
डा. बिनिता – - - - -
बहुदलपछि र लोकतन्त्रका नेता उही हुन् । उस्तै र उही ड्याङ्का मूला भन्ने उखानजस्तै छन् ।
कुनै नेता लोकका नजरमा सम्मानित छैनन् । लोकको घृणा बोकेर सत्ता हाँकिरहेका छन् । कहिले कसले जुत्ता खान्छ, कहिले कसले लोकको मुक्का खान्छ । लोकले मार्ने भए भन्ने भयका कारण चालिसौं वर्षदेखि सत्तामा हालिमुहाली चलाइरहेका नेताहरू सुरक्षा घेरामा सुरक्षित भएर हिड्डुल गर्न, बाँच्न बाध्य भएका छन् ।
यी नेताहरू कतिसम्म राष्ट्रघाती छन् भने यिनले भूगोलको रक्षासमेत गर्न सकेनन् । राजनीतिको चरित्र हुन्छ, देशभक्ति हुन्छ, जनआवाजको कदर गर्ने पनि हुन्छ । यिनमा कुनै गुण छैन, यिनले गर्ने भ्रष्टाचारमात्र हो ।
२०७२ सालमा भारतले पर्सामा ५० बिगाह नेपाली भुभाग अतिक्रमण ग¥यो । सरकार भन्छ– केही जमीन भारततिर परेको हो, सीमा मिचिएको छैन । राजधानी भारततिर परेपछि मात्र सीमा मिचिन्छ भन्ने चिन्तनप्रति दया गर्ने कि घृणा ? आजसम्म त्यो नेपाली भूभागबारे कुनै नेताले बोलेका छैनन् । बोल्न सक्दैनन् ।
नेपालले १९२७ मा ३१ हजार ७ सय २५ तिरेर रक्सौलमा रक्सौल–अमलेखगञ्ज रेलसेवाका लागि भनेर रक्सौल किनेको जमिनमा रक्सौल बजार बनेको छ । ती भूमि पनि भारतले खाइदियो । यो अतिक्रमणको कुरा कोही गर्दैनन् । यो भूमिको हक नेपाल रेलवे कम्पनी ट्रक तथा कन्टेनर सर्भिसको नाममा थियो । यो कम्पनी पनि छैन, नेपाली भूमि भारतले कब्जा गरेको छ । हामीले प्रमाण बोकेर के गर्नु ?
आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अबस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्– आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम विस्फोट गराएर राजीव गान्धीको हत्या गराइदियो । आतंकको जति बिरोध गरे पनि कम हुन्छ । तर यी सबै आतंकका पछाडि राजनीतिक अपराध जिम्मेवार छन् । राजनीतिको पनि सीमा हुन्छ ।
भनिन्छ, अति गर्नु अत्याचार नगर्नु । छिमेकीमाथि अत्याचार बढ्दै जाँदा भारतले पनि अनेकन दुदमनीय घटनाहरू बेहोरिरहेको छ । कुनै पनि छिमेकीले भारत असल भन्दैनन् । यसबारेमा भारतले आत्ममिमांसा गर्न जरूरी छ । खासगरी नेपालमाथि बढ्दै गएको भारतीय ज्यादतिप्रति । स्मरणीय छ, २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए, २०१६ साल जेठ १३ गते वीपी कोइराला निर्वाचित प्रधानमन्त्री भएका थिए । २०४८ जेठ १५ गते गिरिजाप्रसाद कोइराला पनि निर्वाचित प्रधानमन्त्री नै बनेका हुन् । एउटै बाबु कृष्णप्रसाद कोइरालाका ३ भाइछोरा प्रधानमन्त्री भए पनि तिनैजनामाथि भारतको लगानी रह्यो । सम्भवतः भारतले तिनै दाजुभाइको प्रधानमन्त्रित्वकालमा कोशी, गण्डकी र टनकपुर (गिरिजाको समर्थनमा देउवाकालमा महाकाली) हत्यायो । यही विषयमा ०६३ सालमा भएको १२ बुँदेका हस्ताक्षरकर्तामध्येका एक वरिष्ठ वामपन्थी नेता अमिक शेरचनले २०५४ साल साउन १३ गते नै जनएकता पत्रिकामा लेखेका थिए– कांग्रेसीहरूले कोशी, गण्डकी, टनकपुरपछि २०५२ मा महाकालीसमेत बेचे । स्मरणीय के पनि छ भने २०६५ सालमा प्रधानमन्त्री बनेका समयमा पुष्पकमल दाहाल प्रचण्डले समेत भारत भ्रमण गरेर अनेक अर्थ लाग्नसक्ने मेघा योजना भारतलाई बुझाएका थिए । आज हरेक नेताको अनुहार निस्तेज ।
सार के हो भने नेपालको राजनीतिमा आफ्नो पकड बलियो पार्न साहू मुलुकहरू ठूलो लगानी गर्ने गर्छन् । आसामी हाम्रा नेताहरूले सत्तामा उक्लनासाथ साहुको सावाँव्याजका रूपमा स्रोत र सुरक्षा बुझाउने गरेका छन् । स्वाभिमान र फलामजस्ता आत्मबल भएका कोही भएनन् । यही कारण राजनीति र कूटनीतिक पराजयमात्र भइरहेको छ । बुद्धिजीवी, नागरिक समाज र जान्नेसुन्ने समेत लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतले खाएकोमा बोल्दैनन् । यी घृणित नभए को हुन्छन् ?