ओली–देउवा राजनीतिक सम्बन्ध, मिलाप विश्लेषक भन्छन्– माया बैगुनी, नभई नहुनी ! तर राजनीतिक बजार गरम छ, ओली सरकार बिहानै, बेलुकै, राति, जुनबेला पनि ढल्न सक्छ ।
अहिले भन्न थालिएको छ– चीन भ्रमणबाट फर्कनासाथ सरकार ढल्छ ।
प्रतिपक्षी माओवादी र कांग्रेसका गगन थापावीच जुवारी चलेको छ । गगन भन्छन्– प्रचण्डले दिनदिनै प्रधानमन्त्री बन्नुस् भनिरहेका छन् । प्रचण्डको जवाफ छ– मैले भनेको छैन, गगन नैतिकहीन नेता हुन्, दया लाग्छ ।
यो जुवारी सुनेपछि लाग्छ, ठूला दुई दलको मित्रता टुट्नेवाला छैन, यो विश्वास फुट्नेवाला होइन । तर हालैका दिनमा भाजपाका नेता जोली निकै दिन काठमाडौं बसे, प्रम ओली र चीनवीच के के होला भनेर बुझे, भारतीय मिडियाहरूमा खबरछ– नेपाल भारतको झोलीमा गयो । अर्थात् भारतले नै सरकार ढाल्नसक्छ ।
मंसिर १६ को पालिका उपनिर्वाचनमा सत्तारूढ दुबै दल एक्लाएक्लै चुनाव लडे । यो चुनावमा कुनै बैमनुस्यता देखिएन । यी दुईवीच कलह भनेकै मन्त्री फेर्ने र चीनसँग बीआरआईमा के के सहमति गर्ने, ऋण लिने कि नलिने भन्ने हो । तर दुबै शीर्ष नेतावीचको भेटमा मतो मिलेको छ ।
परराष्ट्रमन्त्री छिन्, सभापति देउवा पत्नी । उनी चीन गइन्, फर्किइन् र प्रमसँग चीन गइन् । आरजुलाई चीनले पत्याएको देखिएन । उनले भनिन्– ऋण लिनसक्ने स्थितिमा नेपाल छैन । बिपक्षीहरू भनिरहेका छन्– ऋण लिन हुन्न, श्रीलंका र पाकिस्तानमा जस्तो ऋणमा डुब्ने स्थिति आउँछ । विश्लेषक भन्छन्– कतिपय आयोजना सित्तै बनाइदिन्छु भने पनि सित्तै लिन हुन्न भनेर बिरोध गर्ने निस्कन्छन् । न त नेपाल ऋण चाहिदैन भन्ने स्थितिमा छ, न सबैकुरा सित्तै चाहियो भन्न नै सक्छ । नेपाल भूराजनीतिमा यसरी जेलिएको छ कि यतिबेला नेपालले चलाखीपूर्ण कुटनीतिक चरित्र देखायो भने विश्वशक्तिको प्रतिस्पर्धाकै कारण नेपालले धेरै ठूलो प्रगति गर्नसक्छ ।
एमाले फुटेर नेकपा स बन्यो, त्यो आफै फुट्ने स्थितिमा भएकाले एमाले फेरि फुट्नेवाला छैन । देउवा र ओलीवीच २ वर्ष ओलीले सत्ता चलाउने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने बलियो सहमति छ । यो सहमतिमा जतिसुकै अमिलो निचोर्ने प्रयत्न भए पनि त्यसले भर विश्वास फाट्नेछ भन्न सकिने अवस्था छैन ।
देउवा र ओलीबीचको मित्रता ३० को दशकमा केन्द्रीय कारागारबाट सुरू भएको हो । जेलको बसाइदेखि उनीहरूबीच आपसमा भावनात्मक सम्बन्ध छ । देउवाको निष्कर्ष छ– एमालेभित्र जेसुकै होस्, ओलीसँग गरेको सहमतिबाट दायाँवायाँ नहुने र ओलीले धोका नदिने निश्चित छ ।
०५४ सालमा महाकाली सन्धि पारित गर्ने सन्दर्भमा देउवा र ओलीको केमिस्ट्री झन मिलेको थियो । देउवालाई ओलीको दह्रो साथ थियो, त्यो गुण देउवाले बिर्सेका छैनन् । ०५९ सालमा प्रधानमन्त्री बन्दा वा एमसीसी पारित गर्दा दुबैको एउटै मतो थियो । मिलेका थिए ।
ओलीको मात्र होइन, देउवा मुछिएका भ्रष्टाचारका ठूला ठूला प्करणमा दुबै नेता एक दोस्रामा नरम बनेका छन । अन्य व्यक्तिगत लाभहानी र स्वार्थमा पनि दुबै मिलेका देखिन्छन् । देउवा र ओली भेट हुनासाथ मिल्छन् र मित्रालाप सार्वजनिक हुने गरेका छैनन् । मित्रालाप गोप्य रहन्छ । संयुक्त सरकारले गर्ने नियुक्तीहरूमा दुबैको चोचोमोचो मिलेको छ । बजारमा दुबैवीच, दुबै पार्टीवीच विवाद भएको कुरा सुनिए पनि त्यस्तो होइन भन्छन् देउवा र ओली निकटेहरू ।
प्रधानमन्त्रीबाट बर्खास्त हुँदा चिढिने अवस्था बाहेक दुबैवीच थप तिक्तता छैन । त्यो तिक्तता यतिबेलाको ओलीको सत्ताले पखालिदिएको छ । यो भरविश्वासको साइनो आत्महत्या कि लोकतान्त्रिक ? समयले किटान गर्ला ?