Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

लोकतान्त्रिक नेतृत्व भ्रष्टाचारमा बिजयी

राजन कार्की

१० बिहिबार , माघ २०८१२० दिन अगाडि

लोकतान्त्रिक नेतृत्व भ्रष्टाचारमा बिजयी

जो नर्कलाई स्वर्ग भनिरहेको छ, राजनीतिक अधर्मलाई धर्म मानिरहेको छ, कलंकलाई अँगालिरहेको छ, ती नेताहरूलाई के भन्ने ? दयामात्र गर्न सकिन्छ । यो परिवर्तनकारी नेतृत्व होइन रहेछ, भ्रष्टाचारको पोखरी पो रहेछ ।
विद्वानहरूले भनेका छन्– विजय उसैलाई प्राप्त हुन्छ, जो विजयी हुने साहस राख्छन् । सायद यही विषयमा हेलेन केलरले लेखेका थिए– अन्धो हुनु नराम्रो हो तर आँखा भएर पनि नदेख्नुृ झन खराब हो । त्यसपछि मान्यता बसेको हुनुपर्छ– अमर हुन रहर गर्नेले आफूमा भएको खुबी देखाउनु पर्छ ।
हाम्रा नेताहरूमा परिवर्तनको भोक, नेतृत्वमा हुनुपर्ने त्याग र बलिदान केही पनि रहेनछ, यिनीहरू भ्रष्टाचारको भाइरस बनेर राजनीति गरिरहेका छन् । यसकारण हाम्रो नेतृत्व घृणा बनेको छ ।
परिवर्तन खोजेको हो, जे जसरी होस् परिवर्तन ल्याउन सफल भए, यसमा राजतन्त्रले जनइच्छा परिवर्तन नै हो भने स्वीकार छ भनेर सघाएकै हो । तर परिवर्तनको १८ वर्षको परिदृश्यको आधारमा भन्न सकिन्छ– परिवर्तन गर्न रहर गर्नेहरूमा विजय कायम राख्ने ल्याकत देखाउन सकेनन् । देशलाई असफलतातिर उन्मुख गराइरहे ।
१८६९ मा प्रकाशित वार एण्ड पिसका लेखक लियो टल्सटोय लेखेका थिए– समाजमा हल्ला गरेर, कराएर, गुनासो गरेर, निन्दा गरेर, पार्टीहरू खोलेर, आन्दोलन गरेरमात्र सुधार हुनसक्दैन । त्यसका लागि भावनाको जागृति र विचारहरूमा प्रगतिको आवश्यकता पर्दछ । हाम्रा नेताहरूमा त्यस्तो गुण केही देखिएन । यसकारण स्वराज र स्वाधनीतामा प्रश्न उठेको छ ।
जुन नेता राष्ट्रलाई प्रेरणा दिन्छ, जनताको अपेक्षा पूरा गर्छ, त्यो नै महान नेता हो । यस दृष्टिमा हामीसँग एकजना पनि नेता छैनन् । किनभने वर्तमान र भावी पुस्ताका लागि कुनै नेता प्रेरणाका स्रोत बन्न सफल भएनन् । जनता मात्र निर्वाचित सरकार जन्माउने अजिव लाग्ने चुनावी कारखाना बनेका छन् ।
२०३७ सालमा जनतालाई बहुदल चाहिएको हो कि पञ्चायतको सुधार भनेर जनमत सङ्ग्रह गराउने राजाले २०४६ सालमा दलमाथिको प्रतिवन्ध हटाइदिए । दुबै पल्ट राजा भारतले नेपालको सुरक्षा र परराष्ट्र माँगेको थियो, राजा जनतासँग झुके । स्वराज जोगियो । स्वाधीनता बाँच्यो । तर हाम्रा नेताहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय शासन स्थापित भइसक्दा पनि बोल्न सक्दैनन् ।  नेपालको स्वराज पराधीन बनाए ।
२०५२ साल फागुन १ गतेदेखि १० वर्ष लामो जनयुद्ध सुरू गर्ने माओवादी दिल्लीमा १२ बुँदे सम्झौता गरेर जनआन्दोलनमा मिसिन आइपुग्यो । यसपछि बहुदलको नाम फेरेर लोकतन्त्र राखियो । यतिखेर पनि भारतले नेपालमाथि प्रत्यक्ष नियन्त्रण खोजेको थियो, २०६३ साल वैशाख ११ गते राजाले संसद पुनस्र्थापना गरिदिएपछि एकपल्ट फेरि स्वराज बाँच्यो, स्वाधीनता जोगियो । त्यसपछि लोकतान्त्रिक नेतृत्वले देशलाई मैनबत्ती पग्लेसरह पगाल्दै लगेका छन् ।
