Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

ठूलाठालुद्वारा महिला हिंसा

देवी काफ्ले

०१ मंगलबार , माघ २०८१४ दिन अगाडि

ठूलाठालुद्वारा महिला हिंसा

खुट्टाभरी धानको खुट्टीले दरफर्याएको घाउ रगतका धारासंगै मुना नाकमा सिंगानको लुर्को, आँखामा बलिन्द्रधारा आँसु लिएर घुंक्कघुंक्क रूँदै बान्नो नाघेर आँगनमा आएर पछारिइ । मुनाकी आमा धान ठटाउन गकी छन् अर्काको मेलामा । मंसिरको आखिरी पुष लाउँदा खरइको धान झांटेर, दाईं लाइवरी टौवा लाउन पर्छ सबैको । मुनाको बा गाउँका नेताजीकहाँ टौवा हाल्न गएका छन् । मुना आँगनमा बेहोस छे । रगताम्मे छे । इन्तु न चिन्तु भएर लडिरहेकी छे ।  बाआमालाई चिच्याएर बोलाउन सकेकी छैन ।
गाउँका नेताजीको त्यो खोलाटोलामा निकै रवाफ छ । माथिल्लो तहका नेता तथा छ÷छ महिनामा फेरिएका मन्त्रीहरूसँग पनि राम्रै पहुँच छ । कसैका ठेक्कपट्टा मिलाइदिने, कसैलाई जागिर लाइदिने, कसैलाई अपराध माफ गराइदिने जस्ता काममा निकै दवदवा छ उनको । बाउको शक्तिको प्रभाव उनका छोराहरू धर्मविर र कर्मविर दुवैमा छ । उनीहरूको सामुन्ने बोल्ने कसको दुस्साहस ?
गाउँमा कसैले उनीहरूको बिरूद्ध बोल्ने दुस्साहस गर्दैनन् । एक किसिमले रणविर नेता प्रजापालक पनि हुन् । उनको निगाहले धेरैको चुल्हो जल्छ । त्यसैले पनि होला उनको परिवारबाट भए गरेका अत्याचारको बिरोधमा सबैको मुखमा ताला लाग्ने गरेको । हुने खानेको विरोधमा बिद्रोह गर्ने कसको आँट हुन्छ र ?
परालको दाईंमा गोरू खेद्न र लडीबुडी खेल्न खुब मजा मान्ने केटाकेटीहरू । दाईंमा चामलको भात, मासको दाल, दुनामा कनिका परेको घिउ,चिनी खान पाइन्छ भनेर केटाकेटी रमाउँदै गोरू खेद्न जान्छन् । त्यही घिउ र भातको आशाले मुना पनि रणविर साहुको दाईंमा गोरू खेद्दै थिई । मुनालाई कर्मविरले खरईको छेल पारेर बोलायो । उ गई । एकैछिनमा मुना रूंदै घर पुगी ।
मुनाको बा धने टौवा हाल्दै थियो । तल भक्तेकी स्वास्नीले मुनालाई देखिछ । बेसरी चिच्याई । धनेले सुनेछ । दगुरेर आयो।रूंदै छोरीलाई उठायो । मुनाकी आमा पनि हस्यांगफस्यांग गर्दै पटुकाको फुर्को कम्मरमा घुसार्दै आइपुगी । दुवैजनाले मुनालाई काखमा राखेर अलापीरहेका थिए । भक्ते, जुठे, मानेका परिवारहरू जम्मा भए । के के सल्लाह गरे । भोलीपल्ट सबै चुपचाप भए । उसो त कर्मविरको पिपासु आंखाले कसका छोरी र बुहारीलाई गिद्दे दृष्टि लाएको थिएन र ? गाउँभरीका महिला आजित थिए । कर्मविर हिंडेको बाटो हेर्न पनि चाँंहदैनथे ।
