Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कठै नेपाल।सफा बागमती, ग्रिन काठमाडौं: चर्चै बढी

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ :

बागमती सफाई अभियान थालेको १५० हप्ता भएछ। यही अवसरमा डा.बाबुराम भट्टराईले नयाँशक्ति पार्टीको प्रचार ग्रिन काठमाडौं अभियानबाट थालनी गरे। अर्थात अहिले राजनीतिकर्मी राजनीतिलाई होइन, सडक, नदीलाई सफाई अभियानका रुपमा चचाएमा ल्याइरहेका छन्, चर्चित भइरहेका छन्।

सभ्य मानिसका लागि सफाई सामान्य कुरा हो। सफाई बिना मान्छे स्वस्थ भएर बाँच्नै सक्दैन। त्यसैले सफाई अभियान चलाउनु पर्ने विषय नै थिएन। तर के गर्ने मान्छेभित्र पशु प्रवृत्ति विकास भएपछि फोहरजति नदीमा फाल्ने वा सडक किनारामा मिल्काइदिने काम हुनथाल्यो। नदी सफा गर्ने काम सरकारको, सडक सफा गर्ने काम नगर, महानगरको हो भन्ने बानी बसेको छ हामीमा। त्यसैले सभ्यताका धनी हामी नदी सभ्यता बिर्सिसकेका छौं, राजनीतिमा महारथ हासिल गरेका हामी, सडक सफाई अभियान चलाएर समय खेर फालिरहेका छौं। जबकि हामी आफैले घर, टोल सफा गर्ने हो भने ग्रिन काठमाडौंको नारा कुनै पार्टीले लगाउनै पर्दैन। हामीले नदी सभ्यता बचाउन सचेत भयौं भने बागमती सफाई अभियानलाई फेसनको रुपमा विकास गर्नै पर्दैन। स्वतः नदी सफा भइहाल्छ। फोहर नदी होइन, हामी हौं, असभ्य र फोहरी मानसिकता हामी नागरिकभित्र छ। हामीभित्रको फोहरी प्रवृत्ति, सोच नबदलीकन हप्ताको एकदिन नदी सफाई गरेर अथवा पार्टीको प्रचार गर्ने हतियारको रुपमा ग्रिन काठमाडौं अभियान चलाएर केही हुनेवाला छैन।

बागमती सफा गर्न कुन दूतावास गएन। कुन कूटनीतिज्ञले फोहर सफा गरेन। फिल्मी कलाकारदेखि सामाजिक अभियन्ता, बिगहाउस देखि बैंकरसम्म सबैले नदी सभ्यता बचाउन लागि परे। हप्ताको एकदिन रमाइलोमात्र बनेको छ बागमती सफाई अभियान। हो, अधिकार सम्पन्न आयोग पनि छ, बजेट पनि खर्च भएको छ। तर, एकदिन सफा गर्‍यो, ६ दिन कसैले वास्ता नगरेपछि एकसय पचास के हजार पचास हप्ता सफा गरे पनि बागमती सफा हुनेवाला छैन। हो, केही मात्रामा दिशापिसाव बग्ने बागमतीमा पानी हो कि होकि जस्तो देखिन्छ। तर जबसम्म हाम्रो सोच, फोहरी संस्कार र नदी सभ्यता बचाउनुपर्छ भन्ने चेत फिर्दैन तवसम्म न नदी सफा हुन्छ, न नगर नै सफा देखिनसक्छ। पहिले हामीभित्रको फोहर फालौं।