Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

दर्जन टुक्रा भइसके माओवादी

०६ मंगलबार , फाल्गुण २०८१६ दिन अगाडि

दर्जन टुक्रा भइसके माओवादी

देश बनाउँछ, समाज सुधार्छ, देशलाई सर्वहाराको स्वर्ग बनाउँछ भन्ने आश राखेको माओवादी १ बाट ११ टुक्रा भइसके माओवादी, यस्तो टुक्रे माओवादीको नेतृत्व आफू बने, परिवार बनाए, आफूले उभिएको सिद्धान्त, भूमि बिर्सिए ।
प्रचण्डको मुक्का खाँदै टुक्रिदै गएका माओवादीहरूले १ पार्टीबाट ११ थान माओवादी पार्टी खोलिसके । कम्युनिष्टको उर्वर भूमिमा कूल मिलाएर नेपालमा १९ थान कम्युनिष्ट पार्टी रहेको देखिन्छ । यिनमा यति ठूलो मतभिन्नता छ कि भ्यागुताको धानी पुग्नु र यिनको एकता हुनु उस्तै हो भन्छन् माओवादी राजनीति बुझ्ने बिश्लेषकहरू । टुट्ने फुट्ने रोगको मुख्य कारण आफै नेता बन्नुपर्ने अहंकारले गर्दा हो भन्न सकिन्छ ।
कार्लमाक्र्सले १८४८ मा कम्युनिष्ट पार्टीको जन्म दिए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्ष पुगिसकेछ । पुस्पलाल श्रेष्ठले सेप्टेम्बर १५, १९४९ मा भारतमा स्थापना गरेका थिए ।
२०६५ सालमा राजतन्त्र ढालियो, किन ढालियो ? संघीयता ल्याइयो, किन ल्याइयो ? हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो, किन बनाइयो ? परिवर्तनले नेता सुकिलामुकिला भए, आमनागरिकले के पाए ? यो सवालको जवाफ कुनै नेता दिन सक्दैनन् । किनभने न समानता आयो, न समान अवसर मिल्यो । जनताको शासन र शोषितपीडितका लागि न्याय सुलभ हुन्छ भन्नेहरू राजनीतिलाई व्यापार बनाइरहेका छन् । कुशासनका घोडा दौडाइरहेका छन् । राजनीति अपराधिकरण हुँदै गएको छ । जनताले सामाजिक न्याय, प्राथमिक सुविधा केही पनि पाउन सकेनन् । जनता उपेक्षित भएका छन् ।
परिवर्तन भएपछि ०६४ सालमा संविधानसभाको निर्वाचन भयो, यसमा माओवादी पहिलो पार्टी बनेको थियो । माओवाद नै मूलधार देखिएको थियो । १८ वर्षपछि माओवादी पार्टी टुक्रा टुक्रामात्र भएको छैन, पटक पटक सत्ता र शक्तिको हालीमुहाली बनेको माओवादीले देखाउने एउटा पनि काम गर्न सकेनन् । माओवादी अध्यक्ष प्रचण्ड ३ पल्ट प्रधानमन्त्री बने, बाबुराम पनि प्रधानमन्त्री बनेकै हुन्, १ सय १८ पटक मन्त्री हुनेहरू माओवादी नै थिए । तर तिनले कम्युनिष्ट एकताका लागि कुनै काम गरेनन्, जनताले अनुभूत गर्नसक्ने कुनै राहत दिएनन्, भ्रष्टाचारको भरिया बनेका अनेक उदाहरण छन् ।
प्रचण्ड आफ्ना जनयुद्धकालीन साथीहरू किन बिच्केर, बिद्रोह गरेर अलग अलग पार्टी गठन गर्न पुगे भन्ने आत्मसमीक्षा गर्नसमेत तैयार छैनन् । बाबुरामजस्ता सहयोगी २०७२ सालमा पार्टी छाडेर गएका थिए भने बिप्लव, बादल, मोहन बैद्यहरू नयाँ नयाँ पार्टीमा लागेका छन् । अचम्म माओवादी जनयुद्धलाई हिंसा भन्दै बादल त एमालेकरण भएका छन् ।
जनयुद्ध, जनआन्दोलनपछिको ०६४ को चुनावमा मूलधार बनिसकेको माओवादी उचाइबाट भुइँमा झरेको छ । ३२ सिटेमा झरेको छ । सर्वहारावादीहरू चरम पुँजीवादी अनुहारमा देखिन्छ । सर्वहारावादी पार्टी व्यवहारमा महासामन्ती बनेको छ ।
एक माओवादी पार्टी फुटेर ११ पार्टी बनेका छन् । ती हुन्– 
१. नेकपा माओवादी केन्द्र ः पुष्पकमल दाहाल प्रचण्ड
२. नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ः डा.बाबुराम भट्टराई
३. नेस पार्टी ः महेन्द्र राय यादव
४. नेकपा ः नेत्रविक्रम चन्द विप्लव
५. आमजनता पार्टी ः प्रभू साह
६. क्रान्तिकारी कम्युनिस्ट ः मोहन वैद्य
७. नेकपा बहुमत ः धमेन्द्र बाँस्तोला
८. नेकपा माओवादी ः गोपाल किराँती
९. वैज्ञानिक समाजवादी पार्टी ः विश्वभक्त दुलाल
१०. नेकपा संयुक्त ः चन्द्रदेव जोशी
११. एमालेको काँचुलीमा रामबहादुर थापा बादल ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, १९९४ मा एकता केन्द्रबाट अलग भएर बनेको हो । प्रचण्ड यो पार्टीको सदावहारअध्यक्ष हुन । संसदमा यो पार्टीको ३२ सिट छ । राष्ट्रिय सभाको अध्यक्ष यही पार्टीका छन् । उनको नेतृत्वको पार्टी ११ टुक्रा भएको छ । आम जनता पार्टी, अध्यक्ष छन् प्रभू शाह । ०७९ पुस १४ गते यो पार्टी गठन भएको हो । संसदमा उनी एक्ला सांसद छन् । 
