०४६ सालमा जो नेता थिए, सत्तामा थिए, आज पनि तिनै छन् । तर ३५ वर्षमा यिनले आफ्नो शिर झुकाए, देशको शिर झुकाए । आमनागरिकको घृणाको पात्र बनेका छन् । सुन्दर नेपालका असफल, अकर्मण्य र कुरूप नेता बन्नपुगे ।
भाते पाठशालामा पढेका रामचन्द्र पौडेल अर्वपति बने, भागबण्डे राजनीतिमा लागेर राष्ट्रपति बने । त्यो कांग्रेस हुनुको देनमात्र होइन, राजतन्त्रको खोइरो खनेका र इसाईकरणलाई बल पु¥याएकाले पनि हो । तिनै पौडेल आँखाभरि आँसु बोकेर राजनीतिबाट सन्यास लिन्छु भन्ने अवस्थामा पुगेका थिए, जीवनको उत्तराद्र्धमा सत्ताको शिर्ष स्थानमा छन् तर अलोकप्रिय छन् । यिनको झुकेको शिर उठेको छैन । राजनीतिका होनहार नेताहरूको दयनीय स्थिति छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, सबै भ्रष्टाचारमा डामिएका छन् । लोकतन्त्रका नाममा परिवारवाद चलाउने, सुख खोज्ने, सम्पत्ति जोड्ने र देश तथा जनताका लागि त्याग गर्न नसक्ने नेताहरूले स्वार्थको नालीतिर मुख जोतेर, टाउको झुकाएको कत्ति नसुहाउने ?
देउवा अवसरको खोजीमा छन्, ओली अवसर पाएर पनि चेतेका छैनन्, रामचन्द्र नामले मात्र राम छन्, डाइनामिक व्यक्तित्व भनेर चिनिएका प्रचण्ड पनि परिवारवादकै रन्थमोलमा परे । गणतन्त्र छ, यिनले नेतातन्त्र चलाए । यी कुनै नेताले राजनीतिलाई समाज परिवर्तनको औजार बनाउन सकेनन् । यी नेताहरू जनविश्वासको संकटमा छन्, पद्धति बिगार्नेहरू दण्डित हुनथालेको भेउ यी किन पाउँदैनन् ? विचार थियो, नासे । सिद्धान्त थियो सिध्याए । नैतिकता थियो, नैतिकपतन हुनपुगे । अग्रगमनका कुरा गर्छन्, यीभन्दा पश्चगमनकारी कोही होलान् ?
सशक्त पार्टीका अराजनीतिक अशक्त नेता हुन् यी । यिनले देशलाई लोकमार्गमा लगाउनु पर्ने हो, व्यक्तिवादी, परिवारवादी र अहंकारी बनेर शीर निहुराउन पुगे ।