Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

षडयन्त्रकारी हुन् प्रसाई मार्काहरू

शाश्वत शर्मा

११ मंगलबार , मंसिर २०८११६ दिन अगाडि

षडयन्त्रकारी हुन् प्रसाई मार्काहरू

जनता फेरि झुक्यानमा परे । मंसिर ७ मा व्यवस्था नै बदलिन्छ भन्ने दुर्गा प्रसाई समूहले गरेको आन्दोलन हात्ती आयो हात्ती आयो फुस्सा हुनपुगेको छ । झुक्यानमा पर्नु नेपालीको नियति नै हो । केशर विष्टहरूले यस्तै आन्दोलन गर्नेछन् र नेपाली फेरि पनि झुक्यानमा पर्नेछन् । जसरी गतसाल बल्खुमा आन्दोलनको आगो बलेको थियो, भोलिपल्ट सेलायो, त्यसैगरी यसपल्ट मंसिर ७ लाई पुषे ठण्डीले भेटेको देखियो । जम्माजम्मी हजारको भीडले कोटेश्वरमा नारा लगायो, दुर्गा प्रसाईको मंसिर ७ सकियो । दुर्गा प्रसाई जेलमा छन्, त्यसैले आन्दोलन कमजोर भएको भनियो । हजुरबा ओली र नाती दुर्गाको मिलिभगत हो भन्नेहरूको पनि जमातै देखिन्छ । यो तरिकाले हिन्दु, राजतन्त्रवादी, लघुबित्त सहकारी पीडितलाई यो तरिकाले रछ्यानमा पु¥याइएको छ । प्रसाईको जालझेल बुझेर नै पोहर राजा झापा गएका थिए, यसपटक लुम्बिनी । कतिपय प्रसाईसँग जोडिएकाहरू अलग हुनथालेका छन् । प्रसाईले अब अस्पताल चलाएर बसे हुन्छ । अब पालो केशर बिष्ट र राप्रपाको देखिदैछ ।
बिष्ट जुर्मुराउँछन् र थकाइ मार्छन् । अलि अगाडि वीर गोर्खाली, शिवसेनाहरूले देशका बिभिन्न स्थानमा जुलुस निकाले । ती पनि सेलाएको अवस्था छ । दुर्गा प्रसाईका समर्थकहरू यो पद्धति नै फाल्ने जग हालिसकेको धक्कु लगाउँछन् । त्यो भनाइ कथित कम्बोडिया काण्डले लछारपाटो लगाउन नसकेको देखियो । राजदरवारको ढोकैमा उभिएर प्रम ओली गर्जिए– ३२ अर्व लगानी प्रमाणित गरिदिए थपेर दिन्छु । प्रधानमन्त्रीले सरकार ढल्दैन, भ्रष्टाचार गरेको छैन, भ्रष्टाचार सह्य छैन भन्दै हिड्नु परेको छ । यो कस्तो लोकतन्त्र हो, जसले राम्रो काम गरेको एउटा पनि उदाहरण देखाउन सक्दैन । यही मेसोमा पूर्व पत्रकार रमा सिंह पनि मैदानमा उत्रिएकी छिन् । जनतासँग यो व्यवस्था फाल्न साथ दिनुहोस् भनेर आह्वान गर्दैछिन् । यिनै तिनै प्रसाईबाट उछिट्टिएकी नेतृ हुन् । यस्ता राजावादीहरूकै कारण नेपालमा राजतन्त्रको पुनःस्र्थापन झन टाढा टाढा हुनथालेको विश्लेषण हुँदैछ । अब प्रसाईले अर्को मंसिर ७ को पासा फाल्नेछन् । राजावादीहरूको कृयाकलाप हेर्दा लाग्छ, राजतन्त्रलाई अलोकप्रिय बनाउने तत्व यिनै हुन् । राजावादीहरूसँग दम छैन, यिनले राजतन्त्र ल्याउन सक्दैनन् भन्ने राजतन्त्रवादीहरूको हावादारी आन्दोलनले देखाउँदै गएको छ । यसले गर्दा राष्ट्रवादी नेपालीलाई निराश तुल्याएको छ । यत्रो राष्ट्रघात, भ्रष्टाचारहरूका काण्ड भएका छन्, आमनागरिक छटपटीमा छन्, कसले परिवर्तनका लागि आप्mना अपेक्षा पूरा गरिदिन्छन् भनेर बसेका छन्, तर आमनागरिक जोकर हेर्न बाध्य छन् ।
नेपालीले परिवर्तन खोज्ने हो भने यस्तो नेतृत्वबाट सम्भव छैन । आफै उठेर बिद्रोह गर्नुको बिकल्प छैन । श्रीलंका र बंगलादेशको उदाहरण दिनेमात्र होइन कि त्यस्तै जनविद्रोहको स्वरूप यहाँ पनि लागू गर्नुप¥यो । जनताको थाप्लोमो ८२ हजारको ऋणको भारी बोकाएर आफ्ना सन्तानको भविष्य उज्यालो पार्ने भ्रष्ट नेतृत्वलाई फाल्न जनता नै जागरूक हुनुपर्छ । जनताले अब कसैको भर पर्नु व्यर्थ छ ।
एकथरि भन्छन् सहकारी पीडितको आन्दोलनले यो व्यवस्था फालिनेछ । अर्काथरि भन्छन् द्वन्द्वपीडितहरूले सक्छन् । यो व्यवस्था पहिचानवादीहरूको आन्दोलनले फेरिन्छ । कतिपयले रास्वपातिर आँखा लगाइरहेका छन् । प्रष्ट हौं, यिनीहरू कसैले केही गर्दैनन् । त्यति भयानक ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी काण्ड, वाइडबडी भ्रष्टाचार, नागरिकता बिधेयकलगायतका प्रकरणले त यी नेतृत्वलाई छुन सकेन, कसैमाथि कुनै कारवाही नै हुनसकेन भने यस्ता चानचुने आन्दोलनले यिनलाई के गर्नसक्छ र ? यी लुटेरा व्यवस्थाका लागि एक हुने यी भ्रष्टहरूलाई किनारा लगाउन सक्ने ताकत जनतासँगमात्र छ । जनविद्रोहले मात्र यिनलाई दण्डित गर्नसक्छ ।
जनबिद्रोहमा कुनै चिनिएका नेता हुँदैनन् । संगठित अवस्था पनि रहँदैन । यो त बाढी हो, हुरी हो, सुनामी हो । त्यो सुनामीको नाम जनबिद्रोह हुनेछ । जनबिद्रोहमा परिवर्तनको भोक हुन्छ, कुनै कोही पदको लालसामा हुँदैनन् । देशप्रेम हुन्छ, आफ्ना सन्ततीका लागि सुरक्षित भविष्यको चिन्ता हुन्छ । त्यस्तो बिद्रोह भयो र सफल भयो भने त्यसपछि कसरी अगाडि बढ्ने ? भन्ने सवाल पछि आउला । जनताका सामु रहेको चुनौती भनेकै यी भ्रष्ट र भ्रष्ट व्यवस्था फाल्ने कसरी ? त्यो मुख्य कुरा हो । त्यस्तो बिद्रोहका लागि बिष्ट, प्रसाई, लिङ्देनको मुख ताकेर हुन्न, जनता आफै अग्रसर हुनुपर्छ, आफैले नेतृत्व लिनुपर्छ । जनताले एकपल्ट घरघरबाट निस्केर बिद्रोह गरे भने यो व्यवस्था ढल्ने र यी नेताहरूको भागम्भाग हुने पक्का छ ।