Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

खगेन्द्र सुनारको विद्रोह

२७ आइतबार , आश्विन २०८१३ दिन अगाडि

खगेन्द्र सुनारको विद्रोह

शान्त बिद्रोह, राजनीतिक बालीघरे विरुद्ध बिद्रोह ।
लोकतन्त्र छ, दलित दबिएका छन् । हुन त १२६ जाति मध्ये एकदर्जनलाई लोकतन्त्रले अवसर दिएको होला, बाँकी दमनमा छन्, सकसमा छन् । तिनले यसैगरी बिद्रोहको आवाज बोले, लोकतन्त्रका नाइकेहरु कसैले सुनेनन् । दलित समुदायका विश्लेषक इन्द्र टमटाले एउटा लेख लेखेका थिए, उनको बिचारमा दलित आन्दोलन र ट्रेड मिलम उस्तै हो । खाली दौडिन्छ, कुनै निष्कर्ष, गन्तव्यमा कहिले पनि पुग्दैन । दलितको आन्दोलन शान्तिमय छ, त्यसैले कसैले सुन्दैन । संविधान त कागजको खोस्टो न हो, संविधानले सुन्न त कुरै भएन । 
ठूला पार्टीभित्र भातृ संगठन नै छन् दलित नामका । दलित नामका संवैधानिक आयोग पनि छन् । कुनै पनि ठूला दलमा दलित मुक्ति र सक्षमताका बारेमा कुनै योजना छैन । दलित राजनीतिको मतदान गर्ने हिस्सामात्र हो । यहीकारण दलितलाई सक्षम बनाइदैन । पराधीन राखिन्छ । पूर्वी नेपालमा बालीघरे,  मध्य र सुदूरपश्चिमतिर खलो तथा लगीप्रथा उस्तै हो । दलितलाई बाली भित्र्याएपछि केही अन्न दिने प्रथा हो यो । चाडबाडमा बचेखुचेको र उपल्ला जातिले नखाने मासु, जडौरी लुगा दिन प्रथा हो यो ।
लोकतन्त्रको राजनीतिमा दलितहरु यही बालीघरे प्रथाको रन्थमोलमा छन् । केही पाइन्छ कि भन्ने आश त्याग्न सक्दैनन्, फेरि टेको खुस्कियो भने के होला ? भन्ने त्रासमा पनि छन् । संविधानले समानुपातिकमा पनि सुरक्षा दिएको छ तर यो समानुपातिक कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले हडपेजसरी हड्पी रहेका छन् । एमाले अथवा माओवादी दुबै ठूला पार्टीमा पनि दलित र सिमान्तकृत जातिलाई बालीघरे बनाएर राखिएको छ ।
यदाकदा बाध्यकारी संवैधानिक पद बाहेक दलितले केही पाएनन् । दलित र सिमान्तकृतले पाउनुपर्ने स्वाद ठूला र पहुँचवाला पार्टीका बिष्ट बराजुले चाखिरहेका छन् । कुनै पनि पार्टीको उद्देश्य जसरी पनि सत्तामा पुग्ने र चैन गर्ने भएकाले उनीहरु लज्जा पनि लज्जित हुनेगरी कमजोर जातिको हक अधिकार खोसिरहेका छन् । दलित र सिमान्तकृतका ढाडमा टेकेर सत्तामा उक्लनेहरुले समानताको गफ दिनु भ्रममात्र हुनपुगेको छ । जहिले पनि ठूला भनिएका जातिले दलितमाथि शोषण गरिरहेकै छन् । तैपनि यिनीहरु समाजवाद, सर्वहारावाद, लोकतन्त्र भनेर कहिल्यै थाकेनन् ।
अब सहन सकिन्न भनेर दैलेखका पत्रकार तथा दलित अभियन्ता खगेन्द्र सुनारको सभ्य र भब्य बिद्रोह हो यो । उनको लामो समयदेखिको प्रश्न छ– दलितलाई खै ? आफ्नो यो प्रश्नको उत्तर राज्यले दिनैपर्छ भनेर उनले ४५ दिनभन्दा बढी माइतीघरमण्डलमा दलितलाई खै ? भन्दै ७ किलोको नेल हत्कडी लगाएर घाम–पानी तथा दिन–रात नभनी सडकमा उभिएर देखाए। असोज ३ गते संविधान दिवस अघि उनी भारतमा रोजगारीमा गएका पश्चिमका दलितहरु र भारतकै दलित समुदायसँग पनि आफ्नो आन्दोलनमा सघाउन आग्रह गरेका थिए । असोज ३ गते माइतीघरदेखि बानेश्वरसम्म ठूलै जुलुस पनि निकाले । दलितलाई बालीघरे बनाएर अब राख्न सकिन्न भन्ने सन्देश दिन सफल भए ।
यसपछि फेरि दलित आन्दोलन चिस्सिएको छ । दलित चिस्सिए भनेर ठूला पार्टी र राज्यले दलितलाई पुरानै आँखाले हेर्न थालेका छन् ।