
अलेक्जेन्डर दुगिन (अनुवादः मोहनप्रसाद ज्ञवाली)
असी वर्ष अघि, सन् १९४५ फेब्रुअरी ४ मा, मित्रराष्ट्र शक्तिहरूको याल्टा सम्मेलन प्रारम्भ भयो । जसले नाजी जर्मनीको पराजयपछि नयाँ विश्व व्यवस्थालाई आकार दियो । यो पराजय पहिले नै तय भइसकेको थियो । विजयी पक्षका नेताहरू (सोभियत गुट र पश्चिमी उदार–पुँजीवादी विश्व)ले युद्धपछिको नाजी–पछिको वैश्विक व्यवस्थाको आधारशिला तयार गरे ।
यस आदेशलाई केवल दुई शिविर, दुई गुट र दुई विपरीत विचारधाराहरूको अस्तित्व स्वीकृत विशेषताद्वारा मान्यता दिइएको थियो । जसले विश्वलाई विभाजन गरी आ–आफ्नो प्रभाव क्षेत्रहरू तोक्यो । यो मोडेल प्रभावकारीरूपमा वार्सा सन्धिको विघटन र अन्ततः सोभियत संघको पतनसम्म स्थिर रह्यो । सो पतनसँगै, याल्टा प्रणाली प्रभावकारी रूपमा समाप्त भयो र एकध्रुवीय विश्वको मार्ग प्रशस्त भयो ।
अतः, संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (जुन मूलतः एक गुप्त र विघटनकारी संस्था हो) ले सोभियत संघपछिको रूसी राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको कुरा कुनै आश्चर्यको विषय होइन । यसले येल्तसिन युगको संविधान, नयाँ कर संहिता, भूमि संहिता तथा अन्य संरचनात्मक परिवर्तनहरूलाई प्रभाव पा¥यो । यसले याल्टा सम्झौताको पूर्णरूपेण विघटनका साथ एकध्रुवीय विश्व व्यवस्थाको विजयलाई लागु ग¥यो ।
अब हामी पुटिन र ट्रम्पबीचको भेटघाटको सम्भावना देख्छौं । निसन्देह, यी दुई महान् राजनीतिक व्यक्तित्वहरू हुन् साथै दुई सभ्यतागत राष्ट्रका नेतृत्वकर्ता पनि । तर, अहिलेको अवस्थामा उनीहरूको भेटघाटमा आगामी विश्व व्यवस्थाका मापदण्डहरू परिभाषित गर्ने गरि “नयाँ याल्टा“ भने हुने छैन । जुन अनिवार्य रूपमा बहुध्रुवीय विश्व व्यवस्थामा मात्र हुन सक्छ । मानवताको भविष्यबारे वास्तविक वार्तामा पुग्नका लागि दुई प्रमुख सर्तहरू पूरा हुनुपर्छ । पहिलो, यसका लागि केवल पुटिन र ट्रम्प मात्र पर्याप्त छैनन् । दोस्रो, रूसले विश्वव्यवस्थाको पुनः संरचनामा पूर्ण रूपमा सहभागिता जनाउनका लागि एउटा महत्वपूर्ण उपलब्धि हासिल गर्नुपर्छ । युक्रेनमा भूमंडलीकरणमाथि विजय । जसरी स्टालिनले महान् देशभक्त युद्धमा हिटलरमाथि विजय प्राप्त गरेका थिए । त्यसरी नै पुटिनले युक्रेनमा विजय हासिल गर्नुपर्छ ।
हो, हामी यस लक्ष्यतर्फ अघि बढिरहेका छौं । साथै यो हासिल गर्नेछौं । तर, युक्रेनमा विजय प्राप्त गरेपछि मात्र रूस र पश्चिमी सभ्यताबीच वास्तवमै महत्त्वपूर्ण वार्ता सम्भव हुनेछ । यद्यपि, ती वार्ताहरूले पनि वैश्विक संरचनाको अन्तिम प्रारूप निर्धारण गर्ने छैनन् । किनभने बहुध्रुवीय विश्वलाई अन्य सभ्यतागत राष्ट्रहरूको सहभागिता आवश्यक हुन्छ । न्यूनतम रूपमा, चीन र भारतको संलग्नता अपरिहार्य छ । जसले गर्दा कम्तीमा चारपक्षीय वार्ताको आवश्यकता पर्छ ।
