
सुनारको सय चोट, लोहारको एक चोट अर्थात फागुन ७ गतेको पूर्वराजाको सन्देशले निकै ठूलो तरङ्ग ल्याएको छ । राजतन्त्र र हिन्दुवादी उत्साहित भएर सडक आन्दोलन चर्काउनतिर लागेका छन् भने भ्रष्ट गणतन्त्र, संघीयतावादीहरू राजासँग सहकार्य गर्नेतिर सोच्न थालेका छन् ।
राजाको मनमा के छ ? सबैको चासोको विषय बनेको थियो । पूर्वराजाले देश बचाउन सबै एक हुनुपर्ने आवश्यकतामा जोड दिदै देश र जनताको लागि त्याग गरेको र अझै त्याग गर्नुपरे गर्न तैयार रहेको अभिव्यक्ति दिएर सबैलाई देशप्रति सोच्न बाध्य पारेको देखिन्छ । राजाको सन्देशलाई सबैले सुधारात्मक सन्देश मानेका छन् । यद्यपि जनविश्वास गुमाएका नेताहरूलाई झस्काएको छ । यसलाई चिर्न स्वयम् प्रधानमन्त्रीले भनेका छन्– व्यवस्थालाई सुधार्न सकिन्छ, व्यवस्था परिवर्तन हुनसक्दैन । अन्य राजनिितक दलहरू पनि घोत्लिन पुगेका छन् । डा.बाबुराम भट्टराईले पूर्वराजालाई कारवाही गर्नुपर्ने भनेर आक्रोश पोख्नासाथ कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजाको सन्देशलाई काम गरेर जवाफ दिनुपर्ने सुझाव दिएका छन् । डा.बाबुराम भट्टराईप्रति गणतन्त्रवादीमात्र होइन, राजतन्त्रवादीले समेत आलोचना गरिरहेका छन् ।
सन्देश आए लगत्तै जनतामा जागरूकता आएको छ । पूर्वराजाले आफू जनतासँग उभिन र देशको भार बोक्न त्याग गर्न तैयार भइसकेको स्पष्ट सन्देश आएपछि अब पालो जनताको हो । अब नउठे कहिले उठ्ने ? जनता उठ्नुप¥यो, जाग्नुप¥यो । यो व्यवस्था फाल्नुपर्ने, भ्रष्टाचार अन्त हुनुपर्ने, नैतिकहीनलाई पाखा लगाउनुपर्ने जनमाग पूरा गर्न जनताले जागरूकता देखाउनै पर्छ । जो जो जुनसुकै कित्ता अथवा संघ संस्थामा भए पनि तेस्रो जनआन्दोलनका लागि तैयार भएर निस्कनु प¥यो । तवमात्र पूर्वराजा स्पष्ट भएनन् भन्नेहरूले पाएको स्पष्ट जवाफको सम्मान हुनजानेछ ।
सञ्जालमा सिमित भएर काम छैन । अब सडकमा उत्रने बेला हो । विदेशी मित्रहरूले समेत यी भ्रष्टहरूलाई ठग भनिसकेको स्थिति छ । भारूराम अर्थात बाबुराम, डलरराम अर्थात् विभिन्न ठगहरूलाई तह लगाउने बेला यही हो । अन्याय बढेको छ, जनजिविका कष्टकर भएको छ, विकास निर्माणभन्दा बढी चुहावट भइरहेको छ । जता हेरे पनि अनियमितता मात्र देखिन्छ । पूर्वराजाले सबै मिलेर अघि बढौं भन्ने आशय व्यक्त गरेपछि परिवर्तन हुनैपर्छ । भोलि यही खालका प्रश्न उठ्न नसक्ने गरी अघि बढ्नुपर्छ । जनआशा र अपेक्षा भनेको शान्ति, समानता, न्याय र विकास हो । यसका लागि पहिले परिवर्तन अनि जनअपेक्षातिरको काममा लाग्ने हो ।
यसकारण जो जो छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन्, ती सबै एक भएर भ्रष्टहरूलाई पाखा लगाउन अग्रसर हुनुपर्छ । राष्ट्रपति कि राजा ? यो असान्र्भिक प्रश्न हो । यो समय भनेको पहिले भ्रष्टहरूलाई ठेगान लगाउने र परिवर्तनका लागि अर्को जनआन्दोलन गर्ने समय हो । संयुक्त आन्दोलनका लागि एक जिम्मेवार नेतृत्व अग्रसर हुनुपर्छ । जसलाई दुर्गा प्रसाईदेखि राजेन्द्र लिंगदेनसम्म, जगमान गुरूङसम्मको सहमति होस् । संयुक्त आन्दोलन गर्ने हो भने यो भ्रष्ट पद्धति ढाल्न सहज हुनेछ । ०४६ सालमा गणेशमान सिंह, ०६३ मा गिरिजाप्रसाद कोइराला थिए भने यो विषय परिवर्तनकारीहरूले ध्यान दिन जरूरी छ । मुख्य सवाल आमनागरिक आश्वस्त हुनुपर्छ ।
अहिले ताल तालका चिन्तन सुनिन्छ । अब आन्दोलन गर्नैपर्दैन, यी भ्रष्टहरू जो देशभित्र र बाहिर पनि ठग सावित भइसके, उनीहरू पूर्वराजासँग सहकार्य गर्न आत्मसमर्पण नै गर्न सक्ने वातावरण विकसित भइसकेको छ । यिनको शक्ति भनेको कार्यकर्ता र सुरक्षा निकाय हो । सुरक्षा निकायले साथ छाड्नेवित्तिकै यिनले जाने भनेको पूर्वराजाको शरणमै हो । यसपल्टको परिवर्तन आश्चर्य जनक देखिने छ ।
०६३ सालपछि सुरक्षा निकायले विदेशी दबाबमा भएको जनआक्रोशका कारण राजाको साथ छाडेका थिए । जसले गर्दा राजतन्त्र जनताका सामु झुक्यो । आज जनताको स्वस्फूर्त आन्दोलन हेरेर सुरक्षा निकायले यी भ्रष्टहरूको साथ छाड्ने छ र यो भ्रष्ट लोकतन्त्र ढल्नेछ । आन्तरिक र बाह्य आलोचना देखेर लोकतन्त्रमा हालीमुहाली गरिरहेका दल र नेताहरू पानीबिनाको माछाजस्तो भइसकेका छन् । अब अलिकति दबाब बढाउने हो भने यिनको बहिर्गमन सजिलै हुनेछ । यिनले जनताको आँखामा भ्रम छरेर धेरै भ्रष्टाचार गरे । राजनीतिक धर्म नष्ट गरे । अब जनता झुक्किनेवाला छैनन् यी भ्रष्टहरूले यो विषयलाई राम्ररी बुझेका छन् । तथापि असफल प्रयास गर्न सक्छन्, तर जनता सडकमा निस्कनासाथ बिना रक्तपात अर्को परिवर्तन सम्भव छ । परिवर्तन कसैले रोकेर रोकिनेवाला छैन । कुरौं परिवर्तनको तौरतरिकालाई ।