नेतालाई मात्र खुशी दियो जनयुद्ध र जनआन्दोलनले । जनयुद्धका लडाका र जनआन्दोलित जनताका लागि यो परिवर्तन कौवालाई बेल पाकेसरह भयो । यसकारण जनताले परिवर्तन खोज्न थालेका छन् ।
जसरी १९७५ मा देश बेचेर सिक्किमका लेण्डु दोर्जी रमाएका थिए, उनको त्यो रमाइलो लामो समय टिकेन । भारतले सख्खरको झिंगा झिकेझैं झिकेर फालिदियो । पश्चाताप गर्दागर्दै जनघृणा सहेर लेण्डुले प्राण त्याग्नुप¥यो ।
इतिहासमा राष्ट्रघातीका रूपमा दण्डित हुनुपरेको छ लेण्डुपले । यो ऐतिहासिक शिक्षाबाट केही सिकेनन् नेपाली नेताहरूले । हाम्रा नेताहरू स्वार्थको पोखरीमा यसरी डुबेका छन् कि उनीहरूलाई कुनै दिन पश्चाताप गर्नुपर्ला, भावी पुस्ताले समेत बदनाम हुनुपर्नेछ भनेर सोचेका पनि छैनन् ।
राजनीतिमा कांग्रेस, एमाले, माओवादी, मधेसवादी, केही ससाना पार्टीहरू छन् । यद्यपि सत्ताको केन्द्रमा कांग्रेस, एमाले, माओवादी छन्, यिनकै वरिपरि राजनीति घुमिरहेको छ ।
यी ठूला तीन दलभित्र आन्तरिक गुटबाजी त छ नै, अन्तरदल, अन्तर नेतृत्ववीच कहिले कसलाई, कहिले कसलाई खुइल्याउने प्रतिस्पर्धा तीब्र छ । यतिबेला कांग्रेस र एमाले मिलेर माओवादी र रास्वपा, राप्रपालाई खुइल्याउने जोडबल देखिन्छ । हिजोका दिनमा माओवादी र एमालेले कांग्रेसलाई, त्यसपछि कांग्रेस र माओवादीले एमालेलाई किनारा लगाउने प्रयास गरेका थिए । ठूला पार्टी नै जो बुढो उही बाटो... भएपछि राजनीतिमा नैतिकता र सिद्धान्त भन्ने समाप्त भएको छ ।
जुन मान्यता स्थापित भएको छ, त्यो अवसरवादमात्र हो । अवसरवाद भनेकै लेण्डुवाद हो । नेपालमा स्थापित लोकतान्त्रिक पद्धति लेण्डपवाद बन्यो ।
जो राजनीतिमा छन्, ०४६ सालको परिवर्तनपछिका ३५ वर्ष र ०६३ सालको परिवर्तनपछिका १८ वर्षमा तिनै छन् । यी शासकले गरेको परिवर्तन भनेको आफू, आफ्नो परिवार, आफ्ना गणको सुखभोगमा हो । समाज बदल्न, सुशासन दिन, न्यायको प्रत्याभूति गराउन, विधिको शासन बसाल्न सकेनन् ।
यसकारण स्थापित नेतृत्वप्रति जनतामा घृणाभाव बढेको छ । नेतृत्व असफल भएको छ । यिनको असफलतासँगै व्यवस्था असफल भयो ।
जनताले यी हाम्रा नेता भनेर गर्व गर्नसक्ने कोही भएनन् । नेतृत्व देश र जनताका लागि भार बनेका छन् । नेतृत्व बर्गले वर्तमान उज्यालो अवसरको दुरूपयोग गरेर कलंकित बने ।
जनयुद्ध र जनआन्दोलनपछि जुन जुन नेतालाई जनताले महान बनाए, तिनले महानता जोगाउन सकेनन् ।
