स्वयम्भूनाथ कार्की
विसं २०४७ सालको संविधानको निर्माणमा प्रमुख भूमिका खेलेर पनि आलोचनात्मक समर्थन गरेको एमाले हमेशा सत्ताको केन्द्रमा बसेको छ। त्यस संविधानको राजमा पटकपटक र विभिन्न रुपले तीन बर्ष लगभग एमालेले सत्ता संचालन गर्ने अवसर पायो। राजाले संविधान नाघेर संसद पुनर्स्थापना गरिदिए पछि त उसको सत्तामा हालीमुहाली लगातार छदैछ। खिलराज रेग्मीको पालामा कुनै राजनैतिक दल वा त्यससंग संवद्ध सत्तामा नभएको भए पनि 'उच्चस्तरीय राजनैतिक आयोग' मार्फत गरिएको सत्ता नियन्त्रणमा एमालेको प्रमुख स्थान कायम नै थियो। अहिले पनि छ।
पञ्चायतको समाप्ति पछि त्यसले भोग गरेको अवधीको हाराहारी हुँदा समेत राजैतिक दलहरुले यति कम समय भनेर बहाना बनाउन छोडेका छैनन्। हालको संविधान निर्माणमा नियन्त्रणकारी भूमिकामा बसेका बाबुराम अझै जनतालाई उल्लु वनाउन सकिन्छ भनेर 'नयाँ शक्ति'को राग अलाप्दैछन्। यो करिव तीन दशकमा अनेकौ तरिकाले, अनेकौ समिकरण बनाएर बुताले भ्याएसम्मको प्रयोग भईसक्यो। ६३ सालमा राजाले खाली गर्ने वित्तिकै नारायणहिटी जिम्मा लगाएका मधेशका 'मसिहा' भनाइने दलहरु पनि लगातार सत्ताको हिस्सेदार भएका नै छन्।
महिनौ मुलुकका सर्व साधारणलाई नरकजस्तै कष्ट भोग्न बाध्य गराउने यी 'मसिहा' र त्यो कष्ट एकरत्ति पनि कम गर्न अक्षम नेपालका प्रमुख दलहरु सबै कुरा भारतको टाउकोमा हालेर 'पानी माथिको ओभानो ' बन्दैछन्। यस्तो परिस्थितिमा सिकेव राउतहरु चम्कनु स्वभाविक नै हो। बंगला भाषामा राष्ट्रियलाई जातीय भनिन्छ भन्दैमा अरु भाषामा पनि जाति भनेको राष्ट्र हो भन्ने परिभाषा यिनै दलहरुका बुद्धिजीविहरुले गरेका छन्। राष्ट्र र राष्ट्रियता अलग अलग कुरा हुन भन्ने परिभाषा कोच्याए पछि ढिलो वा छिटो राष्ट्र विखण्डन हुन्छ नै। यही आफैले निम्त्याएको कुराले खतरा देखेपछि जीवनभर धारेहात लगाएर गाली गरेको 'राष्ट्रवाद'को महत्व वल्ल बुझ्दैछन्।
सनातनी परम्परा अपभ्रंश भएर आएको हिन्दु शव्द टेकेर आफ्नै अस्तित्वलाई धारेहात लगाउन उद्धत पिढी यही दलीय राजनीतिको सत्तामा टाँसिईरहने छलकपट विद्याको उपज हो। त्यसमा सनातनी परम्परा मध्येका केही सम्प्रदायका धर्मगुरुहरुले दिएको 'हिन्दुराष्ट्र'को नारा प्रियकर लाग्नु स्वभाविक नै हो। सनातनी चिनारी मेटिएको वेलामा चाहे हिन्दु नामले नै किन नहोस् कुल परम्पराको चिनारी कायम रहोस् भन्ने चाहाना हो। यसको दुरुपयोग गर्दै हिन्दु गणतन्त्रको नाममा मुलुक नै भारतीय धर्मगुुरुको जिम्मा लगाउन सकिन्छ कि भनेर कसैले मुख मिठ्याएको हुनसक्छ। हिन्दु अधिराज्य र हिन्दु राष्ट्रमा धेरै फरक छ। हिन्दु अधिराज्य चाहनेहरु परम्पराको साथै मुलुकको स्वभिमानी अस्तित्वको निमित्त सोच्छन्। हिन्दु राष्ट्र भने चाहे मुलुक रहोस् वा नरहोस् सनातनी हिन्दु हैन पिठका पिठाधिशहरुले परिभाषा गरेको हिन्दु राष्ट्र भन्छन्। यो सुनौला मौकामा सरदार पटेलले भारतीय संघमा जोड्न नसकेको राष्ट्र हिन्दु गणतन्त्रको नाममा आफ्नो पोल्टामा पर्ने संभावनालाई हावा दिनु अस्वभाविक हैन। यसैले विभिन्न भारतीय राजनैतिक, धार्मिक व्यक्तित्वहरु हिन्दु अधिराज्यको विरोधमा तर हिन्दुराष्ट्रको पक्षमा बोल्दैछन्।
पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका भन्दा नेेपालको एकिकरण गरेका हुन। विभिन्न कालखण्डमा विभिन्न तरिकाले टुक्रा हुन पुगेको नेपाललाई एकिकरण गरिएको हो। यदि विजित मुलुकलाई गोर्खामा मिसाएको भए त्यसलाई राज्य विस्तार मान्न सकिन्थ्यो। काठमाण्डौलाई आफ्नो इच्छा विपरित राजधानी कायम गरेर प्रचिन नेपाललाई सम्मान गरेका थिए। झण्डा लिच्छवीकालिन नेपालको झण्डाबाट नै कायम गरे जसको नमुना चाँगुनारायण मन्दिरमा छ। प्राचिनदेखि हालसम्म नेपालको गौरव र जनताको हित भएको कार्यकाल राजाहरुको प्रत्यक्ष शासन काल नै छ।
आलंकारिक राजा, अमात्य वा प्रधानहरुको नियन्त्रणमा भएका लालमोहर मात्र लगाउने राजा, शिशु राजा सातसाल भन्दा पहिले नै भोगि सकेको छ। संवैधानिक भनेर राजनैतिक दलहरुको अधिनमा र अहिले गणतन्त्र पनि भोग्दैछ। गणतन्त्रको हियामती गर्नेहरु नै नेपालमा विभिन्न समस्या रहेको कुरा स्विकार गर्न बाध्य भएका छन्। नामै सुन्दा पनि सुनपानी छर्कनु पर्ने मनस्थिति भएकाहरु पनि राजा महेन्द्रको कार्यकाल सम्झन पुग्दैछन्। अलग अलग समस्याको अलग अलग हल गर्ने प्रयत्नमा सबै छन्। तर एक समस्या हल भै नसक्दै अर्को समस्याले टाउको उठाउन पुग्दैछ। भनिन्छ हात्तीको पाइलाको डोव अटाउने ठाउँमा सबैको पाईलाको डोव अटाउँछ। यस्तै सबै समस्याको एकमुष्ट हल राजसंस्था पुनर्वहाली मात्र हो। यो कुरा जति छिटो बोध हुन्छ त्यति ठिक हुन्छ। ढिलो गर्दा कतै यो प्राचिन नेपाल थियो अरे भन्ने अवस्थामा नपुगियोस्।


