Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

०९ बुधबार , आश्विन २०८१एक महिना अगाडि

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको छ । निर्वाचन आयोगले आज सूचना जारी गर्दै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम उक्त प्रयोजनका लागि आह्वान गरेको हो ।

आयोगले भोलिदेखि यही असोज १६ गतेसम्म कार्यालय समयमा दल दर्ताका लागि निवेदन पेश गर्नुपर्ने जानकारी गराएको छ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा आयोगको केन्द्रिय कार्यालय कान्तिपथ, काठमाडौंमा दल दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।  

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पुरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रिय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता पनि खुलाउनुपर्ने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९÷०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको हुनुपर्ने छ । तर, उक्त वर्ष एकीकरण भई नयाँ कायम भएका दलले लेखा परीक्षण प्रतिवेदन पेश गर्दा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार पार्नुपर्छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा गाभिएर नयाँ कायम भएका दलले भने आव २०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलगअलग रहेका दलको वार्षिक लेखा प्रतिवेदन प्रतिवेदन पनि बुझाउनुपर्ने आयोगले जनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात् विभिन्न कारणले रिक्त ३९ पदमा आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गराउँदैछ ।