Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

संविधान - ताक परे मात्र संविधान भयो

२३ मंगलबार , पौष २०८१११ दिन अगाडि

संविधान - ताक परे मात्र संविधान भयो

लोकतन्त्रमा चरित्र हुनैपर्छ । संवैधानिक अथवा सामाजिक चरित्र, नैतिकता भनेको त्यो बन्देज हो, जसले लोकलज्जामा बस्न सिकाउँछ र कसैले नैतिकहीन भन्छ कि भन्ने सदैव हेक्का राख्न लगाउँछ । त्यसैले त बेलायतमा संविधान नभए पनि नैतिकताले पद्धति चलेको छ । हाम्रो नेतृत्व संविधान संविधान भन्छ, नैतिकताबाट च्यूत भएको थाहै पाउँदैन, चरित्र नभएपछि केको शरम, यस्तालाई संविधान भनेको कागजको खोस्टो मात्र हो ।
मूलको पानी र कूलको सन्तान सधैं स्वच्छ र इमान्दार हुन्छ भनिन्छ । मूल प्रदुषित भएपछि, अभिभावक नैतिकहीन बनेपछि न पानी पिउन लायक रहन्छ, न सन्तान सद्विचारमा रहन्छन् । यस्तै देखिन्छ हाम्रो मुलुकको बन्दोवस्ती । राजनीतिमा चरित्रको फोहरी नाली नै पसेको छ । त्यसैले त नेताहरू, शासक प्रशासकहरू गनाइरहेका छन्, बागमतीजस्तै ।
मूल भनेको बिधिको शासन हो, कूल भनेको राजनीतिक दलहरू हुन् । संविधान बन्यो, विधि बस्न सकेन । ठूला नेताहरू सिद्धान्तहीन बनेर सत्ताका लागि  मिल्छन्, त्यसैलाई संविधान, विधि भन्ने गरिएको छ । यो लाजमर्दो स्थिति हो । शासनविधि अस्तव्यस्त भइरहेको छ । कूल अर्थात राजनीतिक दलहरू हुन्, उनीहरू आफै अव्यवस्थाका प्रेरक उदाहरण बनेका छन् । अनि कसरी सुशासनको कल्पना गर्न सकिन्छ ?
अनियमितता, गैरजिम्मेवारी, कर्तव्यहीनता र भ्रष्टाचार हुने भनेको जहाँ शक्ति हुन्छ, त्यहीबाट हो । अहिले मुलुकमा पन्पिएको भ्रष्टाचार र राजनीति अपराधिकरणको तीतो यथार्थ भनेको राजनीतिको स्रोत भ्रष्टाचार हो, भ्रष्टाचारको स्रोत शक्ति हो । अव त चुनावमा, सत्तासञ्चालनमा खुलेआम डन र धनको प्रयोग भइरहेको छ । डन र धनको प्रयोगबाट चुनाव, चुनावपछिको शासनमा बेथिति बढ्यो । पदप्राप्तिको  दौड र तिनले चुनेका समानुपातिक, तिनको कुशासन हेरे प्रष्ट हुन्छ । हरेक ठूला पार्टीका बडे बडे नेताहरूसमेत भ्रष्टाचारमा गनाएका छन् । गनाएकाहरू विधिबेत्ता बनेका छन् । प्रतिपक्षीमाथि कारवाहीको दण्ड चलाइन्छ, आफ्नालाई संरक्षण दिइन्छ । यस्तै नेताहरूले संविधान कार्यान्वयन भनेर कुर्लिरहेका छन् । जनताको मन जित्नै सकेनन् कुनै पनि दल र दलका नेताहरूले । संविधान भए के नभए के ? भाग शान्ति चलिरहेछ ।
