नेताहरू देश लुट्ने, तिनकै संरक्षणमा, मितोमतोमा सहकारी ठगहरूले जनतालाई लुटे । जनताको अभर पर्दा उपयोग गर्न भनेर जम्मा गरेको सहकारीको रकम लूटको धन फूपुको श्राद्ध गरिरहेका छन् नेता र ठगहरूले ।
सहकारी लुट्नका लागि नक्कली सम्बन्ध बिच्छेद गरेर पनि बचेका छन्, समाजलाई नराम्रोसँग गिजोलेका छन्, यिनलाई दण्ड दिने कसले ?
कानुन अपाङ्ग छ, अदालत असक्षम छ, सरकार सहकारी ठगकै मतियार छ । मर्ने त आमनागरिक हुन्, जो सहकारीमा पैसा राख्दा औषधि नपाएर मरिरहेका छन्, भोकभोकै मरिरहेका छन् । लोकतन्त्र नामको यो पद्धतिले नेतालाई पोस्यो, माफिया र ठगहरूको संरक्षण ग¥यो । आमनागरिक सबैभन्दा बढी मर्कामा परेका छन् ।
सहकारी ठगहरू बच्ने नै भए त ? यो पद्धतिसँग समयले उठाएको प्रश्न हो यो ।
मेरो विचारमा हिजोसम्म डल्ले कालुले गाउँमा चिनिने काले आजकल डल्लेभन्दा सहकारी ‘डन’ भएर चिनिन थालेको रैछ । हरि काकाले मास्टरीको जागिर सकिएपछि आको उपदानलाई डल्ले कालुले चलाको सहकारीमा ड्याम्मै ब्याज आउने भनेर राख्या रैछन् । हरि काकाले ब्याज ड्याम्मै आउनेगरी राख्या उपदानको पैसा । अहिले डल्ले कालुका लागि अनुदानजस्तै भएछ । काकाले पोहोर दसैंमै टीका लगाउन आउनेहरूका लागि दक्षिणा भन्दै सहकारीमा गएर पैसा मागे पनि पाउन सकेनन् । धेरैले विश्वास गरेर उसले चलाको सहकारीमा धेरैले आफूले कमाएको, पेन्सन पाको, घरजग्गा बेचेको पैसा उही डल्लेकैमा राख्ने गर्दथे । तर, समयले डल्लेलाई ‘डन’ बनाइदियो । सहकारी डन डल्ले गाउँमा मात्र होइन सरकार, संसद्मासमेत चर्चा पाउन थालेपछि हरि काका अक्क न बक्क परेका छन् । ३० वर्ष घोक्रो सुक्नेगरी कराएर आको उपदान डल्लेले तीन महिनामै अनुदानजस्तै बनाइदिएपछि हरि काका प्रजातन्त्र ल्याउन २०४६ सालमा आन्दोलनमा उत्रिएजस्तै आफ्नै पैसा फिर्ता पाउँ भन्दै सडकमा आइपुगेका छन् । उनको विद्रोह कानुनले, सरकारले सुनेको छैन ।
प्रजातन्त्र आएपछि जनताको हक अधिकार सुनिश्चित हुन्छ भनेर कक्षाकोठामा पढाका । तर, आपैmंले पढाको विद्यार्थीले विचरा हरि काकाको चिल्ल न बिल्ल बनाइदिए छ । थोपा–थोपा संकलन गरेर सहकारीमा राख्ने र त्यही सहकारीबाट पैसा निकालेर उत्पादन गरी भकारी बनाउने योजना बनाएका धेरै हरि काकाहरूको अहिले कन्तविजोग भएको छ । दुई–तीनवटा दसैं कटे । फेरि दसैं आउन लागिसक्यो तर डल्ले कालुको सहकारीका सदस्यहरूलाई भने दसैं हैन दशा नै पो सुरू भाको छ ।
