रोशन कार्की:- सिरियल किलर फ्रेन्च नागरिक चार्ल्स शोभराज जेलमा छन्, जेलमै बसेर भर्खरकी युवतीसँग उनले विवाह गरेर तहलकासमेत मच्चाए। उनी भन्ने गर्छन्– नेपालको एयरपोर्टबाट म हात्ती पनि छिराइदिन सक्छु। अपराधी यसरी एयरपोर्टको सुरक्षा प्रवन्धमाथि यसरी धावा बोल्छ भने निश्चय नै एयरपोर्ट प्रशासनमा छिद्र होइन, भ्वाङ छ, सुरक्षा होइन आपराधिकहरुको चलखेल चलिरहेको छ। चार्ल्सले एयरपोर्टभित्र हुने अवैध क्रियाकलाप र खासगरी तस्करी, माफियाकरणलाई इंगित गरेर यसो भनेका हुन्। हिजोआज दिनहुँ एयरलाइन्स, श्रम, वैदेशिक रोजगार, अध्यागमन, सुरक्षा निकायको सेटिङमा यताको सामान उतामात्र होइन, उताबाट पक्राउ गरेर पठाएको मान्छे भित्रभित्रै उतै उडाइदिने काम भइरहेका समाचार पनि सार्वजनिक भएको छ। यसरी जघन्य अपराध गर्दासमेत कुनै कर्मचारीमाथि कडा कारवाही भएको उदाहरण भने पढ्न पाइएको छैन।
अहिले एयरपोर्टमा एयरलाइन्स कर्मचारीसँग मिलोमतो गरेर दिनहुँ सुन तस्करी हुनेगरेको छ। पहिले पहिले तस्करले एयरपोर्ट नै ठेक्कामा लिने गर्थे। अहिले कर्मचारी ठेक्कामा लिएर इधरका माल उधर, उधरका माल इधर गर्ने परम्परा बसेको छ। सुन वा अन्य अवैध बस्तु तस्करी गर्नु छ भने नेपाल एयरलाइन्स अथवा कुनै पनि एयरलाइन्सका कर्मचारीलाई हात लिए हुन्छ। उनीहरुले तस्करी धन्दा मजाले चलाइदिन्छन्। एयरपोर्टमा तस्करीको ठेक्का, अचम्म छैन त?
३ करोड बुझाएर पुनः नेपाल एयरलाइन्सका कार्यकारी बनेर आएका सुगतरत्न कंसाकारले एयरहोस्टेसहरुलाई उपयोग गरेर सुन तस्करी गराएको सुनसनी फैलाएका छन् एक सुनव्यापारीले। यिनै एयरलाइन्सका कर्मचारीहरुले विदेशी मुद्रा इधर, उधर पनि गरिरहेका छन्। विदेशी एयरलाइनसहरुसमेत नेपालबाट अवैध धन्दा गरिरहेको आशंका गरिएको छ। तर गर्ने के? एयरपोर्टमा जसलाई खटाए पनि उतै सेटिङमा रत्तिन थालेपछि नेपालको एयरपोर्ट खतरनाक बन्न थालेको छ। विदेशीहरुले समेत नेपालको एयरपोर्टमाथि आशंका गर्न थालेका छन्।
खबर आयो कि नेपाल आयल निगमको इन्धन डिपोको गेटबाट नेपाल वायुसेवाको गोदाम, गोदामबाट एप्रोन हुँदै बिना जाँ जहाजसम्म आवत जावत नेपाल एयरलाइन्सका कुन कुन कर्मचारी गरिरहेका छन्, यत्ति जाँच्ने हो भने तस्करीको भण्डाफोर हुन्छ भन्छन् एयरपोर्टकै कर्मचारी। स्मरणीय के पनि छ भने हवाई जहाजका फोहर सफा गर्ने, जहाजमा खाद्यान्नलगायतका सामान लाने मार्ग पनि यही हो। स्रोत भन्छ– तस्करीको सुरक्षित लाइन भनेको यही हो। जबदेखि सुगतरत्न नेपाल एयरलाइन्समा पुनः नियुक्त भएर आए, उनले यो लाइन निर्वाध रुपमा चलाइरहेका छन्। जुन प्रहरी सेटिङमा टाङ अडाउँछ, उसलाई सरुवा गराइदिन तत्काल राजनीतिक लविङसमेत सुरु हुने गर्छ। विदेशी मुद्रा पठाउने र सुन ल्याउने यो मार्गबारे सुरक्षा निकायलाई थाहा छ, तर नियन्त्रण गर्दैन। किन?
भनिन्छ, अहिलेका अर्थमन्त्रीको समेत यो तस्करी धन्दामा समर्थन रहेको छ। एमाले पार्टीलाई मोटो रकम चन्दा आउनु नै यो समर्थनको मुख्य कारण हो।