भ्रष्टाचार पन्पिएको सही हो । अहिले त हदैसम्मको भ्रष्टाचार र माफियाकरण भइरहेको छ । लोकशासनमा जति भ्रष्टाचार कुनै पनि शासनमा भएको थिएन । भ्रष्टाचार भयो भन्ने हल्ला चल्छ, अदालतमा मुद्दा पनि पुग्छ र भ्रष्टाचारीले सहजै उन्मुक्ति पाउँछन् । यो पद्धतिको दोष होइन, नेतृत्वमा रहेका नेताहरूको नैतिकहीनताको पराकाष्ठा हो । जबसम्म जनप्रतिनिधि, शासनाधिकारीहरूमा नैतिकताको बोध हुन्न, तवसम्म जस्तोसुकै व्यवस्था आए पनि पवित्र बन्न सक्दैन ।
नेपालमा लोकतन्त्र त आयो, चरित्र निर्माणमा कसैले ध्यान दिएन ।
यसकारण अति भयो । भ्रष्टाचारको मुद्दा जनतहबाट ज्वारभाटा बनेर उठ्नुपर्ने हो । जनता कतिसम्म राजनीतिकरण भइसके भने, एकथरिको कुरा अर्काथरिले पूर्वाग्रहमात्र ठान्न थालेका छन् । नागरिक समाज र अधिकारकर्मीसमेत राजनीतिक कित्ता कित्तामा काटिएका छन् । स्वच्छ, स्वतन्त्र समाजको संरचना भत्किएको छ । भत्किएको समाजले सरकारलाई खबरदारी गर्न सक्दैन । सार्वभौम जनता मात्र चुनावी भोटमा सिमित हुनपुगेका छन् । भोटमा अन्तरनिहित शक्ति छिन्नभिन्न हुन पुगेकाले जनशक्ति कमजोर र राजनीतिक नेताहरूको अपराध बढाउने शक्ति बढेको छ । नेताहरूलाई भ्रष्ट, अनैतिक, अपराधी र माफियाहरूको प्रभावले थिच्ने हुँदा सुशासन स्यालको सिङ झैं गायव भएको छ । कुशासन व्याप्त छ । लोकतन्त्रको आवरणमा अपराध दिनदिनै बढेर गयो छ । स्वराज साँघुरिदो छ ।
चरित्रहीनता कसरी हटाउने ? कसरी बचाउने यो राष्ट्रघातबाट देशलार्य ? कसरी सुधार्ने प्रशासन ? लोकतन्त्रलाई अति राजनीतिकरणको रोगबाट कसरी बचाउने ? क्यान्सरभन्दा भयानक छ– भ्रष्टाचार, नैतिकहीनता । भ्रष्टाचारले नेता, कर्मचारी, व्यापारी, उद्यमी, नागरिक समाजको समेत आचरण बिगारिसक्यो, यसको शुद्धिकरण हुनसकेन भने सुशासन आउनै सक्दैन । देश बोक्ने शक्ति क्षीण पारिदिएपछि देश असफल हुन्छ । १८ वर्षमा बनेको १४ सरकार नैतिकताको जग बसाल्न असफल भयो । जनतामा नैराश्यता बढ्यो ।
देशमा राजतन्त्रलाई रोगको कारण बताइयो । भ्रम रहेछ । यथार्थ त नेताहरू नै रोगका कारण रहेछन् ।  राजतन्त्र र हिन्दुधर्म फालेपछि त नैतिकताको खडेरी झन बढ्यो । नयाँ होइन, भएको नेपाल पनि सिद्धिन्छ कि भन्ने भय देखियो । अनियमितता, भ्रष्टाचार र अख्तियारीको दुरूपयोग गर्नु नै लोकतन्त्र हो भन्ने भाष्य बन्यो ।
उही कांग्रेस, उही एमाले, उही माओवादी फेरि उही एमाले र कांग्रेस । घुम्दै फिर्दै रूम्जाटार । कुनै नेता अथवा पार्टीले भ्रष्टाचार गर्दिन भनेर प्रतिवद्धता व्यक्त गरेनन् । मात्र विकासको डंका पिटेका छन्, जनताको आँखामा भ्रम छरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेका छन् । यो बेथिति बढाउने मेलो हो ।
समानता र योग्यताको कदर हुने अवस्था ल्याउन सकेन यो पद्धतिले । जनअपेक्षा संवोधन गर्न सकेन । मात्र भ्रष्ट र भ्रष्टाचार गनाइरहेछ ।