Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राष्ट्रवादीहरु जनताको आँगनमा पुग्न जरुरी

२४ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

स्वयम्भूनाथ कार्की-

विसं २०४५ र त्यस पछिदेखि नेपालको शक्ति केन्द्रमा 'राष्ट्रवाद' शव्दसंग नै चीढ भएकाहरुको हाली मुहाली रह्यो। कुनै राष्ट्रको निमित्त यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ कि राष्ट्रलाई माया गर्ने भन्ने भाव बोकेको कुनै शव्द नै अपच होस्? अनि त्यही शव्द अपच हुनेहरु कै राष्ट्रिय जीवनमा बोलवाला होस्। अहिले विश्वका मै हुँ भन्ने राष्ट्रहरुले त भर्खर अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक विचारको मार भोग्न शुरु गरेका छन्। तर यो प्रहार नेपालले त्यतिवेलैदेखि निरन्तर झेल्दै आएको हो।

'संघे शक्ति कलियुगे' भनिन्छ, नभन्दै यो युगमा सय पचास मात्र पनि भेला भएर जे कुरा र जस्तो कुरा पनि स्थापना गराएका अनेकौ उदाहरणहरु छन्। यस्ता कुरा अति उत्तमदेखि अति निम्न पनि हुने गरेको सबैको अनुभव छ। यस्ता समूहहरुको गठनको निमित्त जो भावना चाहिन्छ त्यो विशाल हुँदैन। कतिपय अवस्थामा त नितान्त व्यक्तिगत स्वार्थ्व बलवान हुन्छ। अनौठो लागे पनि यो सत्य हो यस्ता समूहमा त्यही प्रभावशाली हुन्छन् जो बृहत हितको भन्दा व्यक्तिगत हितको निमित्त गठन भएका हुन्छन्। 

राष्ट्रवाद एक बृहत भावना हो , अरु कुरामा पानी वारावार भए पनि राष्ट्रवाद साझा भएकाहरु हुनु सामान्य हो। तर राष्ट्रवाद कुनै पनि समूह निर्माण वा गठनको निमित्त एक साह्रै फितलो धागो हो। कुनै पनि मुलुकमा राष्ट्रवादको विपरित सोच राख्नेहरु एकदमै कम हुन्छन् तर उनीहरुको एकता भने बलियो हुन्छ। यसको विपरित फितलो धागोले जोडिएका राष्ट्रवादीहरुको विचमा अनगिन्ती मनोमालिन्य हुन्छ। यस्तै मनोमालिन्यले हरेक राष्ट्रवादीले आफुलाई एक्लो पाउँछ। यसैले लाखौ करोडौको राष्ट्रवादी सोचमा केही सय वा हजार विरोधीको सोच बलियो भएको देखा पर्दछ।

राष्ट्रवाद शव्दसंगै अरुची जनाएर वर्तमान हाँकेकाहरुलाई पनि अहिले राष्ट्रवादको सहारा नभई नहुने भएको छ। अगाडी वा पछाडी कुनै विशेषण जोडेर  अहिले आफूले भनेको राष्ट्रवाद पहिले आफुले खोईरो खनेको राष्ट्रवाद भन्दा फरक हो भन्ने भ्रम छर्न विवश छन। किनभने जति सुकै फितलो भए पनि 'राष्टवाद' एक यस्तो तत्व हो जो कुनै मुलुक हाँक्न आवश्यक पर्दछ, चाहे त्यो नाममात्र किन नहोस्। केही गरी आफुसंग राष्ट्रवादी शव्द जोड्न सकियो भने आपसी संवादहिनतमा रहेर आफूलाई एक्ला सम्झने राष्ट्रवादीहरुको निशर्त साथ पाईन्छ। यत्रा वर्ष पछि फेरी खुलेर राष्ट्रवादको उच्चारण गर्न पाउनुमा यसै कुराको हात छ।

भनिन्छ, आफ्नै शरिरमा रहेको बिनाको खोजीमा कस्तुरी मृग रनवन भौतारिन्छ। पृथ्वीनारायण शाहले भौतिक र भावनात्मक एकिकरण गरेको नेपालमा राष्ट्रवादको भावनाको कमी छैन, न राष्ट्रवादीको नै कमी छ। तर विडम्वना के छ भने हमेशा आफ्नो वरीपरि रहनेहरुमा पनि राष्ट्रवाद देख्न नसकेर राष्ट्रवादी भावना बोक्नेहरुको भिडमा पनि राजनीतिक नेतृत्व भनाउँदाहरु आफूलाई एक्लो देख्न पुगेका छन्। केही औलामा गन्न सकिने विरोधीहरुलाई भने जताततै देख्न पुग्छन्। यो वास्तविकता हैन भ्रम हो, त्यसैले राष्ट्रवादीहरुले नेतृत्वतहमा बाक्लै लेउ लागेजसरी जमेको त्यो भ्रम चिर्न आवश्यक छ। यसको निमित्त आफै खुल्न आवश्यक छ र आफु खुल्न जनताको आँगनमा गएर भलाकुसारी नगरी हुँदैन। जनतासँगको अन्तरक्रियाको अरु कुनै तोड वा विकल्प छैन भन्ने बुझ्न जरुरी छ।

जतिसुकै खराव भए पनि जननीले आफ्नो सन्तानलाई अस्विकार गर्न पाउन्नन्। जस्तो कुपात्र भए पनि मुलुकले आफ्नो नागरिक अस्विकार गर्न पाउदैन। त्यसै गरेर जति विरोधी भए पनि राजाले कसैलाई आफ्नो जनता हैन भनेर अस्विकार गर्न पाउदैनन्। त्यसैले जननीले आफ्ना सवै सन्तानमाथि समभाव राख्नै पर्दछ। मुलुकले सबै नागरिकको हरेक व्यवहार सहनै पर्दछ। त्यसै गरेर राजाको कुनै दल वा पार्टी हुँदैन। यो त राम्रा सन्तानको जिम्मेवारी हो कि खराव सन्तानको पिडा जननीलाई कम परोस् भनेर प्रयत्न गर्नु। असल नागरिकले नै मुलुकको भलो गर्ने हा। राजाको दल वा पार्टी त हुन सक्दैन तर दल वा पार्टीका सदस्य भने राजा वा देशका हुन सक्छन्।

 त्यसैले विश्व मै राष्ट्रवादको विरोधलाई 'अभिव्यक्ति स्वतन्त्रता' परिभाषित भईरहेको यो कठिन समयमा राष्ट्रवादीहरु हरेक जनतामा पुगेर उ एक्लै नभएको सन्देश फैलाउनुको कुनै विकल्प छैन। यो राष्ट्रवादीको मात्र जिम्मेवारी हो। यसमा देशले, राजाले वा दलले पहल गर्ला भनेर सोच्नु ठिक हैन। मुलुक स्वतन्त्र र आत्मनिर्भर भए मात्र त्यहाँ स्वाभिमान पैदा हुन्छ। स्वाभिमाने मात्र समृद्धि प्राप्त हुन्छ, अनि समृद्धिले जनता सुखी र सम्पन्न हुन्छन्। त्यसैले यो जनता वाहेक अरुको जिम्मेवारी होईन। त्यसैले विना एकपल पनि ढिलो गरेर जनताको आँगनमा जानु पर्दछ र भलाकुसारी शुरु गर्नु पर्दछ। कोही नेपाली एक्लो छैन भन्ने अनुभूति गराउनु अहिले राष्ट्रवादीको पहिलो कर्तव्य हो।