बागमती सफाइ अभियान ६ सय १ हप्ता नाघिसक्यो । तर बागमती ढलमतीबाट पवित्र हुनसकेन । बागद्वारबाट पवित्र पानी बग्छ तर चोभार पुग्दा नपुग्दै मलमूत्रका फिजमात्र देखिन्छ । यसको कारण सफाइ अभियान चल्यो, चेतना अभियान चलेन । बागमती सभ्यताबारे राजधानीबासीलाई विवेकशील बनाउन सकिएन । राजनीति फोहर भएपछि प्रशासन फोहर हुनेरहेछ, जनजनको मानसिकता पनि फोहरी हुनेरहेछ । बागमती सफाइ गर्दा पनि फोहर नै हुनु भनेको बासिन्दा फोहरी भएर हो । अन्यथा ६ सय १ हप्ता सफाइ गर्दा पनि बागमती उस्तै फोहर कसरी हुन्छ त ?
बागमतीका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरू भएको वाग्मती सफाइ महाअभियान असफल हुनपुगेको छ । २०७० जेठ ५ गते सुरू भएको वाग्मती सफाइ महाअभियानमा कूटनीतिक, सुरक्षा निकाय, विद्यार्थी, समाजसेवी, प्रशासकसमेत जुट्ने गरेका छन् । यो जुटाइ तमासामा सिमित हुनपुगेको छ ।
मुहान तलबाट फोहर मिसाउन सुरू गरिन्छ, पशुपति क्षेत्र आइपुग्दा मलमुत्र बग्ने भइसकेको हुन्छ बागमती । त्योभन्दा तल पनि जनताले मलमुत्र, फोहर नै फाल्छन् । पशुपति विकास कोष, अधिकार सम्पन्न बागमती आयोजनाले समेत बजेट सक्ने र भाषण गरेर बस्नाले चेतना अभिवृद्धि हुन नसकेको हो । स्थानीय सरकार पनि फोहर व्यवस्थापनमा उदासीन रहने गरेको पाइएको छ ।
सफाइ अभियानकर्मीहरू वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न खोजिएको हो, आशातीत काम भने हुन सकेन । बागमतीलाई ढलमुक्त गराउन सकिएन । अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको थियो, वर्षौंपछि पनि यो समिति राजनीतिकमात्र बनेको छ । जता पनि अति राजनीति, कार्यकर्ता पाल्ने र चुनावटमात्र हुने भएपछि बेथिति सुध्रिन्न ।