Advertisement Banner
Advertisement Banner

२९ बिहिबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

Image

जनता नउठ्दासम्म किर्नाहरूले रगत चुसिरहनेछन् ।

राजन कार्की

२० आइतबार , माघ २०८१एक महिना अगाडि

जनता नउठ्दासम्म
किर्नाहरूले रगत चुसिरहनेछन् ।

जनता नउठे जुका, किर्नाहरु चुसिरहन्छन्
वर्तमान नेतृत्वबाट देश नचल्ने भयो । यिनले देशलाई एउटा निश्चित दिशा दिन असफल भए । देश जिवन्त हुनुपर्छ, समाज जिवन्त हुनुपर्छ, देश छ, समाज छ, जिवन्तता छैन ।
देशमा अराजकता छ । शासनप्रति जनताको विश्वास छैन । जनताकै भरविश्वास नभएको शासनको के अर्थ ?
हो, स्थापित नेतृत्व जतिसुकै असफल भए पनि तिनलाई जागीर हुनसक्छ । राजनीतिमा जागीरेपनले समाज परिवर्तन गर्न सक्दैन । जागीरेपनले नेता, तिनका परिवार र आफ्ना गुटलाई लाभ हुनसक्छ । बहुदल र लोकतन्त्रमा भएको यही हो । देश कमजोर हुँदै गयो, जनता निराश बन्दै गए, सँगसँगै लोकतन्त्र रहेन ।
उही बुढोपुस्ता रजगज गरिरहेको छ । नयाँपन केही छैन । जब नयाँ केही हुन्न, देश डाँडाबाट खँगारिन्छ ।
समयले कसैलाई पर्खदैन । समय अगाडि बढिरहन्छ । लोकतन्त्र न अगाडि बढ्यो, न स्थिर रह्यो । लोकतन्त्र त विधिबिहीन बनेर पश्चगमन गइरहेको छ । यसको अर्थ लोकतन्त्रजस्तो पद्धति चलाउन सकेन यो नेतृत्वले ।
सबै समस्याको जड पञ्चायत भनियो, पञ्चायत फालेपछिको बहुदल झन समस्याको पहाड बन्यो । बहुदलभन्दा लोकतन्त्र ठिक भनेर राजतन्त्रलाई किनारा लगाइयो । लोकतन्त्रमा नेतृत्व समस्याको जड साबित हुनपुग्यो । वर्तमान कालखण्डमा समयले उभ्याएको प्रश्न भनेको– राजा कि बहुदल, बहुदल कि लोकतन्त्र ? धर्म कि धर्मनिरपेक्षता ? यो नेता कि ऊ नेता ? यो चुनाव कि त्यो चुनाव ? भन्दा भन्दै बहुदलपछिको ३६ वर्ष, लोकतन्त्रपछिको १८ वर्ष भइसक्यो । लोकतन्त्र लाइनमा आएन । लोकतन्त्र भाँडिएको होइन, नेतृत्व भाँडियो । लोकतन्त्र बदनाम भयो ।
त्यसै पनि नेपाल दण्डहीन मुलुक भनेर बदनाम छ । भ्रष्टाचारको जगजगी भनेर बदनाम छ । नैतिकहीन शासक प्रशासक भएको देश भनेर बदनाम छ । अब लोकतन्त्र नै बदनाम गर्ने मुलुक भनेर चिनिएको छ । यो नेतृत्वबाट देश असफल हुने पक्का छ । के गर्ने ? यसको निर्णय अन्तिम शक्ति जनताले निर्णय गर्नुपर्ने समय आएको विश्लेषण आन्तरिक बाह्य दुबैतिर गर्न थालिएको छ ।
नीति र नैतिकता नहुनु भनेको असफलता हो । भ्रष्टाचारी, अनैतिकहरू दण्डित हुँदैनन् भने कानुनव्यवस्थाको अर्थ रहन्न । वर्तमान पुस्ता भ्रष्ट र देश तथा जनताप्रति बेइमान बनेकोले तिनलाई दण्ड दिनैपर्छ । तव न भावी पुस्ताले आफू पनि दण्डित हुने भय मान्छ र इमानमा बस्छ, नैतिकवान हुन्छ र जवाफदेहीता लिन्छ । हत्या बलात्कार, भूमाफिया र कमिशनका ठूला ठूला काण्डहरूलाई ढाकछोप गर्ने प्रवृत्तिले देशलाई अराजक र खोक्रो पारिसक्यो । जुन दिन नैतिकहीनहरूलाई दण्ड दिने बलियो बिधिको शासन बस्नेछ, त्यसदिन देखि शासन र प्रशासन जनमुखी हुनेछ । देशको बलियो जग बस्न थाल्नेछ । आज नेपालको जग हल्लिएकै कडा बिधिबिहीनताले हो । नेतृत्वमा इतिहास निर्माण गर्ने भोक नै छैन ।