सन २००५ सेप्टेम्बरको टाइम्स अफ इण्डिया १४५ अंकमा जनयुद्धका नायक प्रचण्डको अन्तर्वाता छापिएको थियो र त्यसमा प्रचण्डले भनेका थिए– हामीले नेपालको सामन्तवादको ढाड भाँचिसकेका छौं । ग्रामिण क्षेत्रलाई स्वतन्त्र पारिसक्यौं । आज प्रचण्डको चरित्र हेर्दा देखिन्छ, यिनी आफै नवसामन्त बनिसकेछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा ५ पल्ट, माओवादी अध्यक्ष प्रचण्ड ३ पल्ट, एमाले अध्यक्ष केपी ओली ३ पल्ट प्राधनमन्त्री बनिसके । तिनले देश र जनताका लागि के गरे, कति उपलब्धिपूर्ण भयो परिवर्तन ? यसको सकारात्मक जवाफ छैन ।
यिनकै कार्यकालमा भारतले सत्ता र सीमा दुबैतिर अतिक्रमण तीब्र पारेको छ । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरामात्र होइन, कञ्चनपुरमा ९ सय बिगाह नेपाली भूभागमा भारतीयले खेती गरिरहेका छन् । यसबाहेक ७७ ठाउँमा सीमा अतिक्रमण गरेको छ । नेपालको आन्तरिक शासनमा अतिक्रमण गर्दै भारतीय दूतावासले सिधै २० करोडसम्म नेपालका कुनै पनि योजनामा लगानी गर्न पाउने सुविधा यिनै नेताहरूले भारतलाई दिएका छन् । एक त खुला सिमाना, अर्कोतिर यसप्रकारको सिधा लगानी, नेपाली मानसिकतामा भारतवाद घुसाउँदैछ । त्यसै पनि भारतीय गोर्खाको पेन्सन क्याम्पहरू नेपालका विभिन्न जिल्लामा खोजिएका छन् । एयरपोर्टमा भारतीय सुरक्षाकर्मी राखिएको छ । यी सबै भारतीय कृयाकलाप भनेको नेपालमाथिको हस्तक्षेप, अतिक्रमण नै हो । लोकतान्त्रिक नेता, संसद, सांसद, सरकार, नागरिक समाजले यो सबै विषयलाई भारतीय हाजमोलाजसरी पचाइरहनु आश्चर्य हो ।
यस्तो दृष्टान्त विश्वमा कहीँ पनि देख्न सकिन्न । तर नेपालले भारतलाई यस्तो सुविधा दियो । नेपाल कति सार्वभौमिक मुलुक रह्यो ? नेपालमा स्वराज छ कि भारतराज ?
कसैले प्रश्न उठाउँदैनन्, प्रश्न नउठेपछि बहस हुने कुरै भएन ।
स्वभाविक प्रश्न उठ्छ, लोकतन्त्र कता छ ? के गरिरहेको छ ?
यिनको सत्ता र यी सत्ताधारीहरू भ्रष्टाचार र अपराधिकरणमा लिप्त भइरहे । राजनीतिमा लुट्न पाइने, जवाफदेही हुनु नपर्ने, कुमारीचोक बुझाउनु नपर्ने भएपछि विधिका ठाउँमा बाहुबली विधि स्थापित हुनपुग्यो । हरेक क्षेत्रमा भाग शान्ति जय नेपाल चलिरहेको छ । यति सानो मुलुकमा ७ सय ६१ सरकार भ्रष्टाचारको साम्राज्य स्थापित गर्न चाहिएको हो । जनताले बहीखाता खोलेका दिन, खरी घस्दाका दिन परिवर्तनपछि अग्ला अग्ला देखिएका नैतिकहीन नेताहरूको हालत कतिसम्म दयनीय होला ?
