अधिवक्ता शिवप्रसाद सिग्देल-
हो, नेपालमा यही सत्य हो। नेताका छोराछोरी विशिष्ट हुन्, जनताका छोराछोरी निकम्ममा। यसकारण नेताका छोराछोरीले पाउनुसम्म सुविधा पाएका छन्, जनताका छोराछोरी गाँस, बास, कपास, अवसरका लागि सधैं युद्ध लडेजस्तो लडिरहेका छन्। आखिर किन? यही हो ह्याभ र ह्याभनटवीचको द्वन्द्व भनेको। यो द्वन्द्वलाई जातीय द्वन्द्वतिर फर्काएर कम्युनिष्ट शक्तिले देशलाई अर्को महाभारतको सम्भावित आगोको मुस्लोमा होमिदिएका छन्। जुन राजनीतिक अपराध हो। त्यो अपराध बढ्दै छ।
जनताका छोराछोरीले ४० लाख तिरेर डाक्टर पढ्न सक्दैनन्। प्राविधिक शिक्षा महगो छ, त्यो पनि आर्जन गर्न सक्दैनन। साँचो कुरो त के छ भने छोरा ठूलो भएपछि कमाउन विदेश जान्छ, किन पढ्नुपर्यो। छोरी हुर्केपछि अर्काको घरमा जाने हो किन पढाउनु पर्यो? यही मानसिकता विकास भएको छ हाम्रो देशमा। अझ डोल्पाका गाउँ गाउँमा समेत गर्भमा छोरा छ कि छोरी छ भनेर जचाउने हुइया पुगिसकेछ। छोरी भए गर्भ तुहाइदिने, फालिदिने र छोरा भए जन्माउने लहर चलिसकेछ। यस्तै खबर आएको छ एक अध्ययनबाट। राजधानीमा गर्भजाँच अनैतिक हो भने पनि गोप्यरुपमा त्यो चलिरहेको छ। गाउँतिरका स्वास्थ्यसंस्था अथवा मोफसलका ठूला सहरमा खुलेआम गर्भजाँच निर्वाध चलिरहेको छ। किन भनेर सोध्दा छोरीलाई विहे गर्दा दाइजो दिन सकिन्न भनेर गर्भ तुहाएको रे। नेपालमा यस्ता विकृति र विसंगति कति छन् कति, सुधार्ने कसले?
समाज नैतिकपतनतिर लाग्यो। पश्चिमाहरु यो नैतिकपतनलाई विकास भनिरहेका छन्, सभ्यता भनिरहेका छन्। हाम्रो देशमा छोरी मार्ने यो आधुनिक विज्ञान महामारीको रुपमा फैलियो, रोक्ने हिम्मतवाला कोही जन्मेन। पैसा नै आचारसंहित, सम्मान बन्यो। पैसा भएपछि मान, सम्मान, इमान र ठूलो मान्छे हुनपाइन्छ भन्ने रोग पस्यो। गरिवका छोराछोरी भनेको श्रमिक हुनु नै हो। जोसँग ल्याकत र क्षमता छ, ती पनि राजनीतिक र प्रशासनिक भ्रष्टाचारको सिकार भएर अवसरविहीन भइरहेका छन्।
नेपालमा कार्यरत विदेशी दूतावासहरुले पनि उनीहरुको स्वार्थअनुकूल सूचना लिन र निर्णय गराउनका लागि नेपालीका नाममा नेता र प्रशासक, पहुँचवालाहरुकै नातेदारहरुलाई छात्रवृत्ति, अन्य अवसरहरु जुटाइरहेका देखिन्छन्। ओठे भाषामा भन्ने हो भने नेपालमा जति पनि कूटनीतिक नियोगहरु छन्, ती सबै कूटनीतिक भ्रष्टाचार बढाइरहेका छन्। उनीहरु आफ्नो स्वार्थशिद्ध गर्न नेता, प्रशासक र तिनका आसेपासेहरुलाई लाभ दिएर गरिब, सिमान्तकृत बर्ग, समुदायको दुरुपयोग गरिरहेका छन् भन्द फरक पर्दैन।
गत वैशाख १२ मा भूकम्प गयो, भूकम्प गएपछि चीनले भूकम्प पीडित युवाहरुलाई कसरी पुननिर्माणमा जुट्ने, साहस बढाउने, आत्मनिर्भरतातिर लाग्ने भनेर चीनका भूकम्पपीडित क्षेत्र र जनतासँग अन्तरक्रिया गराउनका लागि सय जनालाई चीन लाने निम्तो दियो। तर, गए एमाओवादीका ठूला नेता, तिनका छोराछोरी, श्रीमतीसम्मले चीन भ्रमण गरेर फर्किए। यति सानो चित्त भएका नेताहरु छन् नेपालमा। यिनले आमनागरिकको शोषण र दोहन कुन हदसम्म गरेका