
आज स्थानीय तहको ४१ पदका लागि उपनिर्वाचन सुरू भएकाे छ । बिहान ७ बजेदेखि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा मतदातालाई मतदान केन्द्रमा उपस्थित भई रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आग्रह गरेकाे छ ।
त्यस्तै मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ७६ उमेदवार प्रतिस्पर्धा गर्दैछन् । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।