जनतालाई उज्यालो देखाउने नाममा देशैलाई अँध्यारो पार्नेहरू लोकतन्त्र लोकतन्त्र भनिरहेका छन् । वास्तवमा नेपालमा जोकतन्त्र चलेको छ । स्वदेशी न विदेशीहरू, पैसा भए नेपालमा जे पनि गर्न सकिन्छ भनेर हाँसिरहेका छन् । यो जोकतन्त्र नभए के हो ? बौद्धिकतासमेत दास मनोवृत्तिमा रमाउन थालेपछि देशको यस्तै बेहाल हुन्छ, नेपाल बेहाल भोगिरहेको छ ।
शहिदहरू स्वाभिमानका लागि हाँसी हाँसी छातीमा गोली थाप्छन् र देशका लागि मर्छन् । देशका लागि राजनीति गरेको भन्नेहरू जो छन्, ती निकृष्ट छन् किनकि तिनले उत्कृष्ट केही पनि गरेनन् । शहिदको सम्झना गरिन्छ, सद्भाव र सम्झनाका फूलका हकदार हुन्छन्, वर्तमान नेतृत्वपङ्क्ति भन्नेहरूले मलामी पाउनसमेत मुस्किल छ । ४६ सालपछि जति नेता बिते तिनमा सम्झना कि त कृष्णप्रसाद भट्टराईको गरिन्छ, कि मनमोहन अधिकारीको । अरू को छन्, जसलाई आमनागरिकले श्रद्धाको फूल चढाउँछन् ? नेतृत्व तप्का जो पाखण्डमात्र प्रदर्शन गरिरहेका छन् । अव त वाल्मिकी बन्लान्, अव त वाल्मिकी बन्लान् भनेका रत्नाकरहरू भाषणबाजीमा बदलिए, सोच र व्यवहारमा कहिले पनि बदलिएनन् । अहिलेका कुनै नेता वर्तमान अथवा भावी पुस्ताका लागि सम्झन लायक उदाहरण बनेनन् ।
जसले नेपालको अस्तित्वलाई ब्रम्हनालमा पु¥याइसके, तिनको गणना मित्रमा होइन, शत्रुमा गर्न‘पर्छ । तिनलाई देशभक्तमा होइन, देशघातकको सूचीमा राख्नुपर्छ । चुनाव जित्नु, सत्तामा पुग्नु, व्यभिचार गरेर शक्तिशाली हुनु भनेको अमर हुनु होइन । त्यसै उखान बनेको छैन– कायरहरू पल पल मर्छन् । बाँचेको देखिने हाम्रा नेताहरू पल पल मरिरहेका छन् । तिनीहरूको भौतिक शरीर सिद्धिएको दिन, तिनको नामनामेसी तिनका आफ्नै परिवारजन, बंशजले समेत सम्मानले लिने छैनन् ।
सम्मानित हुनका लागि मान्छेको मन जित्नुपर्छ, मान्छेको मन जित्नेले संसार जित्छ । तक्षशीलासमेत जित्ने महावली रित्तै हात फर्किए । भारतका चक्रवर्ती महाराज लुम्बिनीमा आएर बौद्धमार्गी बन्नुप¥यो । ती हुन् सम्राट अशोक । नेपालका सम्पत्ति अशोकहरूले के जिते । पैसा र सत्ता जित्नु के जित्नु ? नेपालीको मन, विवेकले तिनलाई सम्मान गर्दैनन्, किनकि तिनले नेपाली माटोमा उभिएर माटोप्रति नै गद्धारी गरे ।
स्वाभिमानले बाँच्छ देश । आज पनि हिटलरको मुर्खताले लज्जित हुनेगर्छ जर्मन । भारत अंग्रेजले सिकाएको फुटाउ र राज गरको नीतिमै भुलिरहेको छ र नेपालमा यही नीति लागूगरेर अस्तव्यस्त पारिरहेको छ । नेपालमा लोकतन्त्र ल्यायौं भनेर मरीमरी हाँस्छन् नवबास्साहरू । देशलाई द्रौपदी बनाउनेहरूले बुझ्नैपर्छ, सम्प्रभूताको मूल्य पद, पैसा र व्यक्ति प्रतिष्ठा हुनसक्दैन । देशभित्रै कौरव चरित्र बढ्नु र त्यसमा विदेशी दुशासनहरूले मनपरी गर्न‘ भनेको वीरहरूले जोडेको मुलुकमा कायरहरूको शासन पो आएछ भन्ने प्रमाण हो । जनता मूर्ख छैनन्, नेपाली साह्रै देशभक्त छन्, देशको सम्प्रभूता जनताले बचाउँछन् ।