होलान्? प्रचण्डका पुत्र प्रकाश दाहाललाई हिमाल चढ्नसमेत २ करोड राज्यकोष दिइयो। प्रकाश अहिले उच्चकोटीको कृषक र रिसोर्टवाला बनेका छन्। बाबुरामपुत्री मानुषिलाई भारतले छात्रबृत्ति िदियो। अमिक शेरचनका छोराहरु छात्रबृत्तिमै पाइलट कोर्ष पूरा गरे। अमेरिकामा काम गरिरहेका छन्। छोरी बेलायतमा छिन्। कृष्णबहादुर महराका दुई छारा र दुई छोरी पनि शिक्षित छन्। टोपबहादुर र वर्षमान पुनका छोराछोरीहरु महगा र प्रतिष्ठित स्कूलमा पढिरहेका छन्। भन्नुको मतलव एमाओवादीका मात्र होइनन्, कांग्रेस, एमाले र अरु पार्टीका नेताका छोराछोरीलाई भारत र अन्य मुलुकले छात्रबृत्ति दिएर पढ्ने अवसर दिएको छ। नेताका सन्तानभन्दा जनताका सन्तान कुनै क्षेत्रमा पनि प्रतिभावान छन् तर जनताका छोराछोरी कमैलाई मात्र यस्तो शौभाग्य प्राप्त हुनेगरेको छ। किन? यसको अर्थ कूटनीतिक भ्रष्टाचार नभए के हुनसक्छ? अहिले कांग्रेसको हाँक्न कस्सिएका रामचन्द्र पौडेल, शेरवहादुर देउवा र कृष्णप्रसाद सिटौला। यिनका सन्तान सबैले विदेशमा अथवा महगा शैक्षिक संस्थामा अध्ययन गर्ने अवसर पाएका छन्। माधव नेपालका सन्तानलाई पाकिस्तानले छात्रवृत्ति दिएको थियो, भारतीय दूतावासले क्यान्सिल गराउन लगाएर घरमै छात्रबृत्ति पुर्याइदियो। झलनाथ खनालका छोरा त अमेरिकाको ग्रिनकार्ड होल्डर बनिसकेका छन्। राष्ट्रपति विद्या भण्डारीकी एउटी छोरीले भारतमा छात्रवृत्ति पाइन् भने अर्की नेपालमै डाक्टर बनेकी छिन्। वामदेव गौतमले सहिदका सन्तानलाई दिने कोटा आफ्ना छोरालाई दिलाएर चीनमा पढाए। तिनै कम्युनिष्ट सर्वहारावादी हुँ भनेर नाक फुलाउने गर्छन्। एमालेका महासचिव ईश्वर पोखरेलका दुई छोरा अमेरिकामै छात्रबृत्तिमा पढिरहेका छन्। भन्नुको अर्थ विदेशीहरु नेपाली राजनीतिमा छात्रबृत्तिको चारो हालेर नेपालमा चलखेल बढाइरहेका छन्। चलखेलकै लागि दूतावासहरु नेताहरुलाई लाभमाथि लाभ दिइरहेका देखिन्छन्। नेपालको सामरिक महत्वको स्थितिमा विदेशी खेलिरहेका छन्।
नेपालमा सबैभन्दा बढी छात्रबृत्ति दिने मुलुक भारत हो। भारतले वर्षेनी ३ सयभन्दा बढी छात्रबृत्ति दिन्छ र धेरैजसो राजनीतिक, प्रशासनिक र नागरिक समाजका प्रतिनिधिका सिफारिसमा बितरण गर्छ भने कतिपय एजेन्टलाई कोटा दिएर बेच्ने गरेको छ। भारतीय दूतावासको शैक्षा विभागलाई भन्सार त्यसै भनिएको होइन। पाकिस्तान र बंगलादेशका छात्रबृत्ति शिक्षा मन्त्रालयले लिएको छ, चीन र अन्य देशले पनि एकाध छात्रवृत्ति दिने गरेका छन्। तर छात्रवृत्ति कूटनीतिभित्र राजनीति गर्ने मुलुक भारत एकछज्ञ छाएको छ।
भारतीय हस्तक्षेपले सीमा नाघिसक्दा पनि नेपाल सरकार, नेपालका नेताहरु र नागरिक समाजका अगुवासमेत भारतसँग सम्हालिएर बोल्छन्। यिनै नेताहरु स्वाभिमान र स्वाधीनताका भाषण पनि गर्छन्। मन्त्रिपरिषदले गरेको निर्णय तात्तातै भारतीय दूतावासमा पुग्नु र नेपाली राजनीतिमा गरुडको छायाँ परेजस्तो हुनुमा पनि भारतीय छात्रवृत्ति र उसले दिने पेन्सन र खर्चपानी पनि एक हो। नून खाएपछि मुख त बन्द हुन्छ हुन्छ।


