Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

Image

बोल्न बन्देज लगाउने गणतन्त्र

बैकुण्ठ भण्डारी

१३ मंगलबार , फाल्गुण २०८१२ महिना अगाडि

बोल्न बन्देज लगाउने गणतन्त्र

बिहानै फोनको घण्टी बज्यो, हरेराम हरेकृष्ण । अहा, प्रविधिको विकासले मनलागेको घण्टी राख्न पाइन्छ । मोबाइलमा हरेराम हरेकृष्ण बजीनै रह्यो । उठाउने कि नउठाउने हो, अन्योल भयो । किनकि म यस्तो देशको नागरिक हुँ जहाँ सत्य बोल्न पनि सरकारको आदेश चाहिन्छ । त्यसमाथि पनि मोबाइल प्रयोग गरेर । म सोचमग्न भएँ ।
फागुनको पहिलो साता अघिल्लो वर्षभन्दा बिहानीपख चिसो अलि बढी नै थियो । सिरक ओडेर सुतिरहेको छोरा सिरकभित्रैबाट करायो, ‘हैन यो ब्यानदेखि कस्तो हरेराम हरेकृष्ण हो ? खुरूक्क फोन उठाउनु नि ! हैन फोन गर्नेले पनि एक पटक नउठेपछि नगर्नु नि तारन्तार !’ मैले मनमनै भनें, ‘अहिलेको अवस्था नै हरेराम हरेकृष्णको छ, सबैजना स्तुतिका भोका छन् बाबु के गर्छस्, त्यही भएर मैले मोबाइलमा नै हरेराम हरेकृष्ण राखेको छु । सत्यको स्तुति त ठीकै हो तर गलत र झूठको स्तुतिले पो बज्रपात पारेको छ त ?
रोग अनेक छन्, खै के रोग हो कुन्नि, पत्तै लगाउन नसकिने रोगको शिकारले शिथिल बनाएकी जहान आवाज पनि निकाल्न मुस्किलले भन्दै थिइँ । ‘त्यो फोन कराइराको छ उठाउनु नि कसैको ‘इम्पोटेण्ट’ पो हो कि ? तारन्तार बजेको बज्यै छ ।’ एकछिन रोकिएको फोन फेरि बज्यो, ‘हरेराम हरेकृष्ण’ । यो पटक भने मैले एउटै हरेराम हरेकृष्णमा फोन उठाएँ । हेलो ?  
‘हिजो राति फेसबुकमा के पोस्ट्याएको हो ? पूरै भाइरल नै छ त ?’
झस्किएँ, तीन छक्क परें र उत्तर दिएँ, ‘त्यस्तो त केही छैन, उही आफ्नो मनको व्यथा पोख्ने ठाउँ त हो त्यो भनेको के नै पो लेखेको छ र ?’
उताबाट आवाज आयो– ‘हैन निकै कडा पो छ त ? भित्तैमा पुग्नेगरी हानेको छ । कति कडा लेखेको हो ?’
म खिस्स हाँसेर भने ‘त्यस्तो त होइन, सत्य कुरा मनमा राख्न नसकेर व्यक्त गरेको हुँ । अहिले बोल्ने मञ्च नैसामाजिक सञ्जाल त हो !,’ उसले पनि  हाँस्दै भन्यो, ‘त्यो त हो । तर...’
‘कसैको मानहानी हुने गरेर लेखेको त छैन नि ?’ उल्टो प्रश्न गरें मैले ।
उसले भन्यो, ‘त्यस्तो त छैन, तर पनि कडा चै छुराजत्तिकै छ ।’ 
चकित पर्दै भने– ‘ए हो र भन्या ?,’ मैले जिज्ञासा राखें । ‘तपाईंहरू पो नियुक्ति सियुक्ति आएर ठूलो ठाउँमा भएको मान्छे सेतोलाई सेतो कालोलाई कालो भन्न सक्नुहुन्न । म त विचरो भूइँमान्छे जे सत्य हो त्यही बोल्छु र भन्छु । कसैलाई मन पर्ला कसैलाई मन नपर्ला ? सत्य त सत्य नै हो नि होइन र ?’ओछ्यानमा शिथिल भएर पल्टिरहेकी जहानले भनी, ‘ब्यानदेखि कत्ति गफ गर्नु परेको । उताबाट फेरि प्रश्न तेर्सियो, ‘साँच्चै भाउजुलाई के भाको रे ?’ ‘केही पनि भएको छैन । सबै ठीक छ । मेडिकल माफियाहरूले चलाएको अस्पतालले सद्दे मान्छेलाई दीर्घरोगी बनाइदियो,’ मैले पीडा बताएँ ।
