सालिकको घोडा दौडने कुरै भएन । दौडन त जिवन्त हुनुप¥यो । यो सालिक घोडा र संरकार उस्तै छ । संसद, संविधानले काम गर्न नसकेको पनि जिवन्तता नभएर हो । लोकले लोकतन्त्र र यसका अवयवहरूलाई आत्मसात गर्नै सकेका छैनन् । लोकमैत्री नभएपछिको पद्धति सालिकजस्तै हुन्छ । नेपालको १८ वर्षे शासनकाल र लोकतन्त्रमा जंगैशैली त देखिन्छ तर जंगेको घोडाको सालिक भएझैं ठिङ्ग उभिएको मात्र छ । कागजको घोडा दौडिने सालिक किन चाहियो ? बढ्दो जनअसंतुष्टीकै कारणले गर्दा लोकतन्त्र अब फ्याकिने र नयाँ सिद्धान्त स्थापित हुने लक्ष्यणहरू देखिएका छन् । जनविद्रोहका सामु सालिकतन्त्र कसरी जिवित रहन सक्छ र ?
टुँडिखेलको चारै कुनामा ठिङ्ग उभिएको जुद्धशमशेरको घोडा चढेको सालिक जसरी एक पाइला अघि बढ्न सक्दैन, सत्तालोलुप संसद र सरकार पनि सिंहदरवार र शितलनिवासको राजखान्कीमा टक्क अडिएको छ । चलायमान देखिन्छन्, खानका लागिमात्र । देशमा समस्याको पहाड छ, बुख्याँचाजस्तो सिंहदरवारमा ठडिएको सरकारले त्यो पहाड सालिकजस्तो ठिङ्ग उभिएको सरकार जिवन्त नभइकन लाघ्ने सक्दैन । जिवन्त हुने कहिले हो कुन्नी ? सालिक संसद, सालिक सत्तापिपासु नेतृत्वमा बस्ने सबैलाई शक्ति र सम्पत्ति चाहिएको छ । शक्तिका लागि बेइजिङदेखि दिल्लीसम्म, भेटिकनदेखि वाशिङ्टनसम्म झुक्न र लम्पसार पर्न सक्छन् हाम्रो नेतृत्व । आफैले जारी गरेको संविधान, अँगालेको लोकतन्त्रप्रति इमानदार बन्न सकेनन् । जनताप्रति जवाफदेही छैनन् । आफ्नै राजनीतिक विरासतप्रति अडान छैन, अपनत्व छैन, गौरव छैन । सीप छैन । यसकारण वैदेशिक पत्यार खस्कदै गएको छ । यो बहुलठ्ठी ताल र हाँस न कुखुराको चालले नेपाल कहाँ पुग्ला, कहाली लाग्ने अवस्था आइसकेको छ ।