Advertisement Banner
Advertisement Banner

२८ बुधबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

Image

हाइटीकाजस्ता ‘बेबी डक’हरू किन यति धेरै ?

राजन कार्की

२९ मंगलबार , माघ २०८१एक महिना अगाडि

हाइटीकाजस्ता ‘बेबी डक’हरू किन यति धेरै ?

हाइटीका जसता बेबी डकहरू छ्यासछ्यास्ती देखिए लोकतन्त्रमा । नीति र सिद्धान्त, नैतिकता र आरचणले चल्नुपर्ने लोकतन्त्र मार्ने काम बेबी डकहरूले गर्न थालेका छन् ।
विश्व समाचार बनेका प्रचण्ड सिद्धान्त र नैतिकतामा पछारिन १८ वर्ष  लाग्यो । प्रचण्डसँग बिस्तारै राजनीतिक जीवन पनि मर्दै गएको देखिन्छ । प्रचण्डका सहयोगी विप्लवहरू जनयुद्ध भन्दै हराएर गए, बैद्यहरू घाटे बैद्य बनेका छन् । बाबुरामहरू गोरखा कि गोरखपुरका छुट्याउनै नसकिने भए । गिरिजा बिते, शेरबहादुर कहिले माओवादी, कहिले एमालेको लौरो टेकेर प्रजातान्त्रिक सिंहदरवारको आँगनमा द्यौसी खेलिरहेका छन् । बहुदलीय जनवाद धनवाद भयो । जबज सत्ताबादी बन्यो । कांग्रेस आफ्नै खुट्टामा उभिनै नसक्ने स्थितिमा छ । चित्रबहादुर अमूर्त चित्र बने, मधेशवादी क्षेत्रीयतामै रमायो । नयाँ पार्टीहरू जुनकिरी पनि बन्न सकेनन् ।
स्थिति यस्तो छ, जो राजनीतिमा छन्, तिनीहरू राजनीतिलाई दुभालिएरको दुन्दुभी बनाएर बजाइरहेका छन् । 
बुलेट क्रान्ति ब्यालेट क्रान्तिमा भ्रष्टाचार डकारिरहेको छ । तिनमा सुगन्ध छैन, गन्दकीमात्र गनाउँछ । यद्यपि बुलेटको धङ्धङ्गे स्वर सुनिन छाडेको छैन । धन र बाहुबलीको हकार पनि बेला बेलामा सुनिन्छ ।
प्रजातान्त्रिक स्वर सभापति देउवाजस्तै मौन छ । उनका सेनाबेना गर्जन्छन्, भ्रष्टाचार लुकाउन मात्र । सूर्य खुब तेजिलो थियो, अस्तायो, अहिले फेरि कांग्रेसको बलमा उदाएको छ ।
ससाना पार्टीहरू मच्चिएका थिए, थच्चिन पुगेका छन् । तिनीहरूले राष्ट्र र जनताको भार बोक्ने छाँट देखिन्न । तिनीहरूले आफ्नै एजेण्डा पनि बोकेका छन् कि छैनन् ? प्रश्न उठेको छ ।
चुनाव भएपछि सरकार बन्छ, संसद रहन्छ । संसदले कानुन बनाउँछ, सरकारले लागू गर्छ । जसले कानुन मिच्छ, उसमाथि कानुनले कारवाही गर्नुपर्ने हो । नियमन र सन्तुलनका लागि खडा भएका संवैधानिक निकाय चलायमान हुनुपर्ने हो । सबै सुतेका छन् । भ्रष्टाचारमा सबैको मिलेमतो छ । राजनीति जता पनि छिरेको छ, अपराधिकरण भएको छ ।
यसकारण सिद्धान्त, नीति र नैतिकता भन्ने सवाल स्यालको सिङ् बनेको छ ।
यसरी लोकतन्त्र कति दिन चल्छ ?
कानुन उदासिन हुनपुग्यो । जनताले दण्डदिनुपर्ने हो । जनतालाई पार्टी पार्टीमा बिभाजित गरेर नेताहरूले आफूलाई सुरक्षित कवचमा पारेका छन्, जनताको बंकरमा आफूलाई सुरक्षित ठानेका छन् । ठान्न त श्रीलंका अथवा बंगलादेशका शासकले पनि सुरक्षित ठानेका थिए । अन्ततः देशै छाडेर भाग्नुप¥यो । ज्यान बचाउन धौधौ अवस्थामा पुग्नुप¥यो ।
अति भयो अब पार्टीका हुन् कि असंगठित नागरिक हुन्, सबैले  भ्रष्टाचारीलाई बिदा गरेर स्वतन्त्र र सक्षमलाई स्वागत गर्न साहस देखाउनै पर्ने समय आयो । स्थापित नेतृत्वले केही गर्ला्न् कि भन्ने आशा म¥यो । जनयुद्ध जनआन्दोलनले देखाएको सपना, प्रजातन्त्र र जनवादले छरेको आशा सबै मरिसक्यो । समाजवाद, जनवाद, समानता भनेको त भ्रममात्र रहेछ भन्ने साबित भइसक्यो । राजनीति व्यवसाय बन्यो ।