नेपाल सम्प्रभूतायुक्त छ, त्यही आर्जनले सत्ता बनायौं, सत्ताले संविधान बनायो, संविधानले सरकार बनायो । हाम्रो सरकारसँग सम्प्रभूतायुक्त नेपालको सरकारले देशको राजनीतिक नक्सासमेत बनाउन सकेन । कत्रो बिडम्बना ? यही कमजोरीको फाइदा उठाएर पश्चिमाहरू नेपालमा आइरहेका छन् । दक्षिण एसियामा र खासगरी नेपालमा भारतीय चक्रव्यूह झन झन बढेर गएको छ । नेपाली नेताहरू स्वार्थी भएको प्रमाणित गरेपछि दक्षिणाले कालापानी, लिपुलेक, लिम्पियाधुरामात्र होइन, कञ्चनपुरमा ९ सय बिगाह जमिन खाइसक्यो । ६७ ठाउँमा सीमा अतिक्रमण गरेकै छ । शासन प्रशासनमा उसकै हैकम चल्न थालिसकेको छ । वीरले देश बनाए, लोकतन्त्रे कायरहरूले देश बर्बाद पारिदिए । लोकतन्त्र नेताहरूका लागि लखनौं लुट मच्चाउने अवसर बन्नपुग्यो ।
नेपालमा भारतीय कुटिलतसहितको हैकमवादी प्रवृत्तिकै प्रमाण हो– नेपाली भूमि कालापानी, लिपिलेक र लिम्पियाधुरासम्म पनि भारतले आफ्नो राजनीतिक नक्सामा हाल्यो । अहिलेसम्म नेपाललाई अधीनमा राख्न खोजिरहेको भारतले अव नेपाल खानकै लागि अतिक्रमण तीब्र पारेको छ । यसकारण नेपाली जागरूकता जरूरी छ ।
१९५० को सन्धि समेत फेर्न सकेन स्वतन्त्र नेपालले । प्रवुद्ध समूह गठन गरेर भारतले नेपाललाई फनफनी घुमाइदियो । त्यो रिपोर्ट बुझेर सार्वजनिक गर्ने साहस समेत छैन हाम्रो नेतृत्वसँग । मानौं, हाम्रो नेतृत्व हामीलाई डस्ने सर्प हो र यो सर्प विदेशी गरूडको छायाँमा लाटोबुङ्गो बनेर चुमुर्किन बाध्य छ । नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रहरूमा विदेशीले हान्दै गएको बाघपञ्जा हेर्दा नेपाल रक्तपात र बिघटनतिर गइरहेको छ । जनता भयभित बन्दैगएको छन, नेतृत्व केही भएको छैन भनेजस्तो गरेर चुपचाप छ । समयको आहट बुझ्ने बुझकीहरू नेपालको असफलताबाट अस्तित्व संकटमा परिसक्यो भन्छन् ।
नेपाली आकाशमा पहिले भारतीय बिस्तारवाद थियो, अव साम्राज्यवाद हावी हुनथालेको छ । रूस र चीनलाई घेर्ने थलो पनि नेपाली भूमि बनिसकेको छ । महाभारतको युद्धमा द्रोणको चक्रव्यूह चिर्न अर्ज‘नको साहसी रथ धारिलो तीर बनेर कमानबाट निस्केको थियो । नेपाल स्पाती एकताशक्ति नबन्ने हो भने विदेशी चक्रव्यूहबाट नेपाल निस्कन अव मुस्किल छ । भूमरीमा परिसकेको छ नेपाल ।
भारतवर्षको इतिहासमा औरङ्गजेव भन्ने महारथी पनि थिए । देशघातक बनेका अव्जल खानलाई उनले बाग्न्याक (काँडे कोर्रा) घोपेर सजाय दिएका थिए । नेपालविरोधी आन्तरिक खेताला र बाह्य मालिकहरूको दिनदिनैको धावा बाक्न्याकभन्दा कम छैन, देश घायल हुँदै गएको छ । यो नेपालविरोधी सुनामी रोक्ने रानजीतिक ताकत छैन, छेक्ने फुटाइएका नेपाली जनजनले नै हो ।
स्वाधीन राष्ट्र नेपालीले निर्माण गरे । स्वतन्त्रता नेपालीको मुटुदेखिको चाहना हो । यो माटो, हावा, पानी, हिमाल, पहाड, तराई नेपालीको छाती हो, नेपाली यहीँ उभिएका छन्, बाँचेका छन् । अरू राष्ट्र सार्वभौम भएर बाँच्न सकेको ती देशका नेतृत्व र जनता देशभक्त भएर हो । नेपालसँग सबै छ, नेतृत्वमा इमान नहुँदा समस्या बढेको हो ।
नेतृत्वले धोका दियो, नेतृत्व अविश्वसनीय भयो । तिनलाई दण्ड दिन बिधिले सकेन । यस्ता जनघातक तत्वहरूलाई दण्ड दिन जनता अग्रसर हुनुपर्ने भएको छ । अवसर जनताको अग्रसरताबाट आएको थियो, अवसरको दुरूपयोग गर्नेहरूलाई दण्ड जनताले नै दिनुपर्छ । दण्ड दिनका लागि जनता विद्रोहमा उठ्नुपर्छ । जनता नउठ्दासम्म किर्नाहरूले रगत चुसिरहनेछन् ।