
वीरगञ्ज भन्सारसँग जोडिएको ५० बिगाह नेपाली भूभागको लालपूर्जा नेपालीसँग छ, जग्गा भारतले खाइदियो । पर्सा १ मा पर्ने नेपाली जग्गा भारतमा पारेर पिलर ३९१ र ३९२ खडा गरियो । यसमा संयुक्त सीमा सर्भेक्षकमा खटिएका नेपाली सर्भेयरसमेत भारतसँग मिलेको बताइने गरेको छ ।
सन २०१८ को संयुक्त नापी हुँदा नेपाली भूभाग भारतमा पारिएपछि हालसम्म पनि कुनै दल वा नेताले यसबारेमा बोलेका छैनन् । हुन त कालापानी, लिपुलेक, लिम्पियाधुरा नै भारतको नक्सामा हाल्दा र लिपुलेकबाट चीन र भारतले व्यापार गर्ने, कैलाश मानसरोवर जाने राजमार्ग नै खोलिसक्दा पनि नेपालले एकशब्द बोलेको छैन । यस्तो राजनीति र सरकार, जनप्रतिनिधि र नागरिक समाज, बुद्धिजीवी र चिन्तक भएका मुलुकको अस्तित्व यसैगरी बिनष्ट हुँदै जानु कुन नौलो कुरा भयो र ? यसै यसै गरेर भारतको बिस्तारवाद नीतिले नेपालमाथि हैकम स्थापित गर्दै गएको छ । स्वराज र सार्वभौमिकताका विषयमा सरकार बेपर्वाह हुनु चिन्ताको विषय हो ।