेतहरू देखिएका छन् । तेस्रो विश्वयुद्धका कालाबादल पनि बढेका छन् । यस्तो नाजुक घडिमा नेपालले कूटनीतिमा अकारण थप्ने जटिलता र बिकल्प घटाउने जोखिम उठाउनु हुन्न, युवाशक्तिलाई देशमा अडाउन, टिकाउन र अवसर दिनसक्नुपर्छ भन्ने आवाज उठ्दैछ ।