फोन गर्ने ऊ जिम्मेवार पदमा बसेको मान्छे । शक्ति केन्द्रको नजिकको मान्छे । कालोलाई सेतो र सेतालाई कालो बनाउन सक्ने मान्छे । तर, मेरो उत्तरमा उसको कुनै प्रतिक्रिया भएन । मात्र उसले भन्यो, ‘ए’ ! साँच्चै सरकारले ल्याएको अध्यादेश कस्तो लाग्यो ? उसले मलाई सोध्यो ?‘हरेराम हरेकृष्ण’ ! मैले ‘जहान’ तर्फ हेर्दै भनें । सद्दे मान्छेलाई ओछ्यानमा शिथिल हुनेगरी मकै खाएजस्तै औषधि खानुपर्ने बनाउने अस्पताललाई सम्झिएँ । स्वदेशमा सहज र गुणस्तरीय शिक्षा नपाएका कारण भारतको उडिसामा पढ्दै गरेकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणका विषयमा संसद्मा उठेको प्रसंग सम्झिएँ । ग्यास पड्किएर मृत्युवरण गरेका मःमः पसलका श्रमिक सम्झिएँ अनि पोखरामा बेलुन पड्किँदा भएको घटना र सरकारले बनाएको छानबिन समिति सम्झिएँ । म सम्झदैथिएँ ...
उसले सोध्यो, ‘के हो त्यो हरेराम हरेकृष्ण भनेको ?’ सत्ताको वरपरका मान्छेसँग धेरै गफिन त मन थिएन । तर पनि प्रश्नको उत्तर त दिनपर्छ भन्ने सोचेर मैले जवाफ दिएँ । ‘भजन मण्डलीका लागि निकै राम्रो ।’ अनि ‘बलात्कारलाई पनि चमत्कार बनाउनेहरूका लागि निकै महत्वपूर्ण छ ! वास्तविकता, सत्य र न्यायका लागि लड्नेहरूका लागि यो निकै घातक छ ।
‘उसले सोध्यो, ‘त्यस्तो हो र ?’
सायद मेरो मन चोर्न खोजिरहेको आभाष भयो । अनि मैले भने, ‘हो । ठ्याक्कै त्यस्तै छ । किनकि सत्य बोल्नेहरूका लागि यसले ‘कन्तविजोक’ बनाइदिने छ । यो त सत्ताका वरिपरि परिक्रमा गर्ने माफियाहरूको भजन गाउनेहरूकै लागि उत्तम छ । 
उसले फेरि सोध्यो, अहिलेको गणतन्त्रमा पनि त्यस्तो कहाँ हुन्छ र ? मैले धितमर्ने गरी भनें, ‘हुन्छ । सत्तामा पुग्नेहरू आफूलाई नवराजा बादशाह बनाइरहेका छन्, सत्य बोल्नै नहुने । बोल्नेहरूको मुख थुन्ने र त्यसलाई पत्तासाफ बनाउने काम गरिरहेका छन् । झूठ र भ्रमलाई चिर्न सत्य बोल्नै पर्छ । सत्य लेख्नै पर्छ । तर, सत्य बोल्न नपाउने यो गणतन्त्र हो कि गाँठतन्त्र ? अन्याय सहेर बस्नु पर्ने ? शक्ति र सत्ता नहुनेको कुरा कसले सुन्दिने ? उसले बोल्नै नपाउने । आज न्याय मरिरहेको छ । सुन्नूस् महाशय, देशका हरेक अंग माफियाहरूको हातमा पुगेको छ । तपाईंजस्ता सत्ताका वरपर बस्नेहरूले सत्यलाई सत्य भन्न सक्नुभएको छैन । नेतृत्वलाई भ्रममा राख्नुभएको छ । त्यसकारण हामीजस्ता सत्य ओकल्नेहरूको मुख बन्द गराउने यस्ता अध्यादेश नै बन्द हुनुपर्छ ।’
मैले धेरै शक्ति केन्द्रमा सत्य बोले । सत्यलाई झूठ बनाउने अनुयायी प्रशस्त जन्मिए । तर पनि सत्यका लागि ध्रुवताराजस्तै एक्लै बोलिरहने छु । र, त भन्छु, ‘बोल्न सम्म त दिउँ सरकार’ ! सरकार बहिरो छ, सरकार गैंडाको छालाजस्तो संवेदनहीन छ, के सुन्थ्यो ?
तथापि बोल्न छाडिन्न । हरेक क्षण भनिरहनुपर्छ, बोलिरहनुपर्छ । यो मानवीय अधिकारको सवाल बढी हो ।