नेपाल र सोभियत संघवीच जुन–९ जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापित भयो । अप्रिल १९५९ र १९६४ मा नेपालको आर्थिक र प्राविधिक विकासका लागि पावर लाइन, चिनी मिल, सिगरेट कारखाना, राजमार्ग निर्माण, अस्पताल निर्माण, कृषि मेसिनरी प्लान्ट निर्माणका निःशुल्क सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएका थिए । शिक्षामा रुसले ठूलो सहयोग गरेको छ ।
१९९२ मा सोभियत सङ्घको बिघटनपछि नेपालले कूटनीतिक मान्यता दिएको थियो । त्यसपछिको ३३ वर्षमा धेरै घटनाक्रम भएका छन् ।
अक्टोबर २००५ मा विदेश मन्त्रीहरूवीच राजनीतिक, आर्थिक, सैन्य, शैक्षिक र सांस्कृतिक सहयोग आदानप्रदान विषयमा छलफल भएको थियो । काठमाडौँमा रुसको दूतावास छ भने मस्कोमा नेपालको दूतावास छ ।
अहिलेको विवादको विषय भनेको रुसी सेनामा नेपाली नागरिकलाई भाडाका सैनिकका रुपमा भर्ती गर्नुलाई मानिएको छ । नेपालले नेपालीलाई रुसी सेनामा भर्ती रोक्न, भर्ती भएकालाई फिर्ता पठाइदिन, मारिएकालाई क्षतिपूर्ति दिन आग्रह गरेको छ ।
सन् १९७२ मा पूर्व–पश्चिम राजमार्गमा रुसको सहयोगमा बनेका पुलहरु जो मित्रताका प्रतिक छन् । सन् १९५६ मा रुस विकासको शिखरमा थियो, अक्टोबर क्रान्तिको ४० वर्षपछि अन्तरिक्षमा उडान गर्न तयार थियो । सोही वर्ष, नेपाल र रुसवीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । केही विवाद भए पनि यो सम्बन्ध मजबुत पिलरमा उभिएको छ । १९५७ देखि रुसले दिएको छात्रबृत्तिमा हजारौं नेपालीको बौद्धिक स्तर उठेको छ । रुसी शिक्षा प्राप्त विज्ञहरुले नेपालको सेवा गरिरहेका छन् ।
नेपालको आधुनिकीकरण प्रक्रियामा रुसको ठूलो योगदान छ । १९६३ मा कान्ति अस्पताल, १९६४ मा वीरगञ्ज चिनी कारखाना, १९६५ मा पनौती जलविद्युत केन्द्र, १९६८ मा जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, १९८७ मा रोजिन एण्ड टर्पेन्टाइन रुसी जनताको उपहार थियो । सबै प्रमुख उद्योगहरु सन २००३ देखि बन्द छन् ।
१९७० मा पूर्वपश्चिम राजमार्ग निर्माणमा सहयोग गर्न राजा महेन्द्रले गरेको आह्वानलाई समर्थन गर्ने रुस पहिलो राष्ट्र थियो । सन २०१५ मा महाभूकम्पमा नेपालमा ठूलो नोक्सानी सुनेर सोभियत इन्जिनियर इभान गोन्चारोभ निकै रोएका थिए । उनी नेपालका मन्दिर, मन्दिरका टुँडाल, काष्ठकला, अलौकिक पुरातात्विक बस्तुहरुका सौखिन दर्शक थिए ।
इभान गान्चारोभ लेखक पनि हुन् । उनले लेखेका छन्– नेपाल कति सुन्दर देश हो ।.... ‘विमानको सानो झ्यालबाट पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमाली बाहुको हरियो पहाडले मेरो मनमा नेपालको पहिलो छाप छोड्यो । सोभियत सङ्घ र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएपछि हामी सोभियत इन्जिनियरहरूले विश्वको सबैभन्दा टाढाको कुनामा अवस्थित यस राज्यमा काम गर्ने अवसर पाएका थियौँ । परियोजना स्थलमा स्थानीय गाउँका केटाहरूको समूह साँच्चै उत्कृष्ट थियो । उनीहरूसँग काम गर्न सजिलो थियो । गरिबी व्यापक भए पनि नेपाल सुखी मानिसहरूको देश हो । सबै मेहनती, खुला मन र प्रफुल्लित छन् ।’