काम राजनीति, अरू पेशा केही छैन । तर हरेक नेता करोडीमल, अर्वपति, खर्बपति कसरी बने ? यो प्रश्न सबैभन्दा पेचिलो प्रश्न हो । यतिमात्र होइन, कालोधनलाई स्वीस बैंकमा समेत राखिएको छ । यो सबै धन देश लुटेको धन हो । यसकारण पनि भ्रष्टाचारको न्यायिक छानबिन हुनैपर्छ, तबमात्र लोकतन्त्रको जग मजबुत हुनेछ । अन्यथा लोकतन्त्र कुनै पनि बेला जनहावाले उडाइदिने खतरा बढेर गएको अनुभूति हुँदैछ ।
सबै नेपालीमा चेतना रहोस्, चुनावका माध्यमबाट करोडीमल बनेका अनैतिकहरू हाइटीको ‘बेबी डक’को अवतार बनिसकेका छन् । बेबी डकका अवतारहरू लोकतन्त्रलाई स्वार्थका लागि मात्र उपयोग गर्छन् ।
नेशनल युनिटी पार्टी, हाइटीको ‘बेबी डक’ जीन क्लाउड दुभालियर जसले १९७१ देखि १९८६ सम्म १५ वर्ष हाइटी र जनतालाई लुट्नुसम्म लुटे । जनताको बिद्रोहबाट तर्सेर उनी देश छाडेर भागे । फ्रान्समा समेत उनीमाथि मानवाधिकार उल्लंघन गरेको आरोप लागेपछि उनी हाइटी आउन बाध्य भए । हाइटीका अधिकारीहरूले उनीमाथि मुद्दा चलाए । उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो, जेल चलान गरियो । अन्ततः उनी सन २०१४ मा जेलमै मरे । आज पनि हाइटी र विश्वजगतमा दुभालिएरलाई साह्रै बदनाम नेताका रूपमा घृणा गरिन्छ ।
स्थापित नेताहरूले यो इतिहास पढ्न जरूरी छ । यिनको पनि यस्तै दिन आउनसक्छ । किनकि जनतामा जागरूकता आउन थालेको छ ।
२०६३ सालको जनआन्दोलनबाट नेपालमा परिवर्तन भयो । यो परिवर्तनपछि जे भयो, नेतातन्त्र मात्र भयो । जे गरियो, भ्रष्टाचारमात्र गरियो । नीति, सिद्धान्त, नैतिकता राजनीतिमा केही बाँकी रहेन । शासन प्रशासन यिनकै हालीमुहालीमा गयो ।
समाजवादी र जनवादी, समाजवादी र जबजवादी अनेक सरकार बने । १८ वर्षमा १४ सरकार बन्यो । अझै भाग शान्ति जय नेपालमै छ लोकतन्त्र । नेपालको लोकतन्त्रमा जो नेतृत्वदायी भूमिका निभाइरहेका छन्, कुनै नेता सम्मानित छैनन्, सबै भ्रष्टाचार र अनैतिकताले बदनाम भएका छन् । कुनै एउटा नेताको अभिव्यक्ति तिनका कार्यकर्ताले मात्र सुन्छन् । देशले सुन्नैपर्ने एकजना नेता पनि छैनन् । देश अभिभावकविहीन बन्यो ।
देश हो । देश खोजेर पाइन्न, देश रोजेर पाइन्न । देश भाग्यले पाइन्छ । नपत्याए शरणार्थीलाई सोध । युएनएचसीआरको रेकर्ड भन्छ– भुटानी, रोहिंग्याजस्ता जबरजस्ती बिस्थापितको संख्या ८९.३ मिलियन छ भने शरणार्थीको संख्या २७.१ मिलियन छ । यसमा रूस र युक्रेनको युद्ध र अन्य कारणले शरणार्थी बनेका कति छन् कति ?
आफ्नो भन्ने माटोमा उभिनुको गौरव नै अर्कै हुन्छ । त्यो गौरवबारे प्यालेस्टाइन पढ, आफ्नो देशको महत्व कति हुन्छ । १५ नोभेम्बर १९८८ मा अल्जियर्समा पीएलओका तत्कालीन अध्यक्ष यासेर अराफातले प्यालेस्टाइन राज्यको स्थापनाको घोषणा गरेका थिए । १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको एकवर्षपछि पश्चिमी किनार र गाजापट्टी समावेश गरेर शासन गर्न गठन गरिएको थियो । पालेस्टाइन आज पनि इजरायलबाट प्रताडित भइरहन्छ । प्यालेस्टाइन, एक डि–जुर सार्वभौम देश, इजरायलसँग सार्वभौमसत्ता