मुखको बोली र बन्दुकबाट निस्केको गोली फिर्ता हुन्न । सतित्व र अस्तित्व गुमेपछि गुम्यो । जन्तरमन्तरमा फूमन्तरले न लेण्डुप बलिया भए, न यी नेता बलिया भइरहन्छन् । यिनको शासन र आसनको म्याद जनअसन्तोष बढ्दैजाँदा सकिदैछ । १९७५ मा दिल्लीले सिंहासनमै बसालेको होइन र लेण्डुपलाई ? स्वार्थ पूरा हुनासाथ खँगारिदियो । नोरियगा हुन् कि ओसामावीन लादेन, मार्कोस हुन् कि सद्दाम हुसेन, सबै विदेशीले तैयार पारेका हतियार थिए । हतियारको काम मालिकको इच्छाअनुसार काट्नु हो । हतियारमा जीवन हुन्न, चेत रहोस् ।
जनयुद्ध र जनआन्दोलनलाई नेताहरूले समुद्र मन्थन गरेझैं नेपाली घरघर, मनमन उचालेर, उराले मन्थन गरेकै हुन् । अमृत र विष दुबै निस्क्यो । नेताहरूले अमृत घट घटी पिइरहेका छन्, विषको प्याला जनताको भागमा परेको छ, जनता दिनदिनै मरिरहेका छन् । अन्ततोगत्वा राष्ट्रियता त्यही विषको असरले बिस्तारै बिस्तारै मर्न थालेको छ । शासनभरि विष फैलिएको छ । यो विषालु शासनलाई कति सहने ?
ठूलो दुःखले आर्जेको मुलुक हो यो । विश्वकै जेठोमध्येको मुलुक पनि नेपाल नै हो । पुर्षाले देश दिए, माटोप्रतिको मायाँ भयो भने सम्प्रभूता बाँच्ने पाठ पनि पुर्षाले पढाएर गएका हुन् । तर हामीले यो देशलाई थेग्न सकेनौं, सम्प्रभूता गुमाउँदै गयौं ।
मदारीले देखाउने बाँदरनाच जस्तो बन्यो लोकतन्त्र । चटकेले देखाउने बाह्रमज्जा पो हुनपुग्यो लोकतन्त्र । लोकतन्त्र नैतिक आचरणले चलाउनु पर्ने हो, अनैतिकताको पहाडले थिच्न पुग्यो ।
लोकतन्त्र जो चलाइरहेछन्, ती देश र जनताका लागि सेवा गर्छु भनेर आएका प्रतिनिधि हुन् । जनता कूशासन र राष्ट्रघात भयो भनेर कोलाहल गरिरहेका छन्, सुशासन र समृद्धिको भाषणबाहेक नेतृत्व केही दिन सकिरहेको छैन । जता अलिकति सुख, शक्ति र सम्पत्ति देख्छ, नेतृत्व त्यो लुट्नका लागि मरिहत्तै गर्छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीको ३ सय ८७ बर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा पारिसक्यो । कुनै नेतालाई, संसद र सरकारलाई, विचारक र अधिकारकर्मीलाई दुख्दै दुख्दैन । यो कस्तो शासन हो ?
यसकारण यो पद्धति सराप बन्नपुगेको छ । राजधानीको सिंहदरवार र गाउँगाउँ पुगेको सिंहदरवार त हनुमान चौतारी बन्यो, जहाँ बाँदरहरू जुम्रा मारेर घाम तापिरहेका छन् । उनीहरूलाई देशको चिन्ता छैन ।
यस्तो दुःखद लोकतान्त्रिक पद्धति रअकर्मण्य नेतृत्वलाई आधुनिक राज्यको सार्वभौम सिद्धान्त र एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मान्यता पढाउने, सम्झाउने कसले ?