गोन्चारोभ लेख्छन्– डिसेम्बर १९७२ मा सिम्रा–जनकपुर सडकमा ट्राफिक सञ्चालन गरिएको थियो । उद्घाटन कार्यक्रममा नेपालका राजा, सोभियत राजदूत बोरिस किर्नासोव्स्की, निर्माण परियोजनाका प्रमुख इन्जिनियर पावेल क्राभ्चोभ र निर्माणमा संलग्न सबै नेपाली र रुसीले भाग लिएका थिए । नेपालीहरूले सडकभरि फुल वर्षा गरेर हामीलाई बधाई दिए, माला लगाए र केही उपहार पनि दिए ।
१९९० को दशकमा दुबै मुलुक परिवर्तनको संघारमा पुगे । सम्बन्धमा सुस्तता आयो । सन २०११ पछि दुबै देशवीच वाणिज्य सन्धि भयो । रुसी पर्यटक नेपालमा बढ्दै थिए । लुम्बिनी र हिमालय रुसीका लागि आकर्षण थिए । २०१५ मा गएको महाभूकम्पमा रुसले नेपाललाई सहयोग गरेको थियो । लुम्बिनीमा रुसले बौद्ध मन्दिर बनाएको छ । रुसले वर्षेनी २५० छात्रबृत्ति दिइरहेको छ ।
रुसले नेपालको असंलग्न नीतिको सम्मान गरेको छ । तर नेपालले राष्ट्रसंघमा रुसविरोधी खेमामा गरेको संलग्नताले रुसको चित्त दुखाएको छ ।
रुस र युक्रेनको युद्धमा नेपाल युक्रेनको पक्षमा देखिनु दुर्भाग्य हो । युक्रेनसँग लड्नका लागि रुसी सेनामा नेपाली युवा भर्ती भएका छन् । नेपाली युवालाई भाडाका सेनाका रुपमा भर्ती गरिएको हो । नेपालले तिनलाई फर्काइदिन, भर्ती भएकाको संख्या जान्न, घाइतेको उपचार गरिदिन र मृतकका परिवारलाई क्षतिपूर्तिका बारेमा भन्यो, तर पटक पटक भन्दा पनि रुसले नसुनेझैं गरेको छ । यसको कारण नेपालको काँचो कूटनीति हो ।
२०२३ अप्रिल १९ देखि अप्रिल २३ सम्म राष्ट्रिंय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निम्त्याएर रुसको फेडेरेसन काउन्सिलकी अध्यक्ष, रुसको माथिल्लो सदन, भ्यालेन्टिना मातभियेन्को, रुसको तल्लो सदनका अध्यक्ष, राज्य डुमा, व्याचेस्लाव भोलोडिन र रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्कोले १३ परियोजनामा नेपाललाई सहयोग गर्न चाहेको विषयमा विशेष छलफल गरेका थिए । यस सम्बन्धमा राष्ट्रिय सभाका अध्यक्षको कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको थियो– रुसले काठमाडौँमा इस्ट–वेस्ट इलेक्ट्रिक रेलवे र नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरालाई नजिकैका पर्यटकीय स्थलहरूसँग जोड्ने पोखरा–रिडी सडक निर्माण, बाल क्यान्सर अस्पताल, छात्रबृत्ति र अन्य १३ विभिन्न परियोजनामा सहयोग गर्न सकिने प्रस्ताव नेपाल सरकारलाई पठाएको खुलासा गरिएको थियो । त्यसपछि २१ अगस्त २०२३ मा नेपाल सरकारसँग मेट्रो परियोजना मागेको थियो । नेपाल रुसवीच २००२ मा रोकिएको हवाई यातायात पुनः चलाउन पनि आग्रह गरेको थियो । रुसले पहाडी अवस्थामा उपयोगी रुसी हेलिकोप्टर डेलिभरिको इच्छा पनि प्रकट गरेको थियो । यी कुनै पनि रुसी आग्रहलाई नेपालले आजसम्म जवाफ दिएको छैन ।
यसपछि नेपालस्थित रुसी दूतावासले २०२३ मे ४ मा पुन नेपाल सरकारलाई १३ परियोजना प्रस्ताव पठाउन आग्रह गरेका थियो । नेपाल आजसम्म पनि नाजवाफ छ । यसको कारण नेपालको असंलग्न खुट्टा असन्तुलनले गर्दा हो । भूराजनीतिको चक्रव्यूहमा नेपाल फस्ने कि सार्वभौमिक भएर बस्ने ? अब नेपालले निर्णय गर्न अबेर गर्न हुँदैन ।
– राजन कार्की