Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

क्यानाडाको कूटनीतिक अन्योल: चीन कार्ड खेल्ने रणनीतिक भूल

०५ सोमबार , फाल्गुण २०८१७ दिन अगाडि

क्यानाडाको कूटनीतिक अन्योल: चीन कार्ड खेल्ने रणनीतिक भूल

 # प्रेम सागर पाैडल  -   -   -  -

 क्यानाडाले लामो समयसम्म "मूल्य-आधारित कूटनीति" को प्रवर्तकको रूपमा पहिचान बनाएको भए तापनि, हालसालै यसले "मूल्य-विभ्रमित कूटनीति" को उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। अमेरिकाले निरन्तर रूपमा क्यानाडालाई आफ्नो ५१औं राज्यको रूपमा हेर्ने तथा व्यापार नाकाबन्दीको धम्की दिने क्रममा, हालै १३ क्यानाडाली प्रान्तीय प्रमुखहरू वाशिङ्टनमा लबिंग गर्न पुगे। तर, सबैभन्दा ध्यान आकर्षित गर्ने विषय क्यानाडा-अमेरिका सम्बन्ध नभई, उनीहरूले चीनलाई "साझा आर्थिक शत्रु" को रूपमा चित्रित गर्न खोज्ने निर्णय थियो, जसको उद्देश्य अमेरिकी सहानुभूति प्राप्त गर्नु थियो। यसले क्यानाडाली कूटनीतिक अपरिपक्वता र राजनीतिक अवसरवादलाई उजागर गरेको छ। क्यानाडा हाल ठूलो बाह्य दबाब सामना गरिरहेको छ। 

अस्थायी सरकार अन्तर्गत रहँदा र आगामी निर्वाचनको तयारी गर्दै गर्दा, वाशिङ्टनको भ्रमण एक प्रकारको बाध्यात्मक कदम थियो। तर, उनीहरूले सामूहिक रूपमा "चीन कार्ड" खेल्ने रणनीति अपनाउनु तथा अमेरिकी विरोधी-चीन प्रवृत्तिलाई प्रश्रय दिन खोज्नुले क्यानाडाली केही नेताहरूको राजनीतिक दृष्टिकोण स्पष्ट पार्दछ। उनीहरूले छोटो अवधिको निर्वाचनकाे फाइदालाई, लामो अवधिको रणनीतिक स्वायत्तताभन्दा बढी प्राथमिकता दिए। अस्थायी कूटनीतिक अवसरलाई अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तभन्दा माथि राख्नुले क्यानाडालाई आर्थिक विकास र विदेश नीति निर्माणमा थप अन्याैलमा धकेल्नेछ। यो भ्रमणमा क्यानाडाले अमेरिकालाई दिएको मूल सन्देश स्पष्ट छ: जबसम्म अमेरिका क्यानाडासँग सहकार्य गर्न इच्छुक रहन्छ, क्यानाडा चीनविरुद्ध "अग्रपंक्तिको सिपाही" बन्न तयार छ। तर, ओटावाले आफ्नो कूटनीतिक स्थितिलाई अत्यधिक आकलन गरेको देखिन्छ। केही विश्लेषकहरूले अमेरिकी परराष्ट्र नीतिलाई नव-मोनरो सिद्धान्त वा नव-ज्याक्सोनियन सोचसँग तुलना गरेका छन्, जसमा "अमेरिका फर्स्ट" लाई चरम रूपमा लगिएको छ। यसले छिमेकी राष्ट्रहरूमाथि प्रभाव जमाउने रणनीति अपनाएको छ। इतिहासले देखाएको छ कि क्यानाडा स्वयं अमेरिकी जैक्सोनियन नीतिको शिकार भइसकेको छ। यति हुँदाहुँदै पनि हाल देखिएको क्यानाडाको अपरिपक्वता अचम्मलाग्दो छ। ओटावाले चीनलाई अमेरिकी सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न खोज्दा, आफ्नो वास्तविक महत्त्व बुझ्न नसकेको स्पष्ट छ। सम्भवत: अमेरिकाले दिने प्रस्तावहरू क्यानाडाका लागि निराशाजनक नै हुनेछन्। 

