यो आलेख लेख्दासम्म पूर्वराजा बाँके, बर्दिया, दाङलगायतका क्षेत्रको भ्रमणमा हुनुहुन्छ । स्थानीय जनताले भव्य स्वागत गरिरहेका छन् । मानौं भविष्य राजामामात्र देखिरहेका छन् । पूजापाठ, पुराण श्रवण, स्थानीयसँग भेटवार्तामा पूर्वराजा निकै घुलमिल भइरहेको देखिन्छ । पूर्वराजाले आमनागरिकको दुःख, पीडा, दर्द, कुशासन बुझ्ने र देख्ने अवसर पाएको अनुभूति हुन्छ । हिजो गल्ती गरेका जनताले प्रायश्चित्तको मौका पाएका छन् । हिजोदेखिको राजपरम्परा अहिले पनि जारी नै देखिन्छ ।
प्रश्न छ, परम्परा धानेरमात्र राष्ट्रिय समस्या समाधान हुन्छ त ? संसद पुनस्र्थापना र गणतन्त्र कार्यान्वयनपछि यसरी नै पूर्वराजाले देशाटन गर्ने गरेको देखिन्छ । जनताका साथमा र सडकमा हिडेको, भेटघाट गरेको पनि देखिन्छ । जनताले राजा देख्ने, राजाले जनता भेट्ने, यत्तिले जनताको दैनिकी पीडाको निदान कसरी हुन्छ ? गणतन्त्रका नाममा सिंहदरवार कब्जा गरेर बसेकाहरूले मुलुक नै सिध्याउने अवस्था आइसक्यो । गैंडाका छालाजस्ता भएका छन्, भ्रष्ट अपराधी काखी च्यापेर बसेका शासकहरू । जनताले अभिनन्दन गर्दा होस् अथवा पर्वपर्वका सन्देशमा, पूर्वराजाले जनता र देशका समस्या बोलेका छन् । बोल्दा साझा सहमतिबाट अगाडि बढाउने प्रस्ताव पनि गरेको देखिन्छ तर यी भ्रष्ट जुकाहरूलाई सहमति र सहकार्य मन परेन । निषेध र विभेदको अन्त्य यिनलाई स्वीकार भएन । जनताले भ्रष्टमाथि कारवाही खोजेका छन्, अव्यवस्थाका प्रत्येक कारणको निदान मागेका छन् । पीडा दिनेलाई कारवाही हुनुपर्छ भनेका छन् । प्रत्येक नेपालीले देशमा बस्ने वातावरण हुनुपर्छ भनेका छन् । बिकल्प नदेखेपछि के गर्ने, चुनाव आउँछ, नागरिक तिनै भ्रष्टलाई मतदान गर्न बाध्य हुन्छन् ।
नयाँ भनिएका दलबाट आशा देखिएन । युवा भनिएका एकाध नेता पनि उही ड्याङका मूलाजस्ता बने । पुराना ठूला भ्रष्ट, नयाँ साना भ्रष्ट । पूर्वराजा जनताका सामु जान्छन्, पीडा सुन्छन् र फर्किन्छन् । दलहरू जनतासामु जाँदैनन्, जनताका लागि लोकतन्त्र बचाइदिएको, कार्यान्वयन भएको गुड्डी हाँक्छन् । आन्दोलन भनिन्छ, एकदिने आन्दोलन गरेर पानीका फोक फुटेजसरी हराउँछन् । चाहिएको दह्रो आन्दोलनको हो । त्यस्तो आन्दोलन कतै देखिदैन । जनताले चाहे के हुँदैन । बिद्रोह हुन्छ, श्रीलंकामाजस्तो, बंगलादेशमा जस्तो जनविद्रोहले परिवर्तन ल्याउन सक्छ । त्यस्तो परिवर्तनको सम्भाबना अब न्यून बनेको छ, कारण आन्दोलनको नेतृत्व कसैले लिन सकेनन् । परिववर्तनको बिकल्प भनेको जनविद्रोह, चुनाव र सैनिक शासन नै हो । चुनावबाट परिवर्तनकारीले दुई तिहाइ मत ल्याउन सम्भव नै छैन । जनविद्रोह हुनसक्दैन भने बिकल्प सेनाले कब्जा गर्ने हो । नेपाली सेनाले पटक पटक भनेको छ– संविधानअनुसार चल्छ । संविधान यिनै भ्रष्टको पृष्ठपोषक भइदिएपछि कसरी अर्को परिवर्तन आउँछ ।
स्थिति यस्तो छ कि लोकतन्त्र र संविधान असफल भइसक्यो । जनतामा चरम निराशा छ । प्रत्येक युवा विदेश पलायन हुनचाहन्छ । देशभित्र कुशासन छ, भ्रष्टाचार छ, अपराधीको हैकम छ । न्याय छैन । अन्याय बढेको छ । जनताको आँखामा १८ वर्ष छारो हालेपछि असफल र अकर्मण्य नेताहरू संविधान संशोधनको नयाँ पासा फालेर जनतालाई भ्रमित पार्ने प्रयासमा लागेका छन् । सिधैराष्ट्रपतिको निर्वाचनको हल्ला पनि फैलाएका छन् । जनतालाई भुलभुलैयामा पारेरै देश लुटिरहने चाँजोपाँजोयिनको चालबाजी हो । यो नेतृत्व र यिनका भ्रष्ट नैतिकहीन चरित्रबाट वाक्क भइसकेका जनताहरू यिनले फैलाएका अनेकविधि हल्लाबाट आजित भइसकेका छन् । जनताले गरून् त के गरून् ? जनतालाई पार्टी पार्टीमा बिभाजित पारिएको छ । असंगठित जनताले संगठित बिद्रोह गर्नसक्ने स्थिति छैन । यसैबाट दल र दलीय नेताहरूले लाभ उठाएका छन्, देशलाई भ्रष्टाचारको दलदल बनाएका छन् । परिवारवाद चलाएका छन् ।
जनता पीडित छन् देश संकटमा छ । राजा पनि नबोल्ने, केही गर्ने सुरसार पनि नझिक्ने, षडयन्त्र र जालझेलमा माहिर यी नेताहरू जनतालाई खेलौना बनाएर खेलाइरहन प्रयास गरिरहने । यिनका नौरंगी आश्वासनको बाढीमा बग्न जनतालाई बाध्य पार्ने यिनका साजिस चलिरहेकै छन् । यसकारण पनि राजाले अब आफ्ना पुर्षाले आर्जेको मुलुकलार्य जोगाउन केही त गर्नैपर्छ । ढिलाई गर्न मनासिव देखिदैन । जनता बिद्रोहका लागि तैयार छन् । बिद्रोह गर्न अग्रसर नेतृत्व छैन, बिद्रोहपछि के गर्ने, कार्यक्रम छैन । आन्दोलन, आन्दोलनपछि मुलुकले पाउने सुशासन दिने व्यक्ति वा संस्था जागरूक देखिदैनन् । अबको नेपालको भाग्य र भविष्य भनेको राजा र आमजनता नै हुन् । फेरि पनि भनौं, अब पूर्वराजाले जिल्ला जिल्ला घुम्नेमात्र होइन, जनता र देशको अवस्था सबै बुझ्ने काम भइसकेको छ । यो समय मैदानमा उत्रनुपर्ने समय हो । जनता आशलाग्दो अनुहार लिएर राजातिर हेरिरहेका छन् । बुझौं ।