राजतन्त्रलाई किनारा लगाएर धर्मनिरपेक्षता र संघीयतासहितको संविधान जारी गरियो । यो संविधान दुई आवधिक निर्वाचनपछि नै कागजको खोस्टो बनिसक्यो ।
परिवर्तन हामीले ल्याएका हौं भन्ने महारथीहरूकै शासन छ, तिनले ल्याएको पद्धति नै चलेको छ, जारी गरेको संविधान छ तर देशका लागि सतिसालको मूलथाम बनेर नेतृत्व चट्टान जसरी उभिन सकेनन् । २०६२ सालको १२ बुँदे दिल्ली सम्झौताले आतंककारी र प्रजातान्त्रिकतालाई बनाएको रसायन भनेको लोकतन्त्र हो, जति पनि नाङ्गिन सक्ने, नङ्ग्याउन सक्ने, देश र जनतालाई नाङ्गेझार पार्न सक्ने लोकतन्त्र बन्यो । यो समाजवाद र सर्वहारीवाद दुबै सत्ता र सम्पत्तिका लागि मिल्न सक्छन्, समाजवाद र समाजवादको बाटो क्रान्ति सम्भव छ भन्न पनि सक्छन् र भ्रष्टाचारको एउटै कुण्डमा सँगसँगै डुबुल्की मार्न पनि सक्छन् । यिनले भनेको समृद्ध नेपाल, सुखी नेपाली भनेको आफू आफू सदावहार भ्रष्ट राजनीतिमात्र हो । यस्तो राजनीतिले देश लुट्छमात्र, जनता लुट्छमात्र । केही दिंदैन । लोकतन्त्रको दृश्य यही हो ।
धरातलीय यथार्थ भनेको परिवर्तन भयो, संक्रमणकालीन न्याय स्थापित गर्ने ल्याकत प्रमाणित गर्न सकेनन्, अति राजनीतिक स्वार्थमा लिप्त बनेर विधिको शासन भताभुङ् पारिदिए । संविधान, संसद, सरकार, संवैधानिक निकायहरू असफल भइसक्यो, जवाफदेही हुन कोही तैयार छैनन् । राजनीतिलाई व्यवसाय बनाइयो, लेनदेनमा चलाइयो, हरेक कुरा किनबेच हुनसक्ने देखाइयो, जनताप्रति जिम्मेवार कोही हुन चाहेनन् । लोकतन्त्र भनेको चुनाव हो, जसरी पनि चुनाव जित्ने र लोकतन्त्रलाई खोरिया बनाएर फाँड्नेहरू आफूलाई देवताको अवतार ठान्छन्, यस्ता दुशासन प्रवृत्ति सुध्रन्छ कि भनेर नागरिक अझै आशावादी छन् । यही राजनीतिक कमजोरीमा शक्तिराष्ट्रहरूले नेपाललाई शक्तियुद्धको अखडा बनाइदिए । यतिखेर रूस र अमेरिका, अमेरिका र चीन, चीन र भारतको बाहुबली अखडा बनिसकेको छ नेपाल । राजनीतिमा अपराधिकरण मिसाएपछि हुने असफलता नै रहेछ ।
विवेक भएकाहरू बोल्दैनन् । बुद्धीजीवीहरू मौन बस्छन् । संसदमा समेत आइएनजीओ छिरेको छ । अदालत यस्तै छ । आमनागरिक जो देशप्रति नतमस्तक छन्, ती कमजोर हुँदै गएका छन् । लोकतन्त्र पोंगटे धानबालीजस्तो लाग्छ, खूब हल्केको छ, धानभित्र चामल छैन, कनिकामात्र छ । भएका उद्योग बन्द गर्ने, नयाँ उद्योग स्थापना नै नगर्ने, युवायुवती निकासी गरेर रेमिटान्स अर्थतन्त्रमा सिमित हुनपुगेको नेपालको आर्थिक मेरूदण्ड भाँच्चिसकेको छ । जुन देशको बजेट १६ खर्बको हुन्छ र व्यापार घाटा २२ खर्ब पुग्छ अनि प्रतिव्यक्ति वैदेशिक ऋणभार लाख पुग्ने अवस्थामा छ, त्यो देश भनेको नेपाल हो । लोकतन्त्र आउँदा भाग्योदय ठानिएको थियो, निराश पारिदिए नेताहरूले । नेपालका लागि परिवर्तन दुर्भाग्यमात्र भयो । बिस्तारै नेपालको स्वाधीनता र स्वराज मर्दै गएको छ ।
भूराजनीतिको मैदान बन्यो देश । नेपालमा अमेरिका, रूस, चीन, भारत, युरोपियन को खेलिरहेको छैन ? परराष्ट्रनीतिमा नेपालले चिप्लिदै गएको छ । चिप्लिनु भनेको लड्नु हो, लड्नु भनेको स्वराज गुमाउनु हो । नेपाल पञ्चशील, असंलग्नताको सिद्धान्तबाट हट्दै गएको छ । नेपाल आफ्नो भूबनोट, भूराजनीति र सामरिक महत्वमा संवेदनशील हुन नसक्दा स्टेफन हकिङ्सले भनेझैँ– तेश्रो विश्वयुद्ध नेपालबाट सुरू हुने खतरा छ ।
