चिहान, ब्रम्हनाल । अदालतको आदेशपछि नदी किनारामा नक्सा पास गरेर बस्नेहरूको कोकोहोलो चलेको छ आजकल । अचम्म छ आदेश पनि ।
गाउँघरमा कोही बितिहाले भने रमझम छाडेर शोक मनाउने गरिन्थ्यो । कुनै काज हुँदैछ भने पनि रोकिन्थ्यो । तर, त्यसदिन सँगै डाँको छाडेर रूँदै बसेका आफन्त थिए । ताली बजाएर बागमती किनारामा गाउँदै र नाच्दै गरेकाहरूले पनि कुनै भाव नै प्रकट गरेनन् । गरून् पनि किन ! हरितालिका तीज भन्दै तीजमा विरहको भाका गाइरहेका थिए । वर्षभरिका पीडालाई चेलीले विरह पोख्ने समय थियो । न्याय नपाए गोर्खा जानु भन्थे, न्याय पाउनका लागि न्यायालय धाउने पनि थिए । तर, अहिले त न्याय मरिसक्यो । नोटका बिटामा बिकिसक्यो । सेटिङमा छ न्याय ।
आमजनताले जनप्रतिनिधि छाने । जनप्रतिनिधिले सरकार छान्यो । त्यही सरकारले ऐन कानुन बनायो । अनि त्यही ऐन कानुन पालना गराउन न्यायको मूर्ति भन्दै न्यायाधीश छाने । तर न्यायाधीशमाथि पार्टीले सीमा कोर्ने गरेको छ ।
जनता बबुरोलाई न काठको मूर्तिले न्याय दियो । बलेको काठको रापले दायाँ पनि हान्यो बायाँ पनि हान्यो । यताबाट पनि हान्यो उताबाट पनि हान्यो । कहिले १० मिटरले हान्यो कहिले २० मिटरले हान्यो । हान्दाहान्दै जनता घायल छन् ।
अदालतका न्यायको मूर्ति पनि कस्ता भए भने, सिंहदरबार उभिएका पृथ्वीनारायणको सालिकजस्ता । श्रीपेच फालिदिए पनि सहेकै छ । लगाइदिए पनि सहेकै छ । लिपे पनि ठीक, पोते पनि ठीक । त्यस्तै छ न्यायालय । सेतोलाई सेतो नै प्रमाणित हुन्थे ऊ बेलाका न्यायमूर्ति । तर, अहिले बेला फेरिएको छ । सत्ता फेरिएको छ । मन फेरिएको छ । चाटुकारहरू फेरिएका छन् । घर, गाडी, घोडा सबै फेर्नुपर्ने पनि छ । त्यसैले चेलीहरूले बागमतीको किनारामा विरहको भाका गाएका ।
न्यायाधीशले आफ्नो घरको ढल बागमतीमा लगेर फाल्छन्, नदी खोलामा ढल नमिसाउन आदेश दिन्छन् । त्यही नदी, खोला बेच्नेलाई माफी र सफाइ पनि दिए । तर, त्यही नदीको पानीले सिञ्चित गरेर बाउबाजेको खेत जोत्नेहरूलाई २० मिटर होइन अझै २० मिटर पर बस भन्दै मुटु नै फुट्ने गरी फर्मान जारिगरे ।
अदालतमा काठको मुंग्राले ढ्याक ऽ ढ्याक पार्दै न्यायमूर्तिले के बुझे र निष्कर्ष गरे कुन्नी काठमाडौंको नदी किनारामा धानखेती नै गर्ने सोच बनाएका छन् । त्यही भएर होला नदी खोला किनाराको २० मिटरको मापदण्डमा थप २० मिटर थपेर ४० मिटर बनाइदिएका छन् । धन्य न्यायमूर्ति छन् र त बागमती किनारामा सुकुम्वासीहरूले बास पाएका छन् । अब त्यही सुकुम्वासीहरूको संख्या कम भएको ठानेर अहिले नदी र खोला किनाराबाट ४० मिटरको रेखा कोरेका हुन् कि ।
न्यायमूर्तिहरूले धेरै कुरा बुझेका छन् । काठमाडौं भूकम्पको जोखिम क्षेत्र भएको भएर काठमाडौंलाई अलि खुला क्षेत्र बनाउन खोज्या अरे ! खोला किनारामा हजारौं सुकुम्वासी हुँदा आँखा चिम्म गरेर बसेका न्यायमूर्तिले हजारौं हैन लाखौंलाई सुकुम्वासी बनाइदिने आदेश गरिदिए । अनि चेलीहरूले विरहको गीत नगाए के गाउनु त ?
देश छाडेर विदेश गाका युवाहरू रगत पसिना उतै सिध्याएर उमेर ‘४० कटेसी रमाउँला’ भन्दै गीत हिट भाको थियो । त्यही सम्झेर हो कि न्यायमूर्ति पनि सुपरहिट हुने ‘भाइरल’ बनिने आदेशमा छन् । त्यसका बाउबाजेको जग्गामा घर बनाएर भाडा खान पल्केकालाई सुकुम्वासी बनाइदिएपछि टन्टै साफ ! क्यावात् न्याय ?
न्याय होस् त अहिलेको चालिसे निर्णय गर्ने जस्ताको होस् । गरिबी हटाउनेभन्दा पनि गरिब नै हटाइदिएपछि खेल खतम भएन ? धन्न, काठ र रापले बनाएका न्यायमूर्तिले त्यही काठ रापलाई धज्जी उडाइदिए । यत्तिको न्याय गर्नसके किन न्याय खोज्न गोर्खा जानु ? बागमतीलाई ढलमती बनाएर शुद्ध गरेजस्तै भएन र ?
न्यायमूर्तिको ठाउँमा अन्यायमूर्ति आएपछि, कानुन बनाउने बेला नून खाएपछि, तेस्रो अंगलाई तृतीया लागेपछि अनि चौथो अंग चुत्थो अंग भएपछि यहाँभन्दा बेथिति अरू के हुन्छ र ? यो नेपालमा सोझा सिधाको दिन गए अब ।