Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

पवन चामलिङको सुझाव

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

पवन चामलिङको सुझाव

१९७५ मा भारतले षडयन्त्रपूर्वक सिक्किमलाई भारतमा मिलाइदियो । सिक्किमका ३२ मध्येका ३१ सांसदले संसदमै भारतको प्रान्त बन्न मञ्जुर गरेर प्रस्ताव पास गरेका थिए । यो प्रस्ताव पास नहुन्जेल इन्दिरा गान्धीले ठूलो महत्वका साथ सिक्किमी नेताहरूलाई भेट्ने गरेकी थिइन् । जब सिक्किम भारतमा बिलय गराइयो, त्यसपछि हजार प्रयास गर्दा पनि सिक्किमका नेताहरूलाई इन्दिरा गान्धीले भेट दिइनन् । उनले सन्देश पठाइन्– तिमीहरू आफ्नै देशका हुनसकेनौं, कसरी हाम्रा हुनसक्छौ र ?
त्यसपछि सिक्किमी नेताका अगुवा लेण्डुप दोर्जी र उनका सहयोगीहरू ठूलो गल्ती भएछ भनेर पछुताउ गर्न थाले, आमनागरिकले तिनलाई देख्यो कि थुक्न थाले । मुखै देखाउन नसक्ने खालको अपमानको विषको प्याला पिएर सिक्किमी नेताहरू बाँचुन्जेल बाँचेर मरे, मरेपछि सराप भोगिरहेका छन् ।
सिक्किमको राष्ट्रिय फूल थियो सुनाखरी । सुनाखरी फूल्छ, अहिले पनि मौसम मौसममा फुल्छ तर फुल्छ र झर्छ । सिक्किम भारत भयो, सुनाखरीले अस्तित्व गुमायो ।
पवन चामलिङ त्यही भारत सिक्किमका सबैभन्दा लामो समय मुख्यमन्त्री रहेका व्यक्तित्व हुन् । उनले सिक्किम डेमोक्य्राटिक फ्रन्ट नामक पार्टी खोलेर पटक पटक चुनाव जिते, लामो समय पदमा बसे र जनताको सेवा गरे । उनी सिक्किमी समाजमा आज पनि लोकप्रिय रहेका छन् । उनी १९९४ देखि २०१९ सम्म मुख्यमन्त्री रहेका थिए । पवन चामलिङ सिक्किम गएका नेपालीलाई आदरका साथ भेट्छन्, उनी आफै पनि अवसर अवसरमा नेपाल आउने गर्छन् । गतहप्ता विश्व साहित्य समिट २०२४ को अवसर पारेर पवन चामलिङ नेपाल आएका हुन् । उनले साहित्यकार, लेखकहरूलाई मात्र होइन, कवि प्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् ।
जहिले जहिले पवन नेपाल आउँछन्, उनले मनका कुरा राख्ने गरेका छन् । यसपटक पनि उनले नेपालीलाई सन्देश दिएका छन्– म प्रजातान्त्रिक सिक्किमको पूर्वमुख्यमन्त्री हुँ । अर्थात् सिक्किमसँग प्रजातन्त्र छ, स्वतन्त्रता छैन । सिक्किम स्वतन्त्र राष्ट्र होइन । भारतको एक प्रान्त हो सिक्किम । पवनको अभिव्यक्तिभित्रको व्यथा नेपालीले कहिले बुझ्ने ? कति गहिरो सन्देश दिएका छन् उनले ।
नेपालीसँग नेपाल छ । अमेरिकाभन्दा पनि जेठो मुलुक हो नेपाल । कहिल्यै कसैको उपनिवेश बन्न नपरेको, पुर्षाले स्वराज जोगाइदिएको स्वतन्त्र नेपालसँग हामीसँग । यतिखेर नेपालीसँग नेपाल छ, प्रजातन्त्र पनि छ । यी दुबै विशेषतालाई जोगाएर अघि बढ्ने क्षमताको विकास जरूरी छ । ठूला दुई देशवीचको चेपोमा थियो नै, अब भूराजनीतिको भूमरीमा पनि परिसकेको छ नेपाल । विश्वशक्तिको राडारमा परेको नेपालले आफ्नो अस्तित्व बचाउनका लागि चलाखी र क्षमता, परम्परागत समदूरीको नीतिको सन्तुलन अति जरूरी छ । यही सन्तुलनमा नेपालको स्वतन्त्रता र प्रजातन्त्र अक्षुण्ण रहनसक्छ । तर हाम्रो नेतृत्वले विश्वभाइचाराको जुन संचिति थियो, त्यो समाप्त पार्दै लगेका छन् । आन्तरिक रूपमा राजनीतिक दिवालीयापन र बाह्य रूपमा कूटनीतिक असक्षमताका कारणले नेपालको नीति, नेतृत्वको नैतिकता र लोकतन्त्रका महिमाहरू खण्डित हुँदै गएका छन् । स्वावलम्बन त्यागेर परजीवीपन अपनाउनु र चरित्र त्यागेर राजनीतिलाई व्यापार बनाउनुले पनि नेपालको नीति, नैतिकता र व्यक्तित्वमा खिया लाग्दै गएको छ । विश्व भनिरहेको छ, नेपाल स्वर्गको टुक्राजस्तो छ । हामीले यो स्वर्गलाई मगन्ते बनाइसकेका छौं ।
सिक्किमका पूर्व मुख्यमन्त्रीको सन्देश र संकेतलाई हामीले बुझेनौं भनेर हाम्रो सर्वस्व जसरी कालापानी, लिम्पियाधुरा बिनष्ट भएर गयो, त्यसैगरी बाँकी भूभाग र भूभागमाथिको स्वरूाज गुम्ने जोखिम बढ्नेछ । यसका लागि स्वाभिमान जगाउनु जरूरी छ । जब कि नेतृत्वपंक्तिमा स्वार्थमात्र भरिभराउ छ भने नेपालीको स्वाभिमान खतरामा पर्नु स्वभाविक छ ।
पुर्षाले नेपाल बनाइदिए । नेतृत्वले लोकतन्त्र पनि ल्याएका छन् । तर चरित्र निर्माण गर्न सकेनन् । चरित्रमा ध्यान नदिने, नैतिकतामा नअड्ने हो भने भ्रष्ट बनेको वर्तमान पुस्ताले भावी पुस्तालाई साबुत नेपाल हस्तान्तरण गर्न सक्नेछैन, पछुताउने दिन नआओस्, सावधान ।