५ महिना भयो ओली सरकार । ५ महिनामै दुई ठूला दल र अध्यक्षको सहमति टुट्ला र विश्वासघात भएर सरकार नै गिर्ने अवस्थामा पुग्ला र ? त्यसै पनि १७ महिनापछि ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्छु भनिसकेका छन् । फेरि अस्थिरता किन ? कसका लागि सरकार ढाल्ने ?
‘रअ’का पूर्व एजेण्टले नवभारत टाइम्समा ओली सत्ता महिना दिनभित्रै ढल्ने घोषणा गरिदिएपछि राजनीतिक र कूटनीतिक बृत्तमा यही चर्चा छ । सरकार कसरी ढल्छ ? धेरैको जिज्ञासा छ । किनकि सत्तासझोदार कांग्रेस सभापति शेरबहादुर देउवा ओलीप्रति आश्वस्त छन्, प्रम ओली देउवाप्रति विश्वस्त छन् । यो विश्वास चीन भ्रमणमा झन बलियो भएको अनुमान गरिएको हो । ओलीले अब भारत भ्रमणको होमवर्क थालिसकेका छन् । कसरी ढल्छ सरकार ?
अमेरिकी उपमन्त्री नेपाल आएर भनेका थिए– एमसीसी कार्यान्वयन भएको छ, बीआरआई कार्यान्वयन भएर के फरक पर्छ । नेपालको आवश्यकताअनुसार विकास निर्माण हुनुपर्छ ।
तर विश्लेषक भन्छन्– पहिले भारत भ्रमण नगरेर ओलीले गल्ती गरे । चीन जानु भनेको नेपाल चीनतिर ढल्केको अर्थ लगाए । नेपालले चाइना कार्ड खेलेको भन्ने आरोप लगाइरहेका छन् । यथार्थमा नेपालले चाइना कार्ड खेलेको होइन । नेपालमा विश्वशक्ति पसेका छन् । अमेरिका, भारत, इयु, अष्ट्रेलिया, बेलायत सबैले आआफ्ना एजेण्डा प्रयोग गरिरहेका छन् भने चीनले आफ्नो प्रभाव बढाउनु स्वभाविक हो । नेपाल भारत र चीनको छिमेकी हो । छिमेकीले नेपाली पार्टीहरूमा समेत प्रभाव बढाएका छन् । यो विषयलाई उछाल्नुको कुनै तुक छैन । १६० देशमा कनेक्टिभिटीको योजना लागू भइसक्दा २०१७ मा सम्झौता भइसकेको बीआरआईमा नेपालले १० योजना कार्यान्वयन गर्न सम्झौता गर्नु स्वभाविक थियो । यसमा कांग्रेस सभापति र तत्कालीन सहीकर्ता प्रकाश शरण महतले सुरु गरेको सहमतिको निरन्तरता भनिसकेका छन् । कांग्रेस खुश छ ।
भारत रिसाउनुको कारण नेपाली नोटमा लिपुलेकसहितको चुच्चेनक्सा चीनमै छाप्न लागेको विषय पनि हो । भारत ती क्षेत्र भारतको भन्छ, नेपाली क्षेत्रलाई नेपालको हो भन्ने हैसियत नेपालले राखेको छैन । भारत नेताहरूलाई तर्साएर र मुठ्ठीको माखो बनाएर अस्थिरतामा राख्न चाहन्छ, चीनले नेपाललाई ल्याण्डलिङ्कमा राख्न सघाएको छ । बीआरआई ऋण होइन, एड हो भनेर चीनले विश्वलाई चकित पारिदिएको छ । एड भन्नाले ऋण, सहायता, प्राविधि सहयोगलाई पनि जनाउँछ । हो १७ खर्ब बजेट भएको नेपालको ऋणभारत २६ खर्ब पुगिसक्यो, ऋण थप्न सक्दैन । तर आवश्यकताअनुसार ऋण लिने बाटो खुल्लै छ । मुख्य सवाल नेपालले कस्तो ऋण लिने नलिने सहमतिमा गर्न सक्नुपर्छ । चीनले डडेलधुरा र झापामा पार्क बनाइदिने भनेर जुन चाल चलेको छ, त्यो साह्रै चलाखीपूर्ण अर्थपूर्ण पनि छ । सरकार आजै, भोलि नै, महिना दिनभित्र ढल्छ भन्ने आधार कांग्रेस र एमालेभित्रबाट चुहिएको छैन, अविश्वसनीय राजनीति छ, जुनसुकै बेला भूकम्प जानसक्छ ।