साउदी अरव रोजगारीमा जाने महिलाहरुका लागि 'नर्क' नै हो। नारकीय शोषण भएकाले सरकारले अढाइवर्ष अघि साउदीमा जान महिलाहरुलाई रोक लगायो। जब साउदी अरव महिलाका लागि नर्क नै हो भने अहिले किन घरेलु काममा महिलाका लागि साउदी अरव खुला गरियो? कसैले पनि बुझ्न सकेनन्।
खुल्यो, साउदी जान चाहने महिलाहरुका लागि ढोका खुल्यो। सरकारले प्रतिवन्ध फिर्ता लियो। महिलाहरुले विचार गर्न जरुरी विषय के हो भने खाडी मुलुकमा महिलाको अत्यधिक शारीरिक शोषण हुन्छ, उचित तलव दिइदैन र कडाभन्दा कडा काम लगाइन्छ। महिला हिंसाको मात्रा पनि खाडीमा बढी हुन्छ। तर, यी सबै विषयमा गहन अध्ययन र विश्लेषण नै नगरी सरकारले महिला कामदारहरु खाडी मुलुकमा गए हुन्छ भनेर फुकुवा गरिदियो। कसको दबाबले प्रतिवन्ध लगाइयो, किन महिलालाई जानबाट रोकियो? रोकिने र प्रतिवन्ध लगाउनुपर्ने कारण कसरी संवोधन भयो र अहिले खुला गरियो? सरकारले केही पनि भनेको छैन। यसको अर्थ महिलालाई साउदी गएर मर भनेको हो?
हो, सरकारले बैधता नदिएकाले चोरबाटोबाट दलालहरुले महिलाहरुलाई खाडी मुलुक पुर्याइरहेका छन्। अवैध तरिकाले वैदेशिक रोजगारीमा जाँदा महिलाहरु झन बढी जोखिममा पर्ने गरेका छन्। अवैध बाटो बन्द गर्न नसक्नु सरकारको कमजोरी हो। नेपाली महिलाहरुलाई सचेत पार्न नसक्नु पनि सरकारकै नालायकी हो। आफ्नो नालायकी लुकाउन खाडी मुलुक गए हुन्छ भनेर हचुवाका भरमा लगाएको प्रतिवन्ध फुकुवा गर्नु झन बढी गैह्रजिम्मेवारी भएन र?


