नेपाली सेनाभित्र नैतिकपतनका श्रृंखला सुरु भएका छन्। रुकमांगद कटवालको आत्मकथा, विवेक शाहको मैले देखेको दरवारपछि छत्रमान सिंह गुरुङले जनताको छोरो आत्मवृतान्त लेखे। लेख्नु राम्रो कुरा हो। यिनको लेखनीले देशलाई मार्गदर्शन र जनतालाई लाभ भयो कि भएन? यिनले देश र जनतालाई दिन खोजेको के हो? यिनको लेखनीले मनको तीतो पोख्ने, एकदोस्रालाई गालीगलौज र अपमानित गर्ने र पदमा रहदाका अवस्थामा गरेका कामकारवाहीका गोपनीयता भङ्ग गर्नाले सैनिक अनुशासनमाथि ठूलै प्रश्नचिन्ह तेर्सिएको छ। तत्कालीन माओवादी रुचीमा परेका र प्रचण्ड सरकारबाट प्रधानसेनापतिको पत्र बुझेर पनि प्रधानसेनापति बन्न नसकेका कुलबहादुर खड्का हौसिएर अव म लेख्छु कटवालको तथ्य कथा भन्दै अग्रसर भएका छन्।
कूलबहादुर खड्का नेपाली सेनाको इतिहासमा र नेपालको राजनीतिक एउटा कालखण्डमा भिलेनका रुपमा परिचित पात्र हुन्। यिनी देशका भिलेन हुन् कि सैनिक प्रतिस्पर्धामा टिक्न नसकेका पात्र, तर एउटा सैनिक जीवनभर सैनिक नै रहन्छ, अनुशासित हुन्छ भन्ने मर्यादा भङ्ग हुनपुगेको छ। यो ल्याङ्फ्याँङ्े स्थितिलाई कावुमा राख्ने र सैनिक अनुशासनको मर्यादा टिकाउने जिम्मा अव प्रधानसेनापति राजेन्द्र क्षत्रीको जिम्मामा आएको देखिन्छ।
नेपाली सेनालाई कहिल्यै राजनीतिको चस्का लागेन। जनताको नमक खाएको सेना सदैव देश र जनताप्रति जिम्मेवार छ। सत्य यही हो। सुरक्षाविदहरुसमेत सेनाभित्र पदीय मर्यादा नाघेर आङ कन्याएर छारो उडाउने जुन नकाम गरिरहेका छन्, त्यसप्रति जंगी अड्डा गम्भीर हुनैपर्छ।