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), यो डा.बाबुराम भट्टराईको नेतृत्वको पार्टी हो । भट्टराईले आफ्नो गोर्खाको निर्वाचन क्षेत्रसमेत प्रचण्डलाई छाडि दिएका थिए । यो पार्टीबाट सर्लाह २ बाट महेन्द्र राय यादवले जितेका थिए तर उनले अलग पार्टी गठन गर्न पुगे । उनी प्रचण्ड निकट छन् । नेपाल समाजवादी पार्टी महेन्द्र राय यादवले भट्टराईसँग अलग भएर ०७९ मा गठन गरेका हुन् ।
नेकपा, नेत्रविक्रम चन्द विप्लवले बैद्यले क्रान्ति गर्न सकेनन् भनेर बिद्रोह गर्दै गठन गरेका हुन् । २०७१ मा मोहन वैद्यको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी बाट फुटेको पार्टी हो यो । २०६९ असारमा प्रचण्डसँग बिद्रोह गरेर बैद्यले क्रान्तिकारी नेकपा गठन गरेका थिए । उनमा अब जनयुद्धको भ्रम छैन ।
नेकपा क्रान्तिकारी माओवादी ०६९ मा खोलिएको बैद्यको पार्टी हो । बैद्य जनयुद्धकालमा माओवादीको थिङ्क टेङ्क मानिन्थे । तर उनलाई प्रचण्डले कहिले अगाडि बढ्न दिएनन् भनिन्छ । यिनमा व्यापक अन्तरबिरोध छ । यो पार्टीको नाममात्र बाँकी छ, कुनै क्रियाकलाप देखिदैन ।
पार्टी फुट्दै जान थालेपछि प्रचण्डले नेकपा एकता केन्द्रका नारायणकाजीलाई काखी च्यापे, अहिले पनि प्रचण्ड र काजीको एकता मजबुत देखिन्छ । तथापि ०६४ को पहिलो पार्टी ०७० को संविधानसभामा तेस्रो बन्नपुग्यो, अहिले पनि ३२ सिट सहित तेस्रो मै छन् । माओवादी केन्द्रको ओह्रालो यात्रा निरन्तर जारी देखिन्छ ।
नेकपा बहुमत, यो पनि प्रचण्डसँग अन्तरबिरोध चर्केपछि हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोला मिलेर २०७९ वैशाख खोलेका हुन् । 
नेकपा माओवादी, गोपाल किरातीले स्थापना गरेका हुन् । ०७४ सालमा प्रचण्डले एमालेसँग मिलेर नेकपा बनाएपछि किराती असन्तुष्ट भएर पार्टी खोल्न पुगेका हुन् । यो पार्टी नाममा मात्र सिमित देखिन्छ ।
वैज्ञानिक समाजवादी पार्टी, विश्वभक्त दुलाल आहुती नेतृत्वको हो । ०७६ सालतिर यो पार्टी खोलिएको हो । उनको पार्टी पनि देशभर विस्तार हुन सकेको छैन । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको टुक्रा हो । यो पार्टीले ०८१ असोजमा राष्ट्रिय सम्मेलन गरे पनि सतहमा दमखम देखिदैन ।
नेकपा संयुक्त, चन्द्रदेव जोशीको नेतृत्वको पार्टी हो । २०७६ असोजमा गठन गरिए पनि यसको फूर्ती केही पनि देखिदैन ।
एमालेकरण भएको रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टको समूह छ । ०७४ मा नेकपा बनेपछि एमाले र माओवादीबीच एकता भयो । केही समयपछि अध्यक्ष ओली र प्रचण्डबीच मनमुटाव भए पनि यिनीहरू एमालेमै बसेका छन् ।
प्रचण्डले कम्युनिष्ट एकताका लागि समाजवादी मोर्चा गठन गरेका छन् । तर यो मोर्चा देख्नाका डालमा सिमित छ । विप्लव र अन्य ससाना घटकलाई मिलाउने र ०८४ मा एक्लै चुनाव लडेर ०६४ को लहर ल्याउने प्रचण्डको प्रयास छ, यसैका लागि प्रचण्ड देशव्यापी भ्रमण गरिरहेका छन् । तर पूर्व माओवादीहरू प्रचण्डसँग यसरी उतर्सिएका छन् कि प्रचण्डको योजना सफल हुने लक्ष्यण कमजोर देखिन्छ । प्रचण्डलाई जनार्दन शर्माले अध्यक्ष छाडेर सम्मानित नेता बन्न गरेको प्रयासलाई असफल पारेर प्रचण्डले आफै अध्यक्ष भइरहने दाउ खेलेका छन् । माटोको भाँडो फुटेपछि जोडिन्न भनेझैं कम्युनिष्ट एकता धेरै टाढाको विषय बनेको छ ।
जनयुद्ध र जनआन्दोलन, त्यसपछिको परिवर्तनले देश र जनतालाई के दियो ? किन नेतामात्र मोटाघाटा, खाइलाग्दा ? माओवादीले जवाफ दिन नसक्दा यो पार्टी अझ पातलिदै जाने जोखिम बढी छ । तथापि अध्यक्ष प्रचण्ड मिसन ०८४ भन्दै ०६४को जस्तो लहर ल्याउने प्रयात्नमा जुटेको देखिन्छ ।