मंसीर १६ गते हुन लागेकाे स्थानीय तहको उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । २ जिल्ला समन्वय समिति र १ जना वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा जिल्ला समन्वय समिति ओखलढुंगाका नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुख टीकाकुमारी चौधरी (भुल) रहेकाे आयोगले जनाएको छ । त्यसैगरी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
मंसीर १६ गते हुने उपनिर्वाचनमा जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदमा विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ जना गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएकाे आयोगले जनाएकाे छ ।