Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

भयो, पैसा पनि चाहिँदैन, तिमीहरू सुखी रहनु

२५ मंगलबार , मंसिर २०८१४ महिना अगाडि

भयो, पैसा पनि चाहिँदैन,
 तिमीहरू सुखी रहनु

लघुकथा   
‘बाबु, तेरो आमा आजकल कमजोर भएकी छिन् । मुख हेर्नेमात्रै भए पनि छिट्टै आइज ।’ अमृतले आफ्नो जेठो छोरा वरूणलाई अमेरिकामा फोन गरेर भने ।  
‘बाबा, म अहिले अमेरिका छु । यसबेला आउन सक्दिनँ । बरू हजुरले रूद्रलाई जापान फोन गर्नुहोस्।’ वरूणले असमर्थता जनाउँदै सुझायो ।  
‘हस्, छोरा । सुखी रहनु ।’ अमृतले फोन राखे र जापानमा फोन लगाए ।  
‘हजुर, बाबा, सञ्चै हुनुहुन्छ ?’ उताबाट रूद्रले बाबाको हालचाल सोध्यो । बुढालाई खुसी लाग्यो । जेठो छोरा आउन नसके पनि कान्छो त अवश्य आउँछ भन्ने लाग्यो ।  
‘छोरा, मलाई त ठीकै छ तर तेरो आमा...’ बुढा बोल्दै गर्दा भावुक भए ।  
‘के भयो र आमालाई ?’ रूद्रले चिन्ता व्यक्त ग¥यो ।  
‘छोरा, तिम्री आमा अस्पतालमा छिन् । दिन गन्दै छिन् । कुन बेला सास रोकिन्छ, थाहा छैन । तिमी छिट्टै आउ छोरा। दिदीबहिनीहरू पनि आउन मानेनन् । तिम्रो दाइले पनि असमर्थता जनायो । जसरी भए पनि घर आउ, अन्तिमपटक आमाको मुख हेर्न ।’ अमृत फोनमै ग्वाँग्वाँ रून थाले ।  
‘बाबा, भयो । नरूनुहोस् । हजुर रोएर पनि आमा बाँच्नु हुन्न । म आएर पनि आमालाई केही फरक पर्दैन । म टाढा जापानमा छु । छुट्टी मिलाउन पनि समय लाग्छ ।’ रूद्रले बाबालाई सम्झाउन थाल्यो ।  
‘त्यसो भए, तिमी पनि आउँदैनौ त बाबु ?’ अमृतले आँसु पुछ्दै भने ।  
‘म आमाको अन्तिम संस्कारका लागि केही पैसा पठाइदिन्छु, बाबा । म अहिले आउन सक्दिनँ, तर पछि आउँछु ।’ रूद्रले भन्यो ।  
‘भयो, छोरा । पैसा पनि चाहिँदैन । तिमीहरू सुखी रहनु, त्यत्ति भए पुग्छ ।’ अमृतले फोन काटे र थचक्क बस्दै दुबै हातले टाउको छोपेर ग्वाँग्वाँ रून थाले ।   
– सुरेशकुमार पाण्डे (लघुकथा कुनोबाट)

photo tk