Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

भुटान भ्रमणको संकेत

शाश्वत शर्मा

०६ मंगलबार , कार्तिक २०८११५ घण्टा अगाडि

भुटान भ्रमणको संकेत

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको छ । यो तन्त्रले नेपालको बर्बादीबाहेक केही गर्न सकेन । नयाँ नेपाल बनाउने सपना तुहिएको छ । विधिको शासन भनेको भाषणमा सिमित हुनपुग्यो । जनप्रतिनिधिले जनबल र जनमतको अपमान गरेका छन् । सत्तामा बस्ने अथवा संसदमा प्रतिनिधित्व गर्ने सबैले जनताप्रतिको जवाफदेहीता लिन सकेनन् । जसरी पनि चुनाव जित्ने र लुट्ने यिनको उद्देश्य रह्यो । देशका हरेक गाउँसहरमा असन्तुष्टी बढ्दो छ । यो असन्तुष्टी बिद्रोहको ज्वालामुखी बन्न थालेको छ । धुवा निस्किसक्यो, आगो सल्किन थालिसक्यो । डढेलो नसल्कियोस् । राष्ट्रिय सहमतिको राजनीति सुरू होस् । आगोको काम खरानी बनाउनु हो भन्ने निष्कर्ष राजनीतिमा देखिनेछ । यही सन्दर्भ पूर्वराजाको भुटान भ्रमणलाई हेरिएको छ ।
पूर्वराजाको भुटान भ्रमण अहिले पनि चर्चाकै विषय बनेको छ । आखिर पूर्वराजालाई भुटानले किन निम्त्यायो ? राष्ट्रध्यक्षकै सम्मान किन दियो ? नेपालमा राजनीतिक परिवर्तनको पूर्वसंकेतका रूपमा धेरैले चर्चा गर्नेगरेका छन् । यद्यपि यो भ्रमणको विश्वका शक्तिशाली मिडियाले पनि उठाएको देखिन्छ भने यो भ्रमणबारे कुनै पनि नकारात्मक टिप्पणी दिल्लीका कुनै सञ्चारमाध्यमले गरेनन् । पूर्वराजाले दशैंको अवसरमा सञ्चारमाध्यमलाई यो नितान्त व्यक्तिगत भ्रमण भएको र भुटानले देखाएको मान सम्मान नेपाली जनतालाई दर्शाएको आतिथ्यता भनेर प्रष्ट पारेका छन् । यति हुँदाहुँदै पनि हरेक विषयमा दिल्लीको चासो रहने भुटानले जुन तौरतरिकाले पूर्वराजाको मानमनितो गरेका छन्, त्यसलाई दिल्लीले टिप्पणी नगर्नुले पनि यो सांकेतिक ठूलै परिणाम हो भन्नेहरूको टिप्पणी रहेको छ । दिनदिनै चीनसँग पनि भुटानको सम्बन्ध तातो बन्दै गएको छ । यो सन्दर्भले पनि नेपालका पूर्वराजाको भ्रमणले छिटै नेपालमा राजनीतिक परिवर्तनको लक्ष्यणका रूपमा ब्याख्या गरिएको छ ।
नेपालमा आम नागरिक चालु पद्धतिप्रति आक्रोसित बन्दै जानु, नेपालमा विश्वशक्तिको चासो बढ्नु, भारत र चीनवीचको ब्यापार सम्बन्ध सुध्रिनु, पश्चिमाशक्तिप्रति भारत र चीन सशंकित हुनु आदि कारणले पनि नेपालका पूर्वराजाको यो भ्रमणलाई जोडेर हेर्ने गरिएको छ । हालैका बंगलादेशका घटनाले पनि नेपालमा प्रभाव पारिरहेको र स्थापित पार्टी नेताहरूप्रति जनताको अविश्वास बढ्दै जानुले समेत पूर्वराजाको लोकप्रियता बढेर गएको अवस्थामा भएको भुटान भ्रमणले धेरै अर्थराख्ने कुटनीतिक ज्ञाताहरू बताउँछन् । यसरी हेर्दा नेपालको वर्तमान पद्धति चल्न नसक्ने र राजासहितको प्रणाली विकासको क्रममा छ भनेर बुझ्न सकिन्छ । नेपालीमा असन्तुष्टी बढ्नु, सुरक्षा चासो उत्तर दक्षिणको हुनु र पश्चिमाको चलखेल बढ्नुले समेत पूर्वराजाको आवश्यकतालाई ह्वात्तै बढाएको देखिन्छ ।
परिवर्तनको १८ वर्षपछि भुटानले नेपालका पूर्वराजालाई निम्त्याएको हो । भुटानी शरणार्थी समस्या चर्कदासमेत बेवास्ता गर्ने, भुटानी शरणार्थीलाई तेस्रो देशमा पठाएको र गएकाहरूको अपमान भइरहदा पनि उदासिन रहेको भुटानले नेपालका राजालाई निम्त्याउनु साधारण घटना हुँदै होइन । अझ भारत र चीनवीच नेपालको राजनीतिक स्थितिबारे चर्चा भएको र त्यसैको निष्कर्षका रूपमा पूर्वराजा भुटान गएको हुनसक्ने बताउनेहरू पनि बाक्लैछन् । असली कुरो के हो भने यो भ्रमण अर्थपूर्ण छ । नेपालमा बढ्दो जनअसन्तुष्टी र पूर्वराजाको सकृयता सामान्य सरकार परिवर्तनका रूपमा मान बुझ्नु कमजोरी हुनेछ । नेपालमा ठूलै परिवर्तन हुने सम्भाबना बढ्दो छ ।
लामो समयदेखि नेपालका हरेक तह र तप्का आन्दोलित छ । कुनै पनि निकाय अथवा ब्यक्ति सन्तुष्ट छैनन् । भूकम्प, कोरोना र हालै गएको बाढीपहिरो पीडितलेसमेत सरकार छ भन्ने अनुभूति गर्न पाएनन् । देशमा भ्रष्टाचार, अपराधिकरण र लुट जारी छ, कुनै अपराधीमाथि दण्ड भइरहेको छैन । राजनीतिक प्रतिषोधले काम भइरहेको छ । शासन प्रणालीको गलत कृयाकलापका विरूद्ध प्रदर्शन भइरहेका छन् । आन्दोलन बिस्तारै बिद्रोहमा परिणत हुनथालेको छ । यसपटकको बाढीपहिरोले राजधानीमै ठूलो कहर ल्यायो । राजधानीमै राहत र उद्धार हुनसकेन भने राज्यका अन्य क्षेत्रमा के कति दयनीय अवस्था होला ? अनुमान गर्न सकिन्छ । कानुन व्यवस्था, शासनमा सरकार पूर्णतः असफल भइसकेको छ । पीडित जो मरे मरे, जो बाँचेका छन्, तिनले सरकारको भर पर्नु बेकार ठानेर आफै आफ्नो उद्धारमा जुटेका छन् । अर्थात् मुलुकमा पद्धति, प्रणाली, कानुन, सरकार केही पनि छैन भन्ने अवस्था छ । जे छ, अपराधिकरण छ, बाहुबलीतन्त्र छ, सेटिङ् छ, मिलिजुली लुट्नेहरूको अखडा बनेको छ यो पद्धति ।