अमेरिकाले सडक र विद्युतको पूर्वाधार विकास गर्न दिने ५० करोड डलरको एउटै मुद्दामा नेपाललाई नेताहरूले यसरी फसाइदिए कि सम्बन्धमा समेत असर ग¥यो । यस्तै छ रूस र भारतसँगको सम्बन्ध पनि । चीनको बीआरआईबाट नेपाल मिल्न, न भाग्न सकेको छ । यी शासक दलहरूमा कूटनीतिक क्षमता छैन । नेपालले भारत र अमेरिकालाई तह लगाउन चीनलाई गुहार्नु, चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकालाई बोलाउनु नेपालको कूटनीतिक दुर्वलता हो । समदूरीको सिद्धान्तमा नेपाल अडेको देखिदैन । नेपालका लागि हरेक मुलुक मित्र हुन् । हरेक सम्पन्न मुलुकको सहयोग र सद्भावमा नेपाल बाँचेको छ, चलेको छ, प्रगतिपथमा छ । यो यथार्थलाई आत्मसात गरेर दुबै क्षिमेकी र प्रत्येक मित्रराष्ट्रका आँखामा योग्य र आत्मीय मित्र सावित गर्नसक्नु नेपालको परिवर्तनको सार्थकता हुनसक्थ्यो । यो राष्ट्रिय आवश्यकतामा वर्तमान परिवर्तनधारी नेतृत्व दिनदिनै नीतिगत विभाजनमा फस्दै फस्दै चुक्दैजाँदा नेपालको स्वराज र स्वाधीनता नजोगिने हो कि ?
भएको नीतिमा अड्न सकेन, परिवर्तनपछि नेपालले राष्ट्रिय मूल नीति निर्माण नै गर्न सकेन । राष्ट जनता हुन्, जनतालाई केन्द्रमा राखेर मूलनीति निर्माण गर्न अघि नसर्ने भिन्न भिन्न राजनीतिक नेताहरू जनतालाई नै विभाजित र भ्रममा पारेर राष्ट्रिय मुद्दाहरूमा फरक फरक धारणा व्यक्त गर्छन् । यहीकारण एउटा नेता नेपाल राष्ट्रमा बहुल राष्ट्र देख्छ, अर्को देश टक्य्राउनुपर्छ भन्छ, एक नेता अर्कोलाई विदेशी एजेण्ट देख्छ, एमाले कांग्रेस एमसिसीमा राष्ट्रघात छैन भन्छ, बीआरआईमा एकमत छैन, सत्तारूढ अरू ४ घटक विरोधाभाषमा बस्छन्, प्रतिपक्षी यथास्थितिमा पास हुँदैन भन्छ । यो सबै राष्ट्रिय नीति नहुनु र राजनीतिक छुवाछुतको परिणाम हो । अचम्म त के पनि छ भने एकथरि अमेरिकाले चीनलाई घेर्ने रणनीति एमसिसी हो भन्छन्, अर्काथरि अमेरिका विकासको पार्टनर हो भन्छन् । बीआरआई ऋणको पासो भन्नेहरू पनि छन् । चीनका राष्ट्रपतिले भनेका थिए ‘चीनविरूद्ध षडयन्त्र गर्नेलाई धुलोपिठो पारिने छ’ भनेको पनि सुनिएकै हो । नेपाल अन्यौलग्रस्त हुँदै गएको छ ।
हिजो नेपालले सयौं मुलुकसँग सहयोग लिएको थियो, ऋण, अनुदान लिइरहेकै छ । हिजो विवाद थिएन, आज किन विवाद छ ? यसकारण विवादको जरोमा राष्ट्रिय बहस हुनुपर्छ, राष्ट्रिय सहमति हुनुपर्छ, पार्टीहरू यता लहसिने कि उता टाँस्सिने प्रश्न उठ्नु हुँदैन । राष्ट्रिय आवश्यकता हो होइन, जनतालाई लोकतान्त्रिक दलहरूले प्रष्ट पार्नुपर्छ, विदेशी सहयोगको राजनीतिक रणनीतिको जाँतोमा जनतालाई सडकमा लडाइनु, मार्नु हुँदैन । योग्य नेतृत्वले लोकलाई लडाउने, भिडाउने र लड्डु लडे झिल्ली झडेजस्तो मार्ने कुकर्म गर्न सक्दैन । राजनीति अधर्म बन्न हुँदैन । राजनीतिमा निर्णय क्षमता हुनुपर्छ । नेपाल र नेपालीको हितमा के कसो गर्दा फरक पर्दैन विचारणीय प्रश्न हुन् ।
हाम्रो राजनीतिक क्षमता अब जनस्तरसम्म चासोको विषय बनिसक्यो ।  बहस गरौं, निष्कर्ष निकालौं । अग्निपरीक्षाबाट सफलता देखाऔं ।