विवादमा छ । १९४७ मा राष्ट्रसंघमा मतदान भयो, १९४८ मा युद्ध छेडियो र प्यालेस्टाइन स्वतन्त्रता घोषणा गरियो । तर आज पनि आफ्नो देशका लागि इजरायल र प्यालेस्टाइन युद्ध–तनावमा छन् । २०११ मा राष्ट्रसंघको सदस्यताका लागि निवेशन दिएको प्यालेस्टाइनले भर्खर पर्यवेक्षकसम्मको मान्यता पाएको छ । विश्वशक्ति अमेरिका, इजरायल, युरोपेली देश स्वायत्त भूराजनीतिक संस्थामात्र मान्छन् । प्यालेस्टाइन विश्व समाजमा छुट्टै निकाय हो, जसको पीडा धेरै गह्रुङ्गो छ ।
नेपाल सभ्यताको विकास भएदेखि स्वतन्त्र देश । अमेरिकाभन्दा ८ वर्षले जेठो मुलुक । यो मुलुकमा लोकतन्त्र छ, लोकतन्त्र नै देश सिध्याउने पद्धति हुनपुगेको छ । कारण, लोकतन्त्रका जो जो नेतृत्वमा छन्, तिनीहरूलाई देशप्रति गर्व छैन । तिनीहरूमा नीति, सिद्धान्त, लोकलज्जा छैन । पुर्षा र माटोप्रति गर्व गर्दैनन् । राष्ट्रको माटोलाई धुलो सम्झन्छन्, राष्ट्रिय झण्डालाई एक धरो थोत्रो कपडा सम्झन्छन् । २ सय वर्ष अंग्रेजको गुलाम बनेर १९४७ मा स्वतन्त्र भएको भारतलाई थाहा छ, स्वाधीनता र सार्वभौमिकताको महत्व । त्यही भारत नेपाललाई आफ्नो सुरक्षा छातामुनी राख्न चाहन्छ । नेपालको अस्तित्वमा धावा बोल्नेहरूको लोलीमा बोली मिसाउन अग्रसर वर्तमान नेतृत्व नेपालको अस्तित्वको दुश्मन बनेको छ ।
वीर बिराङ्गानाले निर्माण गरेको राष्ट्र केही पार्टी र नेताको सत्ता र शक्ति स्वार्थको बली चढ्न थालेको छ ।
लोकतन्त्र छ, भ्रष्टाचारमा डुबेको छ । बाघको अनुहार पर्दैमा बन बिरालो कहिल्यै बाघ हुँदैन भनेको यही हो ।
हाम्रा नेताहरू जसरी पनि चुनाव जित्ने, शासन गर्ने, शक्तिशाली बन्ने, हैकम चलाउने अवसरवादी चरित्रमा रत्तिएका छन् । जनादेश होइन, षडयन्त्र यिनको शक्ति बनेको छ ।
देशको भूमिकाका लागि, सार्वभौमिक अधिकारका लागि दिल्ली सम्झौताको विरूद्ध ००७ सालमा डा. के. आई. सिंहले बिद्रोह गरेका हुन् । मातृकाप्रसाद कोइरालाका अनुसार नेपालको अनुमति नै नलिई दुईपल्ट भारतीय सेना नेपालमा पस्यो । भीमदत्तको हत्या भारतीय सेनाले गरेको हो । भीमदत्तलाई मारेपछि भारतले कसैलाई नेपाली राष्ट्रवादको प्रतीक भएर उठ्नै दिएन । भीमदत्तपछि महेन्द्रले राष्ट्रवादी युद्ध लडे, २०२८ सालपछि महेन्द्रजस्तो अर्को नेता जन्मिन सकेन । यसकारण लोकतन्त्र विदेशीले उभ्याइदिएको बुख्याँचा मात्र बन्यो ।
नालापानीको युध्द लड्दा युध्द मैदानबाट गुञ्जिएको थियो ः ‘यो नेपाली शिर उचाली...’ भन्ने युद्धगीत । यो गीत लोकतन्त्रले प्रतिगामी सूचीमा राखेको छ, रेडियोमा बज्दैन । भारतको दास बनिसकेको नेपाली राजनीतिको मूलनीति भनेको भारतलगायतका शक्तिराष्ट्रको इसारामा चल्ने, लम्पसार पर्ने, सत्ताधारी बन्ने, शक्तिशाली हुने मात्र हो । केही वर्षदेखि उत्तर र पश्चिमाले पनि नेता नचाउन थालेका छन् । यही हो हाम्रा नेताहरूको राष्ट्रियता । विश्व रङ्मञ्चमा सवल नेपाल नीति र विश्वसनीयतामा झन झन कमजोर बन्दै गएको छ ।
राजनीतिक मैदानमा नेपाल मेरो देश हो, मेरो देशको सीमा यति हो भन्न सक्ने कुनै नेता नै छैनन् । यिनका लागि देशभन्दा माथि यिनको सत्तास्वार्थ छ । व्यक्ति स्वार्थमा लोकतन्त्र चल्दैन ।