सहकारी मालिकहरूले सहकारीमा राखेको पैसा जति खाए पनि तिर्नु नपर्ने रे ! बरू हल्लाखल्ला गरेरै भए पनि पैसा पचाउने दाउमा बस्या छ भन्छन् डल्लेका प्रशंसक । गाउँमा ढिडो खान पनि मुस्किल थियो डल्ले कालुलाई । सहकारीमा दाउ राखेपछि उनले त अहिले सरकारी मान्छेलाई भोज भतेर गराउँछन् रे ! ठीकै छ, भाग्यमा त्यस्तै ल्याए छ डल्लेले ! राम्रै भो । कति दुःख पाओस् । एउटा न एउटा बन्नैप¥यो । परिवर्तनले नेताहरूलाई बनायो, सहकारलिे डनहरूलाई बनायो । लोकतन्त्रले पार्टीहरूलाई फलिफाप बनायो । चिल्लीबिल्ली जनताको भयो ।
सहकारी ठगहरूले ठग्नु ठगे । विदेशका कुरा गर्ने चाहिनेभन्दा धेरै थुतुनो चलाउनेलाई समेत भ्याए । सहकारीको दाममा मस्ती गर्न पल्केको डल्ले डनका पनि डन रैछन् । चार जना जुट्ने कार्डपत्ति फिट्ने । जनताले जोगाइराख्ने डल्लेहरू त्यसलाई घुमाइघुमाइ आफ्नै बाउको अंश बाँड्याजस्तो स्वास्नी, छोराछोरी सालासाली सबैको नाममा यता नि लगाउने उता नि लगाउने । सहकारी डनहरू, ठगहरू ऋण पनि आफैं लिने । सावाँ पनि त्यहीबाट तिर्ने क्या काइदाको सहकारी चलाको हो । कानुनको भन्दा बढी चलाखी सहकारी ठगहरूको खोपडी । हुँदाहुँदा त्यही सहकारीको पैसाले अरूलाई साहु बनाउन पनि भ्याउने डल्लेका दिमाग । कहाँको सहकारी कहाँको भकारी ! भकारी सम्झेर हरि काकाले डल्लेको सहकारीमा राख्या उपदान न यता न उता भयो । ‘आकासको फल, आँखा तरी मर’ भनेजस्तै भो सहकारीमा राखेको बचत । यो बचत ठगहरूले पचाउलान् त ? सबैको प्रशन छ ।
ठगहरूको प्रचारमा जनता फसे । ब्याज धेरै खाने लोभमा हरि काका आफू त डल्लेको चंगुलमा परे परे । आफन्त, इष्टमित्र सबलाई डल्ले कालुको चंगुलमा पारिदिए छन् । हजार हो र ! लाख पनि होइन, करोडौं नै पुगे छ नि । विचरा ! हरि काका आफू त फसेफसे अरूलाई सहयोग गर्दा उल्टै फसे ।हरि काका सहकारीका पीडित हुन् । तर, उनको घर घेर्न अरू पीडित पुगे छन् । उनैले भनेर डल्ले कालुको सहकारीमा पैसा राखेकाहरू अहिले डल्लेको सहकारीभन्दा पनि डल्लेको सहकारीमा पैसा राख्न भन्ने हरि काकालाई पो घेर्न पुगे छन् । ल काका, तिमीले नै भनेर हामीले डल्लेको सहकारीमा पैसा राख्या हो । डल्ले कहाँ भाग्यो भाग्यो, अब ब्याज भन्या यस्तै हो हाम्रो सावाँ जसरी पनि फिर्ता गरिदेऊ । औषधि पनि खान पाइएन ।
सहकारीवालाहरूले पशुलाई घाँस देखाएजस्तो सुरक्षित हुन्, ब्याज बढी पाइने, भनेको बेलामा झिक्न पाइने भनेर फसाए । अहिले ठगहरू दमपच । सहकारीवालाहरू अहिले डन बनेका छन् । अधिकांश पार्टीवालाहरू नै छन् । यहीकारण पार्टीवालाहरू जनताको बचत फिर्ता गर्नेभन्दा पनि आयोग, छानबिन भनेर जनतालाई जिल्लयाइरहेका छ्न । सहकारी पीडितहरू समाऊ–समाऊ भन्दै गुहार माग्न सडकमा आइसके । यो भन्दा बढी प्रगति के हुन्छ यो जनतामारा लोकतन्त्रको । यो पद्धतिले, कानुनले सहकारी ठग, डनलाई पछार्छन् भन्ने कुरा एकादेशको कथामात्र भयो ।