एकनाथ ढकाल, डा.आरजु देउवा, विमलेन्द्र निधि, प्रकाशशरण महत, पशुपतिशमशेर जबरा, कमला पन्त, डिल्लीराज पन्त, रघुजी पन्त, नारायण दाहाल, अन्जना शाक्य, वादेव गौतम, बुद्धिमान तामाङ हितराज पाण्डे, चित्रबहादुर केसी चन्द्रा कार्की आदि समानुपातिकमा सांसद छन् । समानुपाति सांसद कसलाई बनाउनु पर्ने हो ? कस्ता कस्ता व्यक्ति समानुपातिकका माध्यमबाट नीति निर्माता बनेर राष्ट्रिय सभामा जानुपर्ने हो ? जुन पवित्र उद्देश्य राखेर समानुपातिको व्यवस्था गरिएको थियो, त्यो उद्देश्य खण्डित गर्ने कार्य ठूला दलहरूले नै गर्नपुगे । राजनीतिक प्रभाव र दबाबी शक्तिले, बाहुबली हिसावले समानुपातिकमा राजनीतिक र व्यक्तिगत स्वार्थपूर्तिका लागि समानुपातिकमा मनोनित गर्ने कार्य भयो । यो व्यवस्था असफल पार्ने मुख्य कारण बन्नपुगेको अनुभूति भएको छ । समानुपातिकमा देखिनैपर्ने सिमान्तकृत बर्गले राष्ट्रियसभा कहिले देख्न पाएनन् ।
पार्टीहरूमा, विवेकी बन्नुपर्ने नागरिक समाज र अधिकारकर्मीमा, राजनीतिमा नीति, सिद्धान्त, विचार त सकियो सकियो अब नैतिकता पनि सकिएको दृष्टान्त देखिन थालेको छ । ०७४ को निर्वाचनमा गल्ती कमजोरी गर्ने ठूला पार्टीहरूले ०७९ को निर्वाचनपछि सुधारिएलान् भन्ने आशा गर्नेहरू निराश बन्नपुगेका छन् । कारण यसपल्ट पनि राष्ट्रिय पार्टीहरूले संविधानले निर्दिष्ट गरेको समानुपातिकको व्यवस्थाको घोर दुरूपयोग गरेका छन् । लज्जा पनि लज्जित हुनपुगेको छ ।
वर्तमान संविधानले चुनाव नलड्ने तर विद्वतबर्ग, सीमान्तकृत, अशक्त र पिछडिएका बर्ग समुदायजनप्रति समर्पित समानुपातिक सिटको व्यवस्था गरेको छ । तर ती सिटमा सम्भ्रान्तहरूले यसरी कब्जा गरिदिए कि राजनीतिमा नैतिकता भन्ने केही बाँकी रहेन । विश्लेषकहरू भन्छन्– राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण भनेको यही हो । यस्तो राजनीतिले सुशासन, विधिको शासन होइन, अपराधलाई प्रश्रय दिने निश्चित छ ।
पिछडिएका बर्ग, समुदायका लागि संविधानले गरेको व्यवस्थाअनुसारको सुविधासमेत लज्जाहीन भएर हडप्ने यी उच्च जातीय, बर्गीय, धनाध्ये, वर्चश्वशाली, प्रभावशाली व्यक्तिहरूले कसरी मुख देखाउन सकेका होलान् ? पार्टी नेतृत्वले आफ्नो बीचबचाउका लागि पिछडिएका बर्गको सिटमा यी कथित आफन्तलाई मनोनयन गरे कसैले पनि अस्वीकार गरेनन् । अझ उल्टै यो सिट पाउनाका लागि करोड करोड खर्चेर किनबेच भएको कुरूप चर्चासमेत बाक्लै सुनियो ।
हुकुमबासी सुकुमवासी बनेर सरकारी जग्गा कब्जागरेजस्तै यी सम्भ्रान्तले पिछडिएकाको नाममा शक्ति हत्याउनुले लोकतन्त्र मजाक बन्नपुग्यो ।