नेपाली राजनीतिको मुख्य चर्चा पूर्वराजा ज्ञानेन्द्र शाहको भारत, लखनउको भ्रमणको छ । बाँकेबाट सिधै उत्तरप्रदेश सरकारले सवारी चलाएको थियो । गतहप्ताको अन्ततिर उत्तर प्रदेशकै प्रयागराजमा शुरू भएको महाकुम्भ मेलामा स्नान र पूजा गर्ने कार्यक्रम थियो । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभल, विदेश मत्री जयशंकरसहित धेरै नेताले भेटवार्ता गरको बताइयो । अर्को खबर अनुसार भारतका मन्त्रीहरू राजनाथलगायतले पनि पूर्वराजाको दर्शन गरेको खबर छ । पूर्वराजाको यस पटकको भ्रमणलाई निर्क गम्भीर मानिएको छ ।
मानमनितो पाउनु स्वभाविक थियो, स्वागतयोग्य नै छ । तर एउटा खबरले नेपालीलाई झस्काएको छ । महाराष्ट्रको नागपुरदेखि आरएसएसका अध्यक्ष मोहन भागत लखनउ आएर राजासँग भेट मात्र गरेनन्, उनले राजा बन्ने आकांक्षा त्याग्नुस्, नेपाललाई हिन्दुराष्ट्र बनाएर अखण्ड भारत निर्माणमा लागौं भनेर प्रस्ताव गरेको र त्यसको जवाफमा पूर्वराजा ज्ञानेन्द्रले म राजा बनौला नबनौला, त्यो अर्को विषय हो, नेपाल एउटा सार्वभौम र स्वाधीन राष्ट्र हो, तपाईको प्रस्ताव मलाई मान्य छैन भनेपछि मोहन भागवत बेखुसी भएर नागपुर फर्केको कुराले सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजा रिसाएको थाहा पाएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदितयनाथले माफी मागेको खबर पनि छ । तर यो समाचारको पुष्टी भइसकेको छैन । सवाल यत्ति हो, हावा नचली पात हल्लिदैन । भारतलाई हिन्दुराष्ट्र बनाउने एजेण्डासहित ४ सय सिट जित्न चुनावमा होमिएको भाजपाले बहुमतसमेत ल्याउन सकेन ।
भाजपा र नरेन्द्र मोदी नेपालमा के चाहन्छन्, स्पष्ट छैन । विश्लेषकहरू भन्छन्– प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले हालै गरेको चीन भ्रमण र बीआरआईमा गरेको सम्झौताबाट रिसाएर सत्तारूढ कांग्रेस, एमालेलाई तर्साउन भारतले खेल खेलेको हो । आरएसएसको कुरा सत्य हो भने भारत नेपाललाई भारतमा मिलाउनेमा छ ।
दलहरू देखाएर राजालाई धम्क्याउने, राजालाई देखाएर दलहरूलाई तर्साउने भारतीय नीति खतरनाक छ । यसको अर्थ आमनेपालीले चनाखो भएर बस्नुपर्ने भयो ।
आफ्नो सत्तास्वार्थका लागि सधैं भारतका सामु लम्पसार पर्ने नेपालीहरू सत्ताकै लागि भारतलाई खुशी पार्न जस्तोसुकै निर्णय पनि गर्नसक्छन् । जो आफ्नै भूमि भारतले खाइदिंदा बोल्दैनन्, बोल्न सक्दैनन्, यस्ताको भर विश्वास गर्न सकिदैन । स्मरणीय छ, नेपालमा आरएसएसको बिस्तार तीब्र गतिमा भइरहेको छ । शाखा र सदस्यता बढाउने भनेको अखण्ड भारतको अभियानलाई सफल पार्नकै लागि हो । आरएसएसको उद्देश्य नेपाल, बंगलादेश, श्रीलंका, भुटान, अफगानिस्तान, पाकिस्तानलाई समेटेर अखण्ड भारत निर्माण गर्ने हो । भाजपाको नीति पनि यही हो । यही गोप्य उद्देश्यका लागि भारतको संसदमा राखिएको भारतीय नक्सामा नेपालको पनि केही भाग भारतमा देखाइएको छ । यस्तो भारतले नेपालमा कोर्ष करेक्शन गर्ला त ? भन्नेहरू पश्चिमाले भारत र चीनलाई गिजोल्न थालेकोले चीन र भारत र रूसले नेपालमा बिना पिंधका लोटाजस्ता नेताहरूलाई किनारा लगाएर राजतन्त्र पुनस्र्थापना गर्न लागेको छ । तर नेपाललाई नसोधी नेपालकै कालापानी, लिम्पिुयाधरा भारतमा मिलाउने र त्यही नेपाली भूभागबाट ब्यापार थाल्ने, कैलाश मानसरोबरको यात्रा गर्ने ढोका खोलिनुले पनि नेपाल भूराजनीतिक चेपोमा च्यापिन पुगेको छ । चीनको मनसुवा पनि धमिलो देखिन्छ । अमेरिकी प्रभावलाई रोक्न सामान्य करेक्शनले सक्नेछैन । राजसंस्था हुँदा कुनै छिमेकी अथवा विश्वशक्तिले नेपाललाई चलखेल मैदान बनाउन सकेका थिएनन् । हरेक मित्रराष्ट्र नेपालप्रति विश्वस्त थिए । गणतन्त्र नामको व्यवस्था आएपछि नेपाल भ्रष्टको मुलुकमात्र बनेन, कुनै पनि नेताप्रति मित्रहरू विश्वस्त छैनन्, नेपालले विश्वास गुमाउन पुगेको छ । नेपालले विश्वासको संचिति सिध्याएको छ ।
आफू असुरक्षित हुनेभएपछि छिमेकी र पश्चिमाको प्रतिस्पर्धा नेपालमा हुने नै भयो । जेहोस्, पूर्वराजाको महाकुम्भ यात्राले नेपालीलाई सचेत पारेको छ । भारतको मनसुवा बुझ्न सहज भएको छ । नेपालको नाडी छोमकै भए पनि भारतले बुझेको छ कि राजतन्त्र नभए पनि लोकप्रिय राजतन्त्र नेपालको स्वराजप्रति पहाड बनेर खडा भएका छन् । पूर्वराजाको यो भ्रमणले विदेशीका सामु लम्पसार पर्ने र राजनीतिक स्वार्थ शिद्ध गर्ने नेताहरूलाई पनि खबरदारी गरेको छ । जनतामा संचेतना छर्ने कार्यले नेपालको हित नै भएको छ । सिंहासनमा नभए पनि पुर्षाले आर्जेको राष्ट्रप्रतिको जिम्मेवारी पूर्वराजाले बखुबी निर्वाह गरेका छन् । नेपाली भनेको नेपाली नै हो, नेपालीले नेपालको बिखण्डन र बिभाजन, सिक्किमीकरण मन पराउँदैन भन्ने सन्देश प्रवाह भएको छ । यस्तै संचेतनाले नेपालीत्व बिनष्ट हुनबाट बच्नेछ ।