म मरे पनि मेरो देश बाँचिरहोस् भन्थे राजा महेन्द्र । यति भन्ने नेपाली नेता एकजना पनि देखिएनन् । स्मरण रहोस्, वर्षौ पालेको बाख्रो बेचेर पठाए पनि मालिक देखेपछि म्या गर्छ । जनताले साथ दिएका र जनमत पाएका नेताहरू जनताप्रति पुलुक्क पनि हेर्दैनन्, आफ्नै सुख सुविधा, तलव भत्ता र भ्रष्टाचारमा चुर्लुम्मै डुबेका छन् । यिनले बनाएको नयाँ नेपाल भनेको भ्रष्टाचार नेपाल हो । सन्यासी समाजमा आतूर भोज खाने चलन हुन्छ । सन्यासीको ब्रम्हले चाल पाउँछ कि अव म मर्छु, अनि उसले सन्यासी समाज बोलाएर भोज खुवाउँछ । त्यो भोजलाई आतूर भोज भनिन्छ । शासनमाथि कूशासनको ग्रहण, देशमाथि विदेशीको अतिक्रमण, देशको अस्तित्व र सतित्व लुटिदैछ, नेताहरू भ्रष्टाचार र अवसरवादलाई अँगालिरहेका छन् । यो नेतृत्वले खाएको आतूर भोज नभए के हो ? हामी बुद्धको देशमा बुद्धु नेता पालिरहेका छौं । मुनाफाका लागि देश बेच्ने, जनता बेच्ने अदानन खसोगीजस्ता भन्दा क्रुर छन् हाम्रा नेताहरू । सुपारी लिएर मान्छे मार्ने माफिया दाउद इब्राहिमजस्ता, सिधै गोली हान्न सत्ताबाट आदेश दिने तालिवानी शासकजस्ता, स्वार्थका लागि जो देश विक्री गरिरहेछन्, लेण्डुप दोर्जीजस्ता नेताहरू । यी परिवर्तनकारी होइनन्, यी त चरम अवसरवादी हुन् ।
अवसरवादीको देश हुन्न, यिनले देशलाई कुनै पनि बेला बेच्न सक्छन् ।
हाम्रा नेताहरूको बिगत हेरौं– नगरवधुको जत्ति पनि बोलीको ठेगान छैन । मह लेपन गरिएको मिष्टान्नजस्तो बनाए लोकतन्त्रलाई । भनिन्छ, खोटा सिक्का धेरै दिन चल्दैन । यी नेता पनि विश्व नजरबाट गिरिसकेका छन्, नेपाली नजरबाट गिरे पनि शक्तिमा त छन्, तर धेरै दिन चल्लानजस्तो लाग्दैन ।
चरित्र र निष्ठा, नैतिकता र सिद्धान्तबिहीनहरूको राजनीति अब अन्त्यको कगारमा पुगिसक्यो ।
हाम्रा नेता र ‘इम्परर न्यूक्लोथ’का बादशाहमा फरक छैन । यी नेताहरू दिल्लीमा गरेको १२ बुँदे सम्झौतालाई लोकतन्त्र भनिरहेका छन् र त्यही दिल्लीको सम्झौताको गाँड बोकेर बस्न जनता बाध्य छन् । अब जनविद्रोहको दिन नजिकिदै गएको भान हँुदैछ ।
नेतृत्वले स्वाभिमान गुमाइसक्यो । हाम्रा नेताहरूले कृष्णलालको मकैको खेती कहिले पढेनन् । राणाकालमा डम्बरशमशेर थापाले श्री ३ पद्म शमशेरलाई लेखेको प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर लेखेको पत्र थियो त्यो । डम्बर शमशेरजति पनि सचेत नागरिक देखिएनन् ।
कांग्रेस, एमाले र माओवादीलाई के भ्रम छ भने हामी नै लोकतन्त्र हौं । यो भ्रमबाट यिनलाई निकाल्ने जनताले हो । यिनलाई ज्ञात होस्– बाहुबलीतन्त्रले जनताको मन जित्दैन । चुनाव जित्दैमा लोकतन्त्र हुँदैन । लोकतन्त्रमा लोकको आवाजको सुनवाई हुनुपर्छ । लोकलाई दबाएर लोकतन्त्र जिवन्त हुन्न ।
लोक सचेत भइसके, लोकले शिर उठाउन थालिसके, बोल्न र असन्तुष्टि पोख्न पनि थालिसके । विवेक हुनेले देख्न सक्छन्, जनअसन्तुष्टि । जनतालाई हेप्नेका लागि यो असन्तुष्टि बाढी नबनोस्, यिनलाई नबगाओस्, अहिलेलाई यत्ति भनौं, समय बलवान छ है ।