चाडबाड सकियो, अब आन्दोलन सुरू हुन्छन् । रास्वपा सडकमै छ, दुर्गा प्रसाईहरूले मंसिर ७ को भद्रो हेरेका छन् । पीडितहरू सर्बत्र सलबलाउँदैछन् । राप्रपाले पनि आन्दोलनको मनस्थिति बनाएको छ । प्रतिपक्षी माओवादीले हल्लाबोल गरिरहेकै छ । जनमतले पनि सडक तताउने तरखर गरिरहेकै छ । कांग्रेस एमालेको गठबन्धन तोड्न देशी विदेशी खासगरी दक्षिणी छिमेकी लागेको छ । प्रम चीन जाने निर्णय गरेपछि त दक्षिणी छिमेकी जलीमली भएको छ । अर्थात्, व्यवस्था फाल्ने र सरकार फाल्ने आन्दोलनको ज्वारभाटा देखिन थालेको छ । रास्वपाका अध्यक्ष जेलमा छन्, उनललाई छुटाउन माओवादीले मलजल गरेको देखिन्छ ।
यता राजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गराउन चाहनेहरूले राजधानीमा अभिनन्दन गर्ने चाँजोपाँजो मिलाउँदैछन् । राष्ट्रिय शक्ति नेपालका केशर विष्टहरू राजधानीका नेवार समुदायलाई साथमा लिएर आन्दोलनको आगो दन्काउन खोजिरहेका छन् । समष्टिमा भन्नुपर्दा नेपाल आन्दोलनमय भएको छ । आन्दोलनले व्यवस्था फाल्छ कि सरकार परिवर्तन गरेर टालटुले आन्दोलन हुनेछ, त्यो समयले बताउला । राजनीतिक दल र विभिन्न खाले अभियन्ताहरूवीच आन्दोलनलाई लिएर बिबाद पनि देखिन्छ । राप्रपा, रास्वपाभित्र पनि अनेक विवाद छन् । दुर्गा प्रसाईका आन्दोलनकारीहरू पनि पातलिन थालेको देखिन्छ । यसरी टुक्रे, फाटफुटेहरूबाट आन्दोलन हुँदैन । त्यस्तो आन्दोलनबाट कुनै परिणाम पनि निस्कदैन । जबसम्म आम जनतालाई एकसाथ आन्दोलनकारीहरूले एक भएर सडकमा उतार्दैनन्, केही हुनेवाला छैन । यस्तो आन्दोलनले सरकार त परिवर्तन हुनसक्दैन भने व्यवस्था परिवर्तन कसरी सम्भव होला ?
खास कुरो जनता व्यवस्था फाल्न तैयार छन् । आन्दोलित जनतालाई सडकमा उतार्ने दह्रो नेतृत्व कतै छैन । नीति, कार्यक्रम के छ ? परिवर्तनप्रति आश्वस्त पार्ने शक्ति पनि देखिदैन । गत मंसिर ७ गते केही घण्टा ठूलै आन्दोलन भयो, आँधी थामियो, सकियो । राप्रपा र केशर विष्टहरूको पनि हाल त्यही देखियो । राप्रपाले त राजधानीहै एकजना कार्यकर्ता मारिदासमेत प्रतिकार गरेन । अनि किन आउँछन् आन्दोल नगर्न जनता ? घाइतेलाई उपचार, पक्राउ पर्नेलाई, मारिनेलाई उपचार क्षतिपूर्ति केही पनि छैन । खाली निस्तो आन्दोलन आह्वान गरयो, भाषण ठोक्यो, निषेधित क्षेत्र तोड्न खोजेजस्तो ग¥यो घरतिर लाग्यो, यही हो राजनीति ? यो त लहडमा आन्दोलन गरेजस्तो भएन र ? यस्ता हल्का आन्दोलनले निराश जनतामा झन निराशमात्र थप्छ । दुर्गा प्रसाईका लागि पनि अन्तिम अवसर हो ।
देश अपराधमय भइसक्यो । संघ, प्रदेशका मन्त्रीदेखि उपसभामुखसम्म मानव बेचबिखनमा, प्रधानमन्त्रीदेखि हरेक नेता कुनै न कुनै भ्रष्टाचारमा दागी देखिएका छन् । कुनै एउटा क्षेत्र छैन, जहाँ आशाको किरण देखियोस् । यस्तो कहालीलाग्दो अवस्थामा गरिने आन्दोलन पनि उही गालटारा ? झारा टार्ने आन्दोलन ?
अबको आन्दोलनलाई पनि हल्का लिइयो भने, नेतृत्व भनाउँदालाई तिरस्कार गरिने छ । आन्दोलनकारीहरूले परिणाम नआएसम्म कुन प्रकारले आन्दोलन गर्ने, सडक आगो बाल्ने हो, जनबिद्रोह गर्ने हो, त्यो स्पष्ट पार्न जरूरी छ । सधैं भ्रम छरेर केही हुनेवाला छैन । सिंहदरवार कब्जा गर्ने भनेर भृकुटीमण्डपमा खबरदारी गरेर चूप लाग्ने जस्तो आन्दोलनप्रति जनआकर्षण हुनेछैन । यस्तै आन्दोलन देखियो भने स्वयम् यिनले डाँडा काटे हुन्छ । गतवर्ष जनता उत्रिए, भोलिपल्टदेखि कोणसभातिर मोडियो आन्दोलन । केशर विष्टहरूले राजधानीमा आन्दोलनको आगो बाल्ने भने, तर केही भएन । हेरौं यो पटकको आन्दोलन पनि कतैबाट लाइन नआएसम्मका लागि हो कि साँच्चै आन्दोलन हुने हो ? राप्रपा त बिभाजनकै संघारमा छ भनिदैछ । त्यस्तो पार्टीको आन्दोलन प्रभावकारी कसरी होला र ? मुख्य सवाल के छ भने सबै आन्दोलनकारी एक हुनसकेनन्, सबै तह र तप्काका जनतालाई समेट्ने प्रयास पनि गरेनन् । आआफूले आन्दोलन गर्ने र जस पनि आफै लिने आन्दोलनकारीको लक्ष्य देखिन्छ । यस्ताको आन्दोलनबाट कुनै नतिजा निस्कन सक्दैन । राज्य दमनमा उत्रेपछि आन्दोलन शिथिल हुनेछ । मुलुकलाई सही मार्गमा ल्याउने नाममा चन्दा उठाउने उद्देश्य हो भने दलहरूको सेटिङतन्त्र झन खतरनाक रूपमा अघि बढ्नेछ । साँच्चिकै परिवर्तन ल्याउने कि सामाजिक सञ्जाल, समाचारमा छाउने ? व्यवस्था पक्षधरहरूले ढाँट, छल, भ्रष्टाचार, राष्ट्रघातलाई आफ्नो नीति, सिद्धान्त बनाए, यसलाई चिर्नका लागि आन्दोलनकारीहरूले जनबिद्रोह गर्नुपर्छ । आन्दोलनकारीहरूले बुझुन्, यो अन्तिम अवसर हो ।