१० वर्षे जनयुद्धका कमाण्डर प्रचण्ड १८ वर्षमा ३ पल्ट प्रधानमन्त्री भएर कुनै अर्थपूर्ण काम गर्न सकेनन् । उनी अझै राजनीतिको केन्द्रमा छन् । उनी पुनः प्रधानमन्त्री बनेर देश र जनतालाई के दिन चाहन्छन्, कोही जान्दैनन् ।
जनयुद्धका कमाण्डर मूलधारमा आएपछि बैद्य र विप्लव उनीबाट छुट्टिए । सशस्त्र बिद्रोह गर्न बैद्यले सकेनन्, विप्लवले प्रयास गरे, उनी पनि असफल भए । बिप्लवले जनसरकार गठन गरे, युवा दस्ता गठन गरेर जंगलमा तालिम दिए, सामुहिक खेती त अहिले पनि गरिरहेकै छन् । यस प्रकारको राजनीतिबाट पार नलाग्ने निर्षमा पुगेपछि बिप्लव मूलधारमा आउने भए । अन्ततः सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजमार्गमा प्रकट भए ।
पहिले बिप्लवले सार्वजनिक मञ्चबाट मिसान ८४ को कुरा झिक्दै चुनावी प्रतिस्पर्धामा जाने बताएका थिए । भाषणकै क्रममा बिप्लवले एकपल्ट सरकारको नेतृत्व गर्न चाहेको पनि बताएका थिए ।
यसपछि मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको विप्लव नेतृत्वको नेकपा बैठकले निर्णय गरेको छ– निर्वाचन आयोगमा दल दर्ता गर्ने, मित्र पार्टीसँग एकताको प्रयास पनि गर्ने, चुनाव चिन्ह लिने आगामी चुनावमा चुनावी प्रतिस्पर्धा गर्ने । यसको जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भनेका छन्– नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । अब हामी अगाडि बढ्यौं ।
प्रकाण्डले पत्रकारलाई निर्णय सुनाउँदै भने– देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरव्याज, ऋण आतंकलगायतका मुद्दामा फागुन २ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको पनि उनले जानकारी दिए । जनमार्चमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जवस मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहित मित्रशक्तिहरूको पनि सहभागी हुनेछन् । यो ऐतिहासिक हुनेछ ।
यसैगरेर नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरूसँग मोर्चा, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय पनि गरेको जानकारीदिइयो ।
नेकपा प्रचण्डको सोचको समाजवादी मोर्चामा पनि रहेको छ । तर यो मोर्चा सकृय छैन । विप्लवले माओवादी केन्द्रसँग एकताको होमवर्क गरिरहेकै छन् ।
नेपाली राजनीतिमा अब बिद्रोही शक्ति रहेनन् । सशस्त्र समूह सबै बिनष्ट हुँदै गए । तराईमा अनेक सशस्त्र समुह थिए, खतरनाक त माओवादीबाट छुट्टिएका नै थिए । तिनमा ससाना समूह छन्, जो प्रभावकारी छैनन् । सशक्त भनिएको बिप्लव समूह प्रतिस्पर्धाको राजनीतिमा उत्रिएपछि दर्जनौ नाममात्रका वामपन्थी र अन्य पार्टीहरू नाममा मात्र सिमित हुनपुगेका छन् । आगामी निर्वाचनमा बिप्लवले आफ्नो संगठनलाई चुनावी नतिजामुखी बनाउन सक्लान् कि चुनावसम्ममा माओवादी केन्द्रमै बिलय हुन पुग्लान्, यसै भन्न सकिन्न ।
नेकपा क्रान्तिकारीले पार्टीका नवविचार र प्रस्तावहरूलाई स्पष्ट गर्न देशव्यापी रूपमा अन्तरक्रिया कार्यक्रमहरू गर्नेछ । यसरी अन्तरकृया गर्दै जाँदा किन बिद्रोहबाट चुनावको उपयोगको नीति अख्तियार गरियो भन्ने स्वभाविक प्रश्न उठ्नेछ । नेपालमा जतिसुकै प्रश्न उठे पनि जनतालाई भुलभुलैयामा पार्न नेताहरू खप्पीस छन्, कम्युनिष्टलाई त कसैले जित्नै सक्दैन ।