यी हुन वालकृष्ण ढुंगेल। उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका वालकृष्ण ढुंगेलमाथि सर्वोच्च अदालतकै संवैधानिक अदालतले गत पुस २४ गते ढुंगेललाई आममाफी हुनसक्दैन भन्दै पुनः फैसला कार्यान्वयन गर्नु भन्ने आदेश दिएको थियो। र, फैसला कार्यान्वयन गरिपाउँ भनेर पीडितकी दिदी सावित्री श्रेष्ठले निवेदन दिए पनि प्रहरीले वालकृष्ण श्रेष्ठलाई पक्राउ गर्न चाहेको छैन। प्रहरी भन्छ– सम्बन्धित निकायलाई लेखिपठाएको छ। अर्थात प्रहरी वालकृष्ण ढुंगेललाई पक्राउ गर्न आनाकानी गर्नुको मुख्य कारण वालकृष्ण श्रेष्ठ माओवादी हुनुले हो। यो घटनाले के प्रश्न उब्जाएको छ भने अदालतको फैसला कार्यान्वयन गर्ने निकाय कुन हो? सावित्री श्रेष्ठलाई गृह मन्त्रालयले प्रहरीमा जान भनेपछि उनी प्रहरी प्रधान कार्यालय पनि गइन् तर अझै पनि फैसला कार्यान्वयन हुनसकेन।
स्मरणीय छ, गृह मन्त्री एमाओवादीका शक्ति बस्नेत छन्। एउटा माओवादीले अर्को माओवादीमाथि कसरी कारवाही गर्न सक्छ? यही प्रश्नले अदालतको फैसला र आदेशको निरन्तर रुपमा उल्लंघन हुँदै आएको छ। यस्ता अनगिन्ति घटनाहरु छन्, जसले अदालतका फैसलाहरु कार्यान्वयन हुन सकेका छैनन्। राज्यको यस्तो नीतिले गर्दा लोकतन्त्रमा विधिको शासन हावादारी सावित भइरहेको छ। लोकतन्त्रमा कुनै पनि प्रकारको विभेदका लागि ठाउँ हुनसक्दैन। तर जनयुद्धकालीन फौजदारी मुद्दाहरु र अन्य अदालती फैसलाहरु कार्यान्वयन हुन नसकेका लाखौं फाइलहरु रेकर्डमा छन्। अदालत फैसला गर्दै जाने र कार्यान्वयन हुन नसक्ने हो भने अदालतको औचित्य र लोकराज्यको महत्व मात्रै होइन, सामाजिक सद्भाव, कानुनप्रतिको विश्वास र कानुनी राज्यको सिद्धान्त कसरी प्रभावकारी हुनसक्छ र? कानुन छ भन्ने भय भने समाजमा अराजकता फैलिन्छ।
हामीले वालकृष्ण ढुंगेलप्रति पूर्वाग्रह राखेर यो लेखिरहेका होइनौं। कानुनी राज्य प्रभावशाली पार्नका लागि राजनीतिक दलहरुले आपराधिक क्रियाकलापमा दण्ड पाएका अथवा दण्ड पाउनुपर्ने बर्गलाई काखी च्यापेर कानुनको यसरी मजाक उडाउनु हुँदैन। कानुन जति कमजोर भयो, अपराधीहरु उति नै बलशाली हुन्छन्। अपराधी बलशाली हुनु भनेको सामाजिक न्यायमा बिचलन आउनु र ल एण्ड अर्डर को कायम हुन नसक्नु हो। यसैगरी आपराधिक क्रियाकलापमा दण्डित व्यक्तिहरु खुला रुपमा बस्न सक्नुले संविधानको मर्म र अदालतको मर्यादामाथि पनि प्रश्नचिन्ह उठ्न पुगेको छ। राज्य कानुनी राज्य कायम गर्न चुक्नु पनि अपराध हो।


