सहदेव सिग्देल....
प्रचण्ड नराम्ररी बिग्रिए, राजनीतिमा नराम्ररी पछारिए। यसै भन्छन्: विदेशीहरु। नेपाली राजनीतिमा आज पनि प्रचण्ड छाएका छन् र कूटनीतिक समुदायमा सबैभन्दा बढी कसेको चर्चा हुन्छ भने प्रचण्डकै हुनेगर्छ। उनीहरु भन्छन्: आज नेपाली राजनीतिमा नेता छ त प्रचण्डमात्र हुन्। अरु नेता के नेता? हो, कांग्रेसका सुशील कोइराला, जो प्रधानमन्त्रीसमेत छन्। उनी सुस्त छन्, आजसम्म जनताले उनलाई सुशील कोइराला निर्णय क्षमतावान नेता हुन् भनेर मान्न सकेको छैन। प्राविधिक हिसावमा प्रधानमन्त्री भएपछि उनले खाने नै भए तर जसरी नेपाली कांग्रेस अन्यौलमा छ, त्यसैगरी मुलुकलाई पनि अन्यौल र अनिश्चियमा पारेका छन् सुशीलले। सुशील यतिसम्म भन्न सक्दैनन् कि उनी पछि कांग्रेसभित्र कुन कोइराला नेतृत्वका लागि तैयार भएको छ? यतिखेर कांग्रेसभित्र तीन कोइराला छन्: सुजाता, शेखर र सशांक। सुजातालाई पार्टीभित्रै मन पराइन्न, शेखर टपरटुइयाँ मानिन्छन् र सशांक वीपीका पुत्र भएकाले चर्चामा त छन्, निरन्तर चुनाव पनि जित्दै आएका छन् तर पार्टीको कुनै जिम्मेवार पदमा छैनन्। यसकारण कांग्रेसले कोइराला नेतृत्वबाट पछि हट्ने दिन आउन लागेको बारेमा चर्चा सुरु गरिसकेको छ।
एमाले पार्टी। झलनाथ कहिले एमाओवादी त कहिले एमाले गर्दैमा प्रधानमन्त्री बने। अहिले अध्यक्ष छन् केपी ओली। ओली एकपटक प्रधानमन्त्री बन्न चाहन्छन्। कांग्रेससँग सम्झौता पनि भएको हो तर माघ ८ मा संविधान आउन नसक्नाले केपीको प्रतिक्षा बढेको छ। तर, उनको स्वास्थ्यले उनलाई कतिञ्जेल साथ दिन्छ, भगवान भरोसे। माधव नेपालप्रति अव पार्टीको विश्वास नै छैन। उनले एमालेमा फेरि नेतृत्व सम्हाल्ने कुरा सपनामात्र लाग्छ। मधेसी दलहरु मोर्चावन्दीमा त छन्। तर एउटै पार्टी फुटेर पाँच टुक्रा बनेका मधेसी दलहरु जहिले पनि सत्तास्वार्थका लागि लालायित हुने भएकाले यिनको नेतृत्व देशव्यापी हुनै सकेन। यिनले मधेसलाई बोकेर हिड्नमै गर्व गरिरहेका छन्। कुनै मधेसी नेताले नेपाल बोक्ने अवधारणा आजसम्म अघि सारेको देखिदैन। यो नेपालकै दुर्भाग्य हो।
चौथो शक्ति हो राप्रपा नेपाल। आजसम्म उसले चौथो शक्तिको सम्मानसम्म पाउन सकेन। सम्मान आर्जन गर्न संविधानसभामा संघर्षसमेत गरेको देखिन्न। उसले हिन्दूराष्ट्रको एजेन्डा अघि सारेको छ, सडक प्रदर्शनमा पनि यही चाह देखाइरहेको छ। ठूला दलले सहमतिको कुनै प्रयासमा राप्रपा नेपाललाई किन बोलाएन? राप्रपा नेपाल कुनै चुनौति नै होइन भन्ने लागेको हुनसक्छ। जेहोस्, एमाओवादीदेखि राप्रपा नेपालसम्मका नेताहरुको विश्लेषण गर्दा प्रचण्ड बराबरको नेता कुनै पनि छैनन्। तर प्रचण्डमा भएको जनविश्वास खिया लागेर गइरहेको छ। हिजो प्रचण्ड गर्वको शीर उठाउँथे, आज शरमले कालोनिलो भएका छन्। प्रचण्डलाई यसरी कसले बिगार्यो। एमाओवादीकै सहयोगी भन्छन्: यस्तो नातेदार घेरावन्दीमा छन् प्रचण्ड, जसले प्रचण्डको ख्यातिलाई सिध्याउने भए।


