यहि मंसीर १६ गते सम्पन्न स्थानीय तहको रिक्त ४१ पदका उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । १ जना नगरप्रमुख, १ जना उपप्रमुख, २ जना गाउँपालिका अध्यक्ष, ४ जना उपाध्यक्ष र ३३ जना वडाध्यक्ष गरि रिक्त ४१ पदका लागि उपनिर्वाचन भएकाे हाे ।
निर्वाचन आयोगका अनुसार सबै स्थानकाे मतगणना सम्पन्न भएसँगै सोमबार राति मत परिणाम सार्वजनिक भएको हो । सातै प्रदेशका विभिन्न पालिकामा भएका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा ठूलो उथलपुथलको संकेत नगरेको बतइएकाे छ ।
उपनिर्वाचनका लागि रिक्त ४४ पद भएकाेमा ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध भएका थिए भने रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध भएका थिए ।
यसरी ४४ रिक्त पद मध्य ३ जना निर्विराेध भएपछि बाँकी ४१ पदका लागि मंसीर १६ गते उपनिर्वाचन भएकाे थियाे । हाल सबै स्थानकाे मतगणना भएर मत परिणाम सार्वजनिक भैसकेकाे निर्वाचन आयोगले जानकारी गराएकाे छ ।
निर्वाचन आयोगकाे पछिल्लाे अपडेटअनुसार नेपाली कांग्रेसले १७,नेकपा माओवादी केन्द्रले ११,नेकपा एमालेले ८ स्थानमा विजयी हासिल गरेका छन् । त्यस्तै जसपा २,रास्वपा,एकीकृत समाजवादी नेमकिपा र स्वतन्त्रबाट १/१ जना साथै जिल्ला समन्वय समितितर्फ २ गरी जम्मा ४४ जना निर्वाचित भएका छन् ।