यसबाहेक, युरोप क्रमशः संयुक्त राज्य अमेरिका भन्दा अलग हुँदै एक विशिष्ट भू–राजनीतिक मोडेल निर्माण गरिरहेको छ । यसरी, युरोप अर्को सम्भावित सहभागी बन्न सक्छ । त्यस्तै, इस्लामिक संसार, जसका अर्बौं अनुयायी छन्, साथै अफ्रिका र ल्याटिन अमेरिका पनि विचारणीय छन् । यी तीन अतिरिक्त सभ्यतागत पक्ष हुन्, जसको दृष्टिकोणलाई नयाँ वैश्विक संरचनामा उपेक्षा गर्न सकिन्न ।
तर, नयाँ विश्व व्यवस्था पहिले नै आकार लिँदैछ । अमेरिकी गृहयुद्धको बीचमा (जहाँ ट्रम्पका समर्थकहरू र डिप स्टेट) अर्थात् स्वयं अमेरिकाभित्र रहेको उग्र वैश्वीकतावादी अभिजात वर्गबीच सङ्घर्ष चलिरहेको छ । यस सन्दर्भमा, डेमोक्र्याटहरूले ग्क्ब्क्ष्म् को समर्थनमा प्रदर्शन आयोजना गर्नु अत्यन्त अर्थपूर्ण छ । यो एजेन्सी ट्रम्प र मस्कद्वारा बन्द गरिएको छ । किनभने यसले डेमोक्रेटिक पार्टीको शीर्ष नेतृत्वका साथै रिपब्लिकन पार्टीका केही अंशहरूलाई समेत आपराधिक रूपमा संलग्न गराउने कागजातहरू राखेको हुनसक्छ भन्ने मान्यता छ ।
यसै कारण हाल अमेरिका आन्तरिक संघर्षमा जलिरहेको छ । ट्रम्पले यो सङ्घर्ष जित्नैपर्छ र आफ्नो अमेरिकी दर्शनको आधारमा अमेरिका निर्माण गर्न थाल्नुपर्छ । त्यसैगरी, रूसले पनि युक्रेनमा आफ्नो युद्धमा विजय हासिल गर्दै भूमण्डलीकरणवादीहरू र तिनका कठपुतलीहरूलाई युद्धमैदानमा पराजित गर्न आवश्यक छ । चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिका पनि नयाँ चुनौतीहरूको सामना गर्दै आफूलाई प्रमाणित गर्नुपर्नेछ । इस्लामिक विश्व आफ्नो भागको रूपमा हाल महान इजरायल परियोजनाको चुनौतीको सामना गर्दै आफुलाई परिक्षण गरिरहेको छ ।
अन्तमा पुनः दोहो¥याउनुपर्दा, हामी अहिले नयाँ याल्टा विश्वको अवस्थामा पुगेका छैनौं । जहाँ दुई शिविरहरूले तेस्रोमाथि निर्णायक विजय प्राप्त गरीसकेका छन् र विश्व इतिहासको अर्को चक्र परिभाषित गर्ने तयारीमा छन् । हालका लागि, हामी अझै द्वन्द्वको बीचमा छौँ । सायद एक ठूलो युद्धको संघारमा समेत छौँ । जब यी युद्धहरू समाप्त हुन्छन् र विजेता तथा पराजित स्पष्ट हुन्छन् । त्यतिबेला मात्र ठूला महाशक्तिहरूका महान् नेताहरूबीचको ऐतिहासिक तथा भाग्यनिर्णायक भेटघाटको सम्भावना रहनेछ । जसले नयाँ विश्व व्यवस्थाको संरचना निर्धारण गर्नेछ ।
नोटः नयाँ याल्टा रूस, पश्चिम, चीन, र भारतजस्ता शक्तिबीच वार्ताले तय गर्नेछ ।