हालै भारत सरकारले एसियन बुद्धिस्ट समिट’ सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लाम सहभागी भएका थिए । उनले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् ।
उनले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरू संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज गर्नुपर्ने र बौद्ध शिक्षाका माध्यमबाट एसिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राखे तर यस्तो सम्मेलनको आयोजना लुम्बिनीमा किन राख्ने प्रस्ताव गरेनन्, यो आश्यर्चको विषय हो । यो सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरूको सहभागिता थियो, तिनलाई लुम्बिनी दर्शन गराउने प्रयाससमेत लामाले गरेनन् ।
यसअघि वनारसमा भएको सम्मेलनले ‘अन्तर्राष्ट्रिय बुद्ध सर्किट’ प्रस्तावलाई पारित गरेको थियो । यो पारित प्रस्तावलाई भारतले १२औं पञ्चवर्षीय योजनामा समावेश गरिसकेको छ । बुद्ध जन्मेको लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोध गया, प्रथम प्रवचन दिएको सारनाथ र महापरिनिर्माण प्राप्त गरेको कुशीनगर यो बुद्ध सर्किटमा समावेश छन् तर कपिलवस्तुका तौलिहवा, तिलौराकोट, रामग्राम, देवदहजस्ता पवित्रस्थलहरूलाई सर्किटमा भारतले समावेश गरेको छैन ।
नेपालमा रहेका बुद्धमार्गी, विज्ञ, अनुयायी, अनेक संस्थाहरू छन्, तिनले बुद्ध सर्किटमा बुद्ध जन्मथलो हुनुपर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलनहरू नियमित हुनुपर्ने विषयमा कहिले पनि बोलेका छैनन् । लाजगाल टार्न उपाध्यक्ष ल्यारक्याल लामाले भारतमा भएको ‘एसियन बुद्धिस्ट समिट’मा आएका बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न आग्रहमात्र गर्नु असक्षमता हो । तिनलाई पनि लुम्बिनी भ्रमण गराउन सकेको भए, थप प्रचार हुनेथियो । लुम्बिनी विकास कोषले गतिलो नेतृत्व नपाएको पहिले पनि गुनासो थियो, अहिले झन त्यो गुनासो प्रष्ट हुनपुगेको छ ।