माघको दोस्रो सातातिर स्थानिय निकायको चुनाव थियो । गाउँ चुनावी माहोलमा रंगमन्च जस्तै भयो।रणविरले अध्यक्षमा उमेदवारी दिएका थिए । चुनाव प्रचारप्रसारको लागि केन्द्रबाट ठूला नेताहरू आए।बाटोघाटो, चौतारी, घरका धुरीहरू पार्टीका झण्डाले सजाइए।बेलुका भएपछी रणविर पक्षका कार्यकर्ता घरघर चाहार्न थाले । कसैलाई गासबासको लोभ देखाए कसैलाई धम्की दिए । बिपक्षीका कार्यकर्तालाई बाटोघाटोमै सोत्र्यान पारे । ठूलोबारीको गह्रामा मासुभात र रक्सीको भोज लगाए । कसैलाई धोती बाँडे, कसैलाई पाकेटखर्च भन्दै केही दाम पनि गोजीमा घुसाए।जीतको लागि सामदाम दण्डभेद सबै अपनाए ।
आज आमसभा तल बगरमा । रणविर, उनका सारथी छोराहरू कार्यकर्ताहरूको बाक्लो उपस्थिती भयो । केन्द्रबाट आएका नेताले बोल्ने पालो आयो । उनले मुठ्ठी बटार्दै उफ्रीउफ्री भाषण दिन थाले । हाम्रो जनप्रेमी नेतालाई जीताउनुस बिकासको मूल फूटाउनुस् भनेर नारा लाए । बिजुलीबत्तीको मुख नदेखेका, घन्टौं लाएर पँधेराबाट पानी बोकेका, खरतो चुहिने छानोभित्र कैयन बर्ष झरीबर्खासँगै जुधेका निरीह जनताले पत्याए । रणविरको पालो आयो । देखाउनुपर्ने जति र पत्याईनसक्नुका आश्वासन बाँडे अनि भने मैले जीतेँ भने महिलाको सुरक्षाको ग्यारेन्टी लिन्छु । यौनशोषण र बलात्कारमा परेका बालिकाहरूलाई न्याय दिन्छु । कसैले पनि अन्यायमा पर्नुपर्ने छैन । नारीजातिको सम्मानमा कुनै कमी हुनेछैन ।
आमसभा सकिनै आँटेको थियो । धनेको घरमा कोलाहल मच्चियो । केहीबेरमै खबर आगोझैं फैलियो । मुनाले दलिनमा आमाको पटुकाको पासो लगाइछ । ठूलाठालुले पुलिस बोलाउने झमेला नगर्न सुझाए । भोलीपल्ट स्कूलमा मतदान केन्द्र चहलपहल थियो । त्यहीबाटो मुनाको लाश एकोहोरो शंख बजाउँदै झारे ।
राजधानीवासीले नदी सभ्यता मारे
१२ अर्ब भन्दा बढी राजस्व र लाखौंले फोहर सफाइमा सहयोग गरे पनि बागमती सफा हुनसकेन । बागमती ढलमतीबाट नदी बन्न सकेन । यो अवस्थाले राजधानीवासी असभ्य प्रमाणित भएका छन् । बागमती, विष्णुमती, धोविखोलालगायतका प्रत्येक खोलानालामा पानी होइन, फोहर बग्छ । राजधानीवासीले नदीसभ्यता मारेर नदीलाई ढल बनाइदिए । ढल बनाउनेहरू आफूलाई सभ्य ठान्छन्, आधुनिक हुँ भन्छन् । जो आफ्ना वरिपरिका नदीलाई ढल बनाउँछन्, सभ्य प्राणी हुन सकेनन् ।
बागमती सभ्यता बचाउन सरकारले योजना लागू गरेको छ । महानगर, नगर र सफाइ अभियान चलाएको पनि ६ सयभन्दा बढी हप्ता भइसक्यो । हरेक हप्ता फोहर निकालिन्छ, भोलिपल्टदेखि उस्तै फोहर बन्छ नदी । फोहर फाल्नुहुन्न, नदीमा ढल मिसाउनु हुन्न, नदीलाई जिवन्त राख्नुपर्छ भन्ने चेत कहिले पनि आएन । जो राजधानीमा घुम्न, कमाउन र कामविशेषले आउँछन् उनीहरू पनि नदीमै फोहर फाल्छन् । नदीमा फोहर फाल्नुहुन्न भन्ने चेत मानसिमा छँदैछैन । नदी सभ्यता मर्नु भनेको मानिसको मृत्यु जीवन हो । नदी जिन्त नहुँदा मानिसमा पनि जिवन्तता हुन्न भन्ने शिक्षा कोही दिदैनन् । नैतिकशिक्षाको अभाव खड्किएको छ । विवेकीहरू किन बोल्दैनन् ?