क्यानाडाली नेताहरू विगत लामो समयदेखि अमेरिकासँगको सम्बन्धलाई राजनीतिक अंकगणितको रूपमा प्रयोग गर्दै आएका छन्। अमेरिकालाई खुसी पार्नका लागि क्यानाडाले ह्वावई ५जी मामिलामा आफ्नै प्रविधिगत सुधार अवरुद्ध गर्यो। यसले आफ्नो "इन्डो-प्यासिफिक रणनीति" मा चीनविरुद्धको नीति अपनायो, जसले क्यानाडालाई एसियाली राष्ट्रहरूको नजरमा "विघटनकारी" बनायो। मेङ वानझोउ प्रकरण तथा चिनियाँ विद्युतीय गाडीहरूमा १०० प्रतिशत ट्यारिफ लगाउने निर्णय अमेरिकी समर्थन प्राप्त गर्न गरिएका प्रयास थिए। जसले चीन-क्यानाडा सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्‍यायो। हाल पुनः "चीनियाँ कार्ड" खेल्दै अमेरिका तर्फ झुक्न खोज्नुले क्यानाडालाई रणनीतिक स्वायत्तताविहीन राष्ट्रको रूपमा चित्रण गरिरहेको छ। यसका कारण क्यानाडाको अन्तर्राष्ट्रिय प्रतिष्ठा र विश्वसनीयता गम्भीर रूपमा खस्किएको छ। प्राकृतिक स्रोतसम्पन्न र स्थिर अर्थतन्त्र भएको क्यानाडाले स्वतन्त्र परराष्ट्र नीति अपनाउने क्षमता राख्दछ। लेस्टर पीयर्सनको सुयेज नहर संकट समाधानमा मध्यस्थता वा जीन क्रेटिएनको नेतृत्वमा ओटावा सन्धि मार्फत भुइँसुरुङ्गी बम प्रतिबन्ध जस्ता ऐतिहासिक कदमहरूले क्यानाडाको सकारात्मक भूमिकालाई उजागर गरेको थियो। तर, हाल केही क्यानाडाली नेताहरू स्वेच्छाले देशलाई अमेरिकी भू-राजनीतिक खेलको प्यादा बनाउन खोज्नु अत्यन्त चिन्ताजनक छ। क्यानाडाको "सामूहिक अनुनय" को सबैभन्दा नकारात्मक प्रभाव यो हो कि, अमेरिकाको एकपक्षीयताबाट पीडित हुँदै पनि, क्यानाडाले आफैं एकपक्षीयताको उपकरण बन्न खोज्नु हो। क्यानाडाले "आर्थिक जबर्जस्तीको विरोध" गर्ने दाबी गरे पनि, उसले चीनलाई अनावश्यक रूपमा दोषारोपण गर्दै व्यापारलाई राजनीतीकरण गरिरहेको छ। यस्तो दोहोरो मापदण्डले उसलाई बहुपक्षीय व्यापार प्रणालीको कमजोर साझेदार बनाइरहेको छ। चीनलाई "आर्थिक शत्रु" ठान्ने भ्रमले क्यानाडालाई अन्तर्राष्ट्रिय रूपमा झन् कमजोर बनाउनेछ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँगको व्यापारिक सम्बन्ध क्यानाडाको दीर्घकालीन हितमा छ। चीनसँगको सहकार्यले क्यानाडाका आर्थिक आवश्यकताहरू पूरा गर्न सक्दछ, जबकि चीनविरुद्धको नीति अपनाउँदा क्यानाडा झन् असहज अवस्थामा पुग्नेछ।

 क्यानाडाले कुन दिशा लिने भन्ने अझै अनिश्चित छ। तर, इतिहासले बारम्बार देखाएको छ कि महाशक्तिहरूको रणनीतिक स्वार्थलाई आधार बनाएर विदेश नीति निर्माण गर्दा परिणाम दुःखद हुन्छ। क्यानाडाको भविष्य वाशिङ्टनका बैठक कोठाहरूमा नभएर ओटावाको रणनीतिक सचेतनतामा निर्भर छ। चीनसम्बन्धी मुद्दाहरूलाई उपकरणका रूपमा प्रयोग नगरी, वस्तुनिष्ठ र व्यावहारिक दृष्टिकोण अपनाउँदै, बहुपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्ने नीति नै क्यानाडाको साँचो राष्ट्रिय हितमा हुनेछ।