Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

थेग्नै नसक्ने गरी बढ्यो जनाक्रोश

१६ बुधबार , आश्विन २०८१२ दिन अगाडि

थेग्नै नसक्ने गरी बढ्यो जनाक्रोश

राजधानीको आँगनमै, सरकार र जनप्रतिनिधिका आँखौ अगाडि जनता डुबिरहे, मरिरहे, चिच्याइरहे, कसैले पनि देखेनन् . देश र जनता आगोमा झुल्सिरहेका थिए, सम्राट निरो भ्वाइलिन बजाइरहेका थिए जस्तै अवस्था नेपालको राजनीति बर्ग र सरकारको देखियो र जनतालाई जतिखेर आपत प¥यो, सरकार र नेताले देखेनन्, मर्र्ने मरिसके, गुमाउनेले गुमाइसकेपछि सरकारले सर्वदलीय बैठक राख्यो र देश र जनताप्रति कुनै नेता, कुनै पार्टी पनि जवाफदेही भएनन् र देश बिपत्तिमा उदाङ्गियो, दुई तिहाइको सरकार बिपतसँग लड्न अग्रसर भएनन् .
यो बिधि, पद्धति, प्रशासन, नेतृत्व सबै असफल भए र देश असफल भयो र
बिहीवार, शुक्रवार र शनिवारबारको अतिवर्षाले राष्ट्रिय जीवनलाई अस्तव्यस्त बनाइदियो र जनधनको ठुलो नोक्सानी भयो र जिल्ला जिल्ला, सहर सहरको सम्पर्क टुट्यो र उद्धार कार्यमा राज्य चुक्यो र दशौं लाख क्याडर भएका क्याडर बेश पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी र अन्य साना दलहरुले कार्यकर्ता परिचालन गरेनन् र जनप्रतिनिधिले तमासा हेरेर बसे र जनताले गुहार गुहार भनेर चिच्याइरहे, सरकार थिएन सुनेन र प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा भुलिरहेका थिए, रमाइरहेका थिए र उनले सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेर आफ्नो जिम्मेवारी पूरा गरे र राष्ट्रपतिले पनि टीभीमा जनताको बेहाल, मृत्यु, बर्बादी हेरेर समय बिताए र गृहमन्त्रीले सिंहदरवारबाट ५ किलोमिटरमा पर्ने नखु खोलाले घेरिएर जस्ताको छतमा बसेर बचाउ, बचाउ भनेर चिच्याएको ४ घण्टासम्म पनि हेलिकोप्टर पठाएनन् र उनीहरु बाढीमा हेलिन बाध्य भए र पछि गृहमन्त्रीले प्रष्टिकरण दिए– भिजिबिलिटी नभएर हेलिकोप्टर पठाउन सकिएन र त्यही बेला त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भइरहेका थिए .
सरकार सरकार छैन र जनतालाई अभर पर्दा सरकार यसैगरी चुक्ने गरेको छ र पार्टीहरु जनताप्रति इमानदार छैनन् भन्ने फेरि पनि प्रष्ट भएको छ .
इतिहासमै पहिलोपल्ट राज्यको मौसम विभागले ३ दिन अघि नै अतिवर्षा हुने र सतर्क रहन सावधान गराएको थियो र राज्यले हल्का लियो, जसका कारणले देशैभरि बाढी, पहिरोले उत्पात मच्चायो र नदी किनारका घरहरु डुबे, सम्पत्ति बगाए, पहिरोले यातायात साधन, घर, मान्छे पुरियो र कति नोक्सानी भयो, त्यसको अनुमानसम्म पनि सरकारले गर्न सकेको अवस्था छैन .
प्रधानमन्त्री राष्ट्रसंघमा अंग्रेजीमा अन्टसन्ट बोलिरहेका थिए, २०२६ मा नेपाल बिकासोन्मुख बन्ने फुर्ति लगाउँदै थिए र नेपालमा अतिवर्षाबाट सिर्जित बाढी, पहिरोले जनतालाई लतारिरहेको थियो, मारिरहेको थियो, बगाइरहेको थियो र जनताका साथमा नेता थिएनन्, पार्टी थिएन, सरकार थिएन . मर्ने भगवानका प्यारा भए, बाँच्ने जनता भगवान भरोसे बाँचे र नेपाल अर्को १० वर्ष पछाडि धेकेलियो .
हदैसम्मको गैह्र जिम्मेवार राजनीति, प्रशासन र यस्तै कुनियत राख्ने राजनीति र भ्रष्ट प्रशासन नयाँ पुस्तालाई सुम्पने ? हामी कहाँ थियौं कहाँ पुग्यौं ? आउने दिनमा के के चुनौति आउनेछन्, कसरी मुकाविला गर्ने ? राजनीति र प्रशासन दिनानुदिन गैरजिम्मेवार हुँदै गएको छ र, सप्रिने वा सुध्रिने कुनै छाँटकाँट छैन र राष्ट्रिय स्थिति असभ्य, असह्य र बिस्फोटक बनिसकेको छ . जनतामा बढेको आक्रोश यो बिधि, ब्यवस्था र नेतृत्वले जनअसन्तुष्टि थेग्न सक्ने देखिन्न र जनजीवनमा आहत बढेको छ .
जुनसुकै राजनीतिक प्रणाली अवलम्बन गरे पनि नेतृत्वमा इमान र नैतिकता हुनैपर्ने रहेछ र नेतृत्व बेइमान भएपछि देश र जनताले हरेक क्षण प्रताडित हुनुपर्दोरहेछ . यसको ज्वलन्त दृष्टान्त शुक्रवार र शनिवारको बाढीपहिरोको बिपत्ति बनेको छ र जनता त्यसै पनि दुःिखत पीडित थिए, दुःखको पहाडले थिच्न पुगेको छ र घामलागेपछि फेरि जानसक्ने सुख्खा पहिरो र यो अतिवर्षाले अरु के कति क्षति पु¥यायो, त्यसको तथ्य आएपछि कहालीलाग्दो अवस्था देखिने पक्का छ . शासक, प्रशासकको गैह्र जिम्मेवार चरित्र देखेर जनतामा चरम वितृष्णा बढेको छ . यो जनबितृष्णालाई मत्थर पार्नसक्ने राजनीतिक सुझबुझ नेतृत्वमा अभाव छ, सुरक्षाघेराले यो बिधि पद्धति कति दिन चलाउन सक्लान् यो नेतृत्वले भन्ने प्रश्न उठिसकेको छ .
लोकतन्त्र लोकतन्त्र भनिरहेका यी नेताहरु कुन सिद्धान्त र मान्यताबाट निर्देशित छन् ? भन्न सक्देनन् र किनकि यिनीहरु स्वार्थको मार्गमा छन् र स्वार्थका लागि सरासर झुटो बोल्नु, जनतालाई ढाँट्नु र शक्तिको अपचलन गरिरहेका छन् र राजनीतिलाई अपराधिकरण यिनको मुख्य सिद्धान्त बनेको छ र यिनले स्वार्थ पूरा गर्न जनताको मान, देशको सम्मान, लोकतन्त्रको गरिमा सबै दाउमा थापेका छन् र राजनीतिक अधर्म यिनको सिद्धान्त बनेको छ .
अब राष्ट्रका सामु प्रश्न उठेको छ– नेतृत्वको बिकल्प खोज्नैपर्छ, परम्परागत शक्तिको टेको लाग्नैपर्छ .
वर्तमान नेतृत्वको चाल, चेहरा र चरित्रप्रति बढेको जनघृणा उर्लियो भने के होला, के नहोला ? प्राकृतिक बिपत झेल्नेले आक्रोशको आँधीबेहरी सिर्जना गरिदिए भने के होला, के नहोला ?
वर्तमान नेतृत्व धृतराष्ट्रको अवस्थामा छ र महाभारतमा युद्धको सम्भावना बढ्दै गएपछि युद्धलाई रोक्न भगवान श्रीकृष्ण शान्तिदूतका रूपमा धृतराष्ट्रको सभामा शान्ति प्रस्ताव राख्छन् र युद्ध रोकौं, युद्ध भयो भने त्यसको जवाफ स्वयं धृतराष्ट्रले दिनुपर्ने खबरदारी समेत गर्छन् र पाण्डवलाई इन्द्रप्रस्थ राज्य र त्यो नभए पाँच गाउँ माग्छन् र श्रीकृष्णका प्रस्ताव दुर्योधनले अस्वीकार गर्छन् र भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, विदुर कसैले मनाउन सक्दैनन् र अन्ततः महाभारतको युद्ध भएरै छाड्छ र कौरव पक्षले सर्वस्व गुमाउँछ र यसको दोष धृतराष्ट्रको थाप्लोमा बज्रिन्छ .
नेपालमा त्यस्तै स्थिति बढ्यो, थेग्नै नसक्ने जनाक्रोश बढ्यो र नेतृत्व असफल भयो, नेतृत्वले देश असफल बनाए र बढ्दो जनाक्रोशलाई महाभारतको जस्तो युद्धका लागि निम्त्याउने कि समय छँदै निकासका लागि अग्रसर हुने ? यसको जवाफ नेतृत्व